साइबर सेक्युरीटी र आइटीमा लगानी बढाउन बैंकहरुलाई गभर्नरको निर्देशन



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले बैंकहरुलाई आइटी र सेक्युरिटीमा लगानी बढाउन निर्देशन दिएका छन् । सोमबार सबै बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुसँग राजधानीको र्याडिशन होटेलमा भएको छलफलमा गभर्नरले यस्तो निर्देशन दिएका हुन् ।

‘साइबर सेक्युरिटी र आइटीमा गरिएको लगानीलाई खर्च नसम्झनुहोस्, यो लगानी हो,’ गभर्नर डा. नेपालको भनाई उदृत गर्दै डेपुटी गभर्नर शिवराज श्रेष्ठले क्लिकमाण्डूसँग भने, ‘अहिले तपाईंहरुले आइटी र साइबर सेक्युरिटीमा गरेको खर्चले पुग्दैन, ठूलो खर्च गर्न सक्नुहुन्न भने मर्जर भएर ठूलो बन्नुहोस् र लगानी बढाउनु होस् ।’

अहिलेको समयमा विश्वभर नै साइबर सेक्यूरिटी ठूलो चुनौति बनेको भन्दै गभर्नरले जनताको पैसाको सुरक्षाको जिम्मा लिएका बैंकहरुले आइटीमा ठूलो लगानी गर्नुपर्ने आवश्यकता रहेको बताए ।

‘साइबर हमला हुनेवित्तिकै तुरुन्तै सेवा सुचारु गर्नसक्ने हैसियत बनाउनुपर्छ,’ गभर्नरको निर्देशन थियो, ‘जनताको पैसाको सुरक्षा दिन सक्नुभएन र तुरुन्त सेवा दिन सक्नुभएन भने वित्तीय प्रणालीमाथि नै विश्वास गुम्छ ।’

बैंकहरुले अपग्रेटेड सफ्टवेर प्रयोग गरेर हरेक मिनेट त्यसलाई हेर्नुपर्ने उनको भनाई थियो । अघिल्लो शनिबार चिनियाँ ह्याकरले केही बैंकको साढे ३ करोड रुपैयाँ चोरी गरेका थिए । नेप्सको स्वीचमा मालवेर आक्रमण गरी ह्याकरहरुले विभिन्न बैंकको भिसा कार्ड प्रयोग गरी एटीएम बुथमा रहेको पैसा चोरी गरेका थिए ।

‘कम्युनिकेशन सेक्युरीटी नभएका कारण अघिल्लो शनिबार चिनियाँहरुले विभिन्न बैंकबाट पैसा चोर्न सफल भएका हुन्,’ डेपुटी गभर्नर श्रेष्ठले भने, ‘हामीले बैंकहरुलाई प्रष्टरुपमा साइबर सेक्युरीटीमा ठूलो लगानी गरेर आफू र जनताको पैसा सुरक्षित राख्न निर्देशन दिएका छौं ।’

छलफल कार्यक्रम आज दिउँसो २ः४५ बजेबाट शुरु भएको थियो । डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले स्वातग मन्तव्य राखेका थिए । त्यसपछि भुक्तानी प्रणाली विभाका कार्यकारी निर्देशक बमबहादुर मिश्रले अघिल्लो शनिबार भएको घटनाको अध्ययन प्रतिवेदनको विश्लेषणसहितको प्रेजेन्टेशन दिएका थिए । मिश्रको प्रेजेन्टेशन ४५ मिनेटको थियो ।

त्यसपछि नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) का सीइओ प्रविण क्षेत्रीले फरेन्सिक टेस्ट भइरहेको जानकारी दिएका थिए ।

बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, नविल बैंकका सीइओ अनिल शाह, ग्लोबल बैंकका सीइओ महेश्वर ढकाल, बैंक अफ काठमाण्डूका सीइओ शोहनदेव पन्त, ज्योति विकास बैंकका सीइओ मनोज ज्ञवालीले प्रश्न राखेका थिए ।

गभर्नर डा. नेपालले करिब १० मिनेट बोलेका थिए । गभर्नरले आइटीको विषयमा थप कुरा डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई राख्न भने ।
त्यसपछि डेपुटी गभर्नर श्रेष्ठले १५ मिनेटजति बोलेका थिए । उनले भर्खरै भएको एटीएम ह्याक प्रकरण र विश्वमा देखिएको साइबर सेक्युरीटीको कुरा जानकारी गराउँदै अब बैंकहरुले साइबर सेक्युरीटीमा ठूलो लगानी गर्नुको विकल्प नभएको बताए ।

पीसीआइ बीएसएस स्ट्यान्डर्ड अनुसार काम गर्न उनले निर्देशन दिए ।

 


पुष्प दुलाल