नागरिक उड्ययन प्राधिकरणका कर्मचारीलाई १ अर्ब २६ कराेड बोनस




काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आर्थिक वर्ष २०७६/७७ का लागि ४६ अर्ब ९६ करोड ९९ हजार ९९४ रूपैयाँको बजेट स्वीकृत गरेको छ ।

जसमध्ये कर्मचारी बोनसका लागि १ अर्ब २६ करोड ३१ लाख रूपैयाँ छुट्याएको छ ।

बिहीबार कार्यालयमा पत्रकार सम्मेलन गर्दै क्यानले चालु आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

क्यानले चालु आवमा प्रक्षेपित आय ८ अर्ब ३३ करोड १३ लाख रूपैयाँ उल्लेख गरेको छ । जसमा एरोनोटिकलबाट ५ अर्ब ८३ करोड १९ लाख रूपैयाँ र नन एरोनोटिकलबाट २ अर्ब ४९ करोड ९४ लाख रूपैयाँ संकलन गर्ने योजना बनाएको छ ।

यस आर्थिक वर्ष विमानस्थल विकास शुल्कबाट २ अर्ब २१ करोड २९ लाख ?पैयाँ उठाउन लक्ष्य लिएको छ ।

त्यस्तै, प्रक्षेपित पूँजीगत तथा कार्यसञ्चालन खर्च स्थिती ३८ अर्ब २३ करोड २१ लाख रूपैयाँ छ । जसमा पूँजीगत ३४ अर्ब ४ करोड ३७ लाख रूपैयाँ र कार्यसञ्चालनका लागि ४ अर्ब १८ करोड ८४ लाख रूपैयाँ छ ।

नीति तथा कार्यक्रम
नागरिक उड्ययन प्रशिक्षण प्रतिष्ठानलाई आइकाओको ट्रेन एयर प्लसको मापदण्ड बमोजिम नागरिक उड्ययन सम्बन्धि एक सुविधा सम्पन्न तालिक केन्द्रका ?पमा स्तरोन्नती गर्न थप पूर्वाधार निर्माण गरिनेछ ।

त्रि.अ.वि.मा आवश्यक भौतिक पूर्वाधार विकास गरी सेवा प्रवाहमा थप गुणस्तरियता कायम गर्दै बुटिक एयरपोर्टको अवधारण अनुरूप स्तरोन्नती गरिनेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालनयोग्य बनाइनेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट यात्रुका लागि ट्रान्जिट लाउञ्जको व्यवस्था गरिनेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ सम्मानीय (बिग सिक्स)लाई मात्रै सवारी साधन सहित विमान नजिक जान पाउने व्यवस्था गरिनेछ । साथै भीआईपी मुभमेन्ट सम्बन्धि मापदण्ड परिमार्जन गरी लागू गरिनेछ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यसम्पन्न गरी यथाशीघ्र सञ्चालनमा ल्याउन आवश्यक गृहकार्य गरिनेछ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य निर्धारित समयभित्र सम्पन्न गर्ने गरी नर्माण कार्यलाई तीव्रता दिइनेछ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि प्राधिकरणबाट गर्नुपर्ने प्रारम्भिक कार्यसम्पन्न गरिनेछ ।

आइकाओ ग्लोवल एभिएसन सेफ्टी प्लान अनुसार नेपाल एभिएसन सेफ्टी प्लान कार्यान्वयनमा ल्याइनेछ ।

आन्तरिक विमानस्थलहरूमा भू–उपग्रहमा आधारित यान्त्रिक उडान प्रणाली स्याटलाइट बेस आइएफ प्रोसुडर क्रमशः लागू गर्दै लगिनेछ ।

बिराटनगर, चन्द्रगढी, जनकपुर र धनगढी विमानस्थलको गुरूयोजना तयार गरी सो अनुरूप स्तरोन्नति गर्दै लगिनेछ ।

आन्तरिक विमानस्थलहरूको निर्माण, विकास, विस्तार एवं स्तरोन्नति गर्नका लागि नेशलन एयरपोर्ट डेभलमेन्ट प्लान तयार गरी क्रमशः कार्यान्वयन गर्दै लगिनेछ ।

अन्तर प्रदेश हवाई सेवा सञ्चालन तथा विस्तार गर्न वायुसेवा कम्पनीहरूलाई प्रोत्साहन गरिनेछ ।

प्रदेश राजधानीका विमानस्थलहरूलाई कम्तिमा ७० सिटभन्दा माथिका जहाज उडान तथा अवतरण हुन सक्ने गरी स्तरोन्नति र विस्तार गर्दै लगिने छ ।

नागरिक उड्डयनसँग सम्बन्धित अन्तर्राष्ट्रिय संघसंस्था आइकाओ, इएएसए, डिजिएसी(फ्रान्स, सिओएससीएपी– एसए एवं संगठनसँगको समन्वय तथा सहकार्यलाई निरन्तरता दिइनेछ ।

आन्तरिक विमानस्थलह?मध्ये संभावित विमानस्थलहरूलाई सार्वजनिक निजी साझेदारी पिपिए ढाँचा अनुरूप नमूना विमानस्थलको रूपमा विकास गरी सञ्चालनमा ल्याउन आवश्यक व्यवस्था मिलाइनेछ ।

नयाँ विमानस्थल निर्माण र विकास सम्बन्धमा सङ्घीय मन्त्रालयको समन्वयमा प्रदेश सरकार र स्थानीय निकायसँग सहकार्य गर्ने व्यवस्था मिलाइनेछ ।


क्लिकमान्डु