धमाधम अगाडि बढ्दै सौर्य परियोजना, ७३ मेगावाट निर्माणमा जाँदै



काठमाडौ । सरकारले ऊर्जा मिश्रणको अवधारणा अगाडि बढाएपछि सौर्य परियोजनामा लगानी गर्नेहरुको संख्यामा वृद्धि हुँदै आएको छ । औद्योगिक घारनादेखि नयाँ व्यवसायीले समेत सौर्य परियोजनामा लगानी गर्न थालेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागका अनुसार पछिल्ला दिनमा सौर्य परियोजनामा लगानी गर्न चाहनेको संख्यामा वृद्धि भएको छ । विभागका अनुसार हालसम्म विभिन्न ४ वटा कम्पनीले विद्युत् उत्पादनको अनुमति लिएका छन् ।

त्यसरी अनुमतिपत्र लिनेमा धनुषामा आयोजना स्थल रहने गरी १० मेगावाट क्षमताको सौर्य परियोजना सुरु गरिएको छ । मिथिला सोलार पावर प्रोजेक्टले धनुषामा उक्त क्षमताको आयोजना अगाडि बढाएको छ । विद्युत् उत्पादन अनुमति लिएको सो कम्पनीले निकट भविस्यमा नै सौर्य परियोजनाको निर्माण सुरु गर्ने लक्ष्य राखेको छ ।

यस्तै ब्लक नम्बर १ सोलार परियोजनाले नुवाकोटामा ५ मेगावाट क्षमताको सौर्य परियोजना अगाडि बढाउन लागेको छ । उक्त आयोजनाले समेत विभागबाट विद्युत् उत्पादनको अनुमति लिएको छ । सो आयोजना समेत नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको हो ।

यस्तै ब्लक नं ४ सोलार फर्म प्रोजेक्टले पनि विद्युत् उत्पादनको अनुमति लिएको छ । सो आयोजना नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको आयोजना हो ।

यस्तै अपि पावर कम्पनलिे चन्द्रनिगाहापुरमा निर्माण गर्न लागेको ४ मेगावाट क्षमताको सौर्य परियोजनाले पनि विद्युत् उत्पादनको अनुमति लिएको छ । सोही कम्पनीले अन्य केही आयोजनामा समेत अगाडि बढाएको छ ।

यस्तै विभागमा विद्युत् उत्पादन अनुमतिका लागि आवेदन दिएका आयोजनामा कूल ६ आयोजना रहेका छन् । ती आयोजनामा १ मेगावाट क्षमताको सोलार पिभि प्रोजेक्ट ढल्केबर रहेको छ । यस्तै ग्रीड कनेक्टेड सोलार फार्मले पनि विद्युत् उत्पादन अनुमतिका लागि आवेदन दिएको छ ।

प्राधिकरणले निर्माण गर्ने सो परियोजनाको क्षमता ३ मेगावाट रहेको छ । यस्तै ९.५ मेगावाट क्षमताको ग्रीड कनेक्टेड सौर्य परियोजनाले पनि विद्युत् उत्पादन अनुमति पाउनका लागि आवेदन दिएको छ । फरचुन डेभलपमेन्ट प्रालिले सो आयोजना निर्माण गर्न लागेको हो ।

यस्तै धर्मनगर सोलार फर्म प्रोजेक्टले पनि १० मेगावाट क्षमताको परियोजना अगाडि बढाउन लागेको छ । त्यस्तै मुस्ताङ सोलार पावर प्रोजेक्टले पनि ३ मेगावाटको सोलार परियोजना सुरु गरेको छ । मुस्ताङको जोमसोङमा निर्माण हुने सो सौर्य परियोजना हिमाल पारीको जिल्लामा निर्माण हुन लागेको ठूलो परियोजना हो ।

यस्तै सुर्खेतमा २० मेगावाट क्षमताको सोलार एग्रिकल्चरल फर्म अगाडि सरेको छ । पछिल्ला दिनमा ऊर्जा मिश्रण अवधारणा अगाडि बढाउने सरकारको लक्ष्यलाई पूरा गर्ने उद्देश्यले धमाधम काम सुरु भएको छ ।


क्लिकमान्डु