नेपाल असाध्यै राम्रो छ, पर्यटन र उर्जामा अथाह सम्भावना छः भुटान थिम्पुका मेयर किन्ले



काठमाडौं महानगरपालिकाले इन्द्रजात्राको अवलोकनका लागि चीनका ल्हासा सिटी र लौन्चौ सिटीका मेयरसँगै भुटानको थिम्पुको मेयर र भारतको नर्थ दिल्लीका महानगरपालिकाका मेयरलाई बोलाएको थियो । इन्द्रजात्राको पर्सीपल्ट विदेशी पाहुनालाई कामपनाले भक्तपुर र ललितपुरका एतिहासिक क्षेत्र अवलोकन गरायो । ५ दिन लामो नेपाल बसाइमा नेपालको परम्परा, इतिहास र संस्कृति निकै मन पराए । यसै सन्दर्भमा क्लिकमाण्डूका लागि सोभित थपलियाले भुटान थिम्पु नगरका मेयर किन्ले दोर्जीसँग पर्यटन वर्ष तथा नेपालको विकासबारे कुरा गरेका छौं । प्रस्तुत त उनैसँग गरिएको कुराकानीको सम्पादित अंश ।

नेपालमा आएर इन्द्रजात्रा हेर्नुभयो, यहाँका विभिन्न पर्यटकीय क्षेत्रहरुको अवलोकन गर्नुभयो, कस्तो लागेको छ ?
म काठमाडौं आएको पहिलो पटक होइन, धेरै पटक भयो । भक्तपुर भने यो दोस्रो पटक आएको हो । पहिलेको तुलनामा अहिले धेरै परिवर्तन भएको छ । नेपालमा पनि राम्रोसँग विकास भएको रहेछ, अझै पनि विकासको क्रममा रहेको छ ।

अहिले सरकार पनि स्थिर छ । यसले गर्दा पनि नेपालले विकासमा राम्रो फड्को मारिरहेको छ । नेपालको विकास निर्माणमा अवरोध हुँदा हाम्रो मन दुख्छ । हामी बौद्ध धर्म मान्छौं, नेपालमा हिन्दु धेरै धर्म मान्ने हुनुहुन्छ । बुद्धिजम भनेको हिन्दुजमबाट आएको हो । देवताको नाफा फरक भएपनि नेपालमा हुने देउता र भुटानमा भएको देउता एउटै नै हो । हामी ओमकार परिवारभित्रै पर्छौ ।

भूटानबाट नेपालमा धेरै मान्छे घुम्न आउने गरेका छन् । त्यसकारण पनि नेपालमा पर्यटकको लागि चिन्ता छैन । नेपाल आउन धेरै टाढा पनि छैन । जहाजमा १ घन्टामा आइपुगिन्छ । यहाँ आएपछि हामिलाई आफ्नो घर जस्तो लाग्छ । विदेशी भूमिका आएजस्तो लाग्दैन । नेपालमा आउँदा घर आएको जस्तो लाग्छ ।

इन्द्रजात्रा भने नेपालमा पहिलो पटक देखेको हो । यो मैले यसअघि हेर्न सुन्न पाएको थिएन । त्यो जात्रामा राष्ट्रपति, मन्त्रीदेखि सामान्य परिवारका सदस्यहरु पनि आउनुहुँदो रहेछ ।
सबैले आ–आफ्नो पोशाक लगाउने आउनु हुने रहेछ । मलाई पनि मेरो देशमा यस्तै भए हुने थियो भन्ने लाग्यो । हाम्रो पनि धेरै खालको संस्कृति छन् ।

देश विकास हुँदै जाँदा धेरै कुरा भुल्ने हाम्रो बानी छ । विकाससँगै यसलाई परिस्कृत गर्दै लैजान आवश्यक छ । विकास र संस्कृति फरक हुनुहुँदैन । विकास भइरहने तर संस्कृति भुल्दै जाने हो भने त्यसले कसैलाई पनि फाइदा हुँदैन । संस्कृतिले मान्छेलाई सामाजिकीकरण हुन पनि सघाउँछ  ।

तपाई नेपाल धेरै पटक आएको छु भन्नु भयो, स्थानीय निर्वाचन अघि र पछि यहाँ केही फरक पाउनु भयो त ?
नेपालमा स्थिर सरकार आएको छ । स्थानीय निर्वाचन पछि जनप्रतिनिधिले गरेको कामले सहरमा धेरै विकास भएको छ । अन्य पनि धेरै राम्रो काम भएको पाएँ । यसो हुँदा नेपालमा पर्यटकहरु धेरै आउने र नेपाल भ्रमण वर्ष २०२० सफल हुन सघाउ पुग्छ जस्तो लाग्छ मलाई ।

पहिलाको जस्तो ५, ६ महिना सरकार परिवर्तन हुने समस्या अहिले छैन । पहिला राजनीतिक अस्थिरता थियो । त्यसले नेपालमा आउने पर्यटकको संख्या घटन सक्ने थियो । तर अहिले त्यो अवस्था छैन ।

त्यसकारण नेपालमा आउने पर्यटकको संख्या बढ्ने देखेको छु मैले । र स्थानीय निर्वाचन भएर आएका जनप्रतिनिधिले गरेको काम देखेर म धेरै नै खुसी भए । भक्तपुरमा भूकम्पले धेरै क्षति पुगेको थियो ।

अहिले धेरै भौतिक पूर्वाधार निर्माण भइसकेको रहेछ । यो हेर्दा धेरै नै खुसी बनाएको छ । तर नेपालमा भ्रष्टाचार छ भन्ने सुनिन्छ । हुन त भुटानमा पनि भ्रष्टाचार नभएको भने होइन ।
नेपालमा भन्दा भुटानमा केही कम छ । नेपालमा पनि यो क्रमलाई घटाउनै पर्छ । भ्रष्टाचार कम गरेर भएका भौतिक पूर्वाधार जानहितमा हुने गरी लगाउनु पर्छ । तसर्थ नेपालमा पनि धेरै विकास भएको छ । भ्रष्टाचार कम हुने, सरकार स्थिर हुने विकास हुँदै जाने हो भने पर्यटन आउन कसैले रोक्न सक्दैन ।

नेपालले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन के गर्नुपर्छ जस्तो लाग्छ ?
नेपाल पर्यटकको लागि सबै कारण राम्रो छ । नेपालमा लाखौ पर्यटक आउँछन् । पर्यटन वर्षमा नेपालले पर्यटक आउँदैनन् की भनेर चिन्ता लिनुपर्दैन । भुटानबाट पनि निकै पर्यटक आउने छन् । नेपालमा मौसम राम्रो छ । यहाँका पर्यटकीय गन्तव्य पनि निकै राम्रा छन् । म पहिलोपटक चन्द्रागिरी हिल्स पुगेँ । त्यहाँ कति राम्रो बनाएको रहेछ । त्यो ठाँउ नेपालमा धेरै छन् । त्यसले पर्यटकलाई आकर्षण गर्छन ।

नेपालको विकासमा सघाउने पर्यटकभन्दा अरु के देख्नुभएको छ यहाँले ?
नेपालमा पर्यटकको मात्रै नभएर जलविद्युतको पनि राम्रो सम्भावना छ । नेपालले जलविद्युत प्रयाप्त मात्रामा विद्युत उत्पादन गर्न थाल्यो भने नेपाल निकै धनी देश हुनेछ । भुटान र नेपाल जलविद्युत क्षेत्रमा निकै राम्रो सम्भावना भएका देश हुन् । बनाउँदा प्रकृतिलाई भने डिस्टर्भ गर्नु भएन, त्यो नगरी किन बनाउन सकिन्छ । गाडी राष्ट्रहरुले इन्धन बेचिरहेका छन् । हामीले जलविद्युत बेच्न सक्छौं । अब त्यसमा लाग्नुपर्छ ।


क्लिकमान्डु