निक्षेप जीडीपी रेसीयो ७ वर्षमा २८ प्रतिशतले बढ्यो



काठमाडौं । कुनै पनि मुलुकको वित्तीय गहनताको अवस्था कस्तो छ भनेर थाहा पाउन त्यो मुलुकको निक्षेप जीडीपी रेसीयो कस्तो भन्नेबाट थाहा पाइन्छ । वित्तीय गहनता भनेको विस्तृत मुद्राप्रदायको जीडीपीसँगको अनुपातलगायतलाई लिइन्छ । यो मुलुकको वित्तीय बचतको सूचक पनि हो ।

सर्वसाधारणलाई बैंकिङ क्षेत्रसँग जोड्ने आधार पनि निक्षेप जीडीपी रेसीयोलाई मानिन्छ । साथै, लगानीयोग्य साधानको महत्वपूर्ण स्रोतको सूचक निक्षेप जीडीपी रेसीयो हो ।

बैंकिङ क्षेत्र र निजी क्षेत्रको सम्बन्ध कस्तो छ भनेर सूचना पनि निक्षेप जीडीपी रेसीयोले दिएको हुन्छ । पछिल्ला केही वर्षयता नेपालको निक्षेप जीडीपी रेसीयोमा तीव्रवृद्धि आएको छ ।

कुनै पनि मुलुकको वित्तीय गहनताले कतिसम्मको आयातलाई धान्न सक्छ भनेर पनि त्यो देशको निक्षेप जीडीपी रेसियोको विवरणले प्रष्ट पार्दछ ।

विस्तृत मुद्राप्रदाय, कुल आन्तरिक कर्जा, निजी क्षेत्रमा जाने बैंक कर्जा र बैंक तथा वित्तीय संस्थाहरुसँगको निक्षेपको कुल ग्राहस्थ्य उत्पादनसँगको अनुपातहरु वित्तीय गहनता मापनका सूचकहरुको रुपमा लिइन्छ ।

यस्तो छ ७ वर्षको निक्षेप जीडीपी रेसियो वृद्धिदर
नेपालमा विगत केही वर्षयता आर्थिक वृद्घि र जीडीपीको वृद्धिदर भइरहेको छ । भएको तथ्यांकले देखाउँछ । विगत ७ वर्षको तथ्यांकलाई हेर्दा नेपालको निक्षेप जीडीपी रेसियो २८.०३ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०६८/६९ मा ६८.८ प्रतिशत रहेको निक्षेप जीडीपी रेसियो आर्थिक वर्ष २०६९/७० मा ७३.५ प्रतिशत, ०७०/७१ मा ७६.६३ प्रतिशत, ०७१/७२ मा ८३.४ प्रतिशत, ०७३/७४ मा ९३.७२ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७४/७५ मा भने निक्षेप जीडीपी रेसियो केही खस्किएको थियो । अघिल्लो वर्षभन्दा उक्त

आर्थिक वर्ष १.९७ प्रतिशतले घटेर ९१.७५ प्रतिशत पुगेको थियो ।

तर गत आर्थिक वर्षमा भने निक्षेप जीडीपी रेसियो बढेको छ । आर्थिक वर्ष २०७४/७५ मा ९१.७५ रहेको निक्षेप जीडीपी रेसियो रहेकोमा आर्थिक वर्ष २०७५/७६ मा ५.११ प्रतिशतले बढेर ९६.८३ प्रतिशत पुगेको हो ।

निक्षेप जिडीपी रेसियोमा वृद्धि हुनुमा प्रमुख कारण रेमिट्यान्स प्रवाह भएको नेपाल राष्ट्र बैंकका निमित्त कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् । यसका साथै बैंक तथा वित्तीय संस्थाहरुको शाखा सञ्जाल विस्तार र ब्याजदरको वृद्धिको कारणले पनि वर्षेनी निक्षेप जीडीपी रेसियो बढीरहेको छ ।

दक्षिण एशियाको तुलनामा नेपालको वित्तीय गहनता राम्रो छ । विप्रेषण प्रवाह बढेर निक्षेपमा वृद्धि भएकाले गर्दा पनि नेपालको वित्तीय गहनता दक्षिण एसियाभन्दा राम्रो भएको थापाको भनाइ छ ।


क्लिकमान्डु