५ लाखमा सुरु गरेको कफिसपले अर्बपति बनेका सिद्धार्थले ऋणमा परेपछि आत्महत्या गरे



टिनएज पार गर्दैगर्दा परिवारबाट टाढिएर व्यवसायिक जीवन बिताउँछु भन्दा कुन चैं पिताले सहजै मान्ला र ? भारतमा कफी कल्चर भित्राउने बिजी सिद्धार्थको जीवनको पूर्वाद्धको कथा पनि त्यस्तै छ ।

कफी व्यवसायबाट अर्वपति बनेका सिद्धार्थको मंगलबार शव भेटिएको छ । उनी सोमबारदेखि बेपत्ता थिए । कर्नाटकका पूर्वमुख्यमन्त्री एसएम कृष्णका ज्वाँइ समेत रहेका उनी वेपत्ता हुनु अघि अन्तिम चिठीमा आफू ऋणमा डुबेको उल्लेख गरेका थिए ।

यसरी भयो सुरुवात

२१ वर्षको कलिलो उमेर उनले बुबाले मुम्बईमा करिअर सुरुवात गर्ने योजना सुनाउँदै गर्दा उनका बुबा पनि खुसी थिएनन् । तर छोराको चाहनालाई मायाले जित्दा उनले ५ लाख भारतीय रुपैयाँ दिएर मुम्बई जान अनुमति दिँदै भनेका थिए, ‘यही हो मैले दिन सक्ने, शुभकामना छ तिमी सफल हुनु ।’

साथैमा एउटा सर्त अगाडि तेर्साए । ‘सके सफल हुनु नसके फर्किएर आएर पारिवारिक व्यवसायमा सम्हाल्नुपर्छ ।’ मुम्बई जाने र सफल हुने उत्कट चाहना मनमा बोकेका उनले बुबाको सर्तलाई सहजै माने र मुम्बईको बाटो तताए ।

बुबाले दिएको ५ लाखमध्ये ३ लाखमा जग्गा किने र बाँकी २ लाख बैंक खातामा जम्मा गरे । मुम्बई आएपछि उनी जेएम फाइनान्सियल सर्भिसेज कम्पनीमा म्यानेजमेन्ट टे«नीका रुपमा काम सुरु गरे । सोही समयमा उनले सेयर बजारको बारेमा राम्ररी जानकारी बटुले ।

जागिर राम्रै चल्दै थियो । तर उनी भने आफ्नै व्यवसाय सुरु गर्ने योजना बुनिरहेका थिए । उनले जागिर छाडी मुम्बईबाट बैग्लोर फर्किए र बाँकी २ लाख भारतीय रुपैयाँलाई वित्तीय कम्पनीमा लगानी गर्ने फैसला गरे । उनले सिवान सेक्युरिटी कम्पनीसँग काम सुरु गरे ।

सो कम्पनी सन् २००० मा वे टु वेल्थ सेक्युरिटिज लिमिटेड बन्यो । यसबाट उनलाई राम्रो सफलता मिल्यो र एउटा नामी बैंकिङ तथा स्टक ब्रोकर कम्पनी बनाउन समेत सफल भए ।

कफीले दिलायो सफलता

करिब एक दशकभन्दा बढी वित्तिय क्षेत्रमा आफ्नो व्यवसायिक कुशलता निखारेर उनी कफीको स्वाद चखाउन सुरु गरे । भारतमा तत्कालिन समयमा पनि कफी कल्चरले उती साह्रो व्यापकता पाएको थिएन् ।

सन् १९९६ मा भारतमा क्याफे कफी डेको सुरुवात भएको थियो । तर व्यापकता पाएको थिएन् । त्यसै अवसरलाई सदुपयोग गर्दै उनी पनि कफी व्यवसायमा नयाँपन दिने उद्देश्यका साथ अगाडि बढे ।

उनले सुरुवात गरेको कफी व्यवसायले भारतीय बजारमा कफी कल्चरलाई नयाँ दिशा दियो । कम्पनी आजका दिनमा आइपुग्दा १७५० वटा क्याफे आउटलेट खोल्न सफल भएको छ ।

उनको व्यवसाय भारतमा मात्रै सीमित नभइ विदेशी सहरमा पनि कफीको स्वाद चखाउन पुग्यो । अष्ट्रिया, पाकिस्तान, दुबई र चेक रिपब्किल जस्ता देशमा उनको व्यवसाय विस्तार भयो । जसमा ५ हजारभन्दा बढी मानिसहरुले हरेक दिन हरेक समय ग्राहकहरुलाई कफीको स्वाद चखाइ रहेका छन् ।

अहिले उनको कम्पनी भारतीय कफी बजारमा अग्रपक्तिको कम्पनी हो । विश्वप्रसिद्ध चेन कम्पनी स्टारबक्सको भारतमा १४६ स्टोर मात्रै छ ।
पछिल्लो समय विश्वप्रसिद्ध बहुराष्ट्रिय कम्पनी कोकाकोलाले समेत उनको कम्पनीमा सेयर खरिदका लागि छलफल गरिसकेको थियो ।

पछिल्लो महिना सार्वजनिक विवरण अनुसार कोकाकोलाले बढ्दो क्रममा रहेको क्याफे सेग्मेन्टमा अधिपत्य जमाउनका लागि सिद्धार्थको कम्पनीलाई लक्ष्यमा राखेको थियो ।
पटक पटक छलफल भए पनि कसरी अगाडि बढ्ने भन्नेमा निश्कर्ष भने निस्किएको थिएन् ।

उनको व्यवसाय कफीमा मात्रै सीमित थिएन । कफीसँगै माइन्डट्री कम्पनीबाट पनि उनले सफलता हात परेका थिए । जम्मा २१ प्रतिशत सेयर भएका उनले उक्त कम्पनीबाट राम्रो मुनाफा आर्जन गरेका थिए ।

यस सम्झौताबाट उनले करिब २८५८ करोड भारतीय रुपैयाँ फाइदा गरेका थिए । उनले विगत एक दशकदेखि यस कम्पनीमा लगानी गरेका थिए । र १८ मार्च २०१९ मा एलऐन्डटी कम्पनीमा समेत उनले ३२६९ करोड भारुमा सम्झौता गरेका थिए ।

आजका दिनमा सिद्धार्थ आफ्नै मिहेनत र परिश्रमले अर्बपतिको सूचिमा सुचिकृत छन् । सानो व्यवसायबाट पनि ठूलो धनराशी कमाउन सकिन्छ भन्ने उदाहरण समेत बनेका थिए ।


क्लिकमान्डु