भ्रमण वर्षका लागि थप ५० करोड माग्दै सुरज बैद्यले भने- बजेट जति तलबमा गयो




काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० का लागि बजेट अपुग भएको भन्दै नेपाल भ्रमण वर्षको सचिवालयले थप ५० करोड रुपैयाँ सरकारसँग माग गरेको छ ।

संयोजक सुरज बैद्यले क्लिकमाण्डूसँग भने, ‘पहिले दिएको १० करोड रुपैयाँ अपुग हुने भयो, त्यसैले थप ५० करोड रुपैयाँ माग गरेका छौं ।’

सचिवालयले साउन ५ गते आइतबार सरकारसँग ५० करोड रुपैयाँ माग गरेको उनले जानकारी दिए ।

‘यस अगाडि दिएको १० करोड रुपैयाँ थियो जसमध्ये धेरै तलब मै जाने रहेछ त्यसले नपुग्ने भयो’ उनले भने ।

हामीले माग गरेको ५० करोड रुपैयाँ धेरै होइन । सन् २०११ को भ्रमण वर्षमा सरकारले ३० करोड रुपैयाँ दिएको थियो । आजका दिनमा त्यो ३० करोड रुपैयाँको भ्यालू १ अर्ब रुपैयाँ हुन्छ ।

हामीले माग्नका लागि मात्रै पैसा माग गरेका होइनौं । कार्यक्रमका आधारमा ५० करोड रुपैयाँ मागेका हौं । गत वर्ष १० करोड र यस वर्ष १० करोड रुपैयाँ बजेट छुट्याइएको थियो । तर त्यतिले हामीलाई पुग्दैन् ।

वैद्यका अनुसार भ्रमण वर्ष सफल बनाउनका लागि स्पोटर्स टुरिजम, ‘स्प्रिचुअल’, वाल्ड लाइफ, कल्चलर, माइस टुरिजम, पर्यटन लगानी सम्मेलन, भारतसँग सिधा डाइलग कार्यक्रमलगायतका विभिन्न कार्यक्रमहरु राखिएको छ । जसको खर्च धेरै छ । त्यसैले सरकारसँग थप बजेट माग गरिएको हो ।

वैद्यका अनुसार नेपालमा स्पोटर्स टुरिजममा पनि निकै सम्भावना छ । हालै बेलायतबाट आएका हक्की खेलाडीहरुले ५ हजार २० मिटर उँचो स्थानमा खेल खेलेर विश्व किर्तिमान राखे । यसबाट भ्रमण वर्षमा निकै फाइदा पुग्ने अपेक्षा गरेका छौं ।

त्यतिमात्रै होइन, अब हामीले अन्य खेललाई पनि पर्यटन प्रबद्र्धनमा समावेश गर्न सकिन्छ ।

जस्तै नेपाल इन्टरनेशनल क्रिकेट काउन्सिलको सदस्यसमेत भएकाले नेपालसहित बंगलादेश, श्रीलंका र अर्को कुनै एक देशसँग मिलेर क्रिकेट खेलको आयोजना गर्न सकिन्छ ।

‘हाइ अल्टिच्युडमा खेलिने यस्ता खेलमा आकर्षित गर्न सकियो भने पर्यटनमा निकै टेवा पुग्छ’ उनले विश्वास व्यक्त गरे ।

त्यस्तै, र्याफ्टिङ खेललाई पनि आकर्षित बनाउनका लागि कर्णालीमा संसार कै सबैभन्दा लामो २०० किलोमिटरको यात्रा गर्नका लागि पर्यटक ल्याउन सकिन्छ । त्यसका लागि अहिले अध्ययन कार्य सकिएको छ र त्यो सम्भव पनि देखिएको छ ।

कर्णाली नदीमा भएको सफा पानीमा र्याफ्टिङलाई प्रबद्र्धन गर्नका लागि हामी लागीपरेका छौं ।

उनले भने, ‘हाल अमेजन नदीमा १८० किलोमिटर लामो र्याफ्टिङको रुट छ, नेपालमा त्योभन्दा २० किलोमिटर बढी रुट बनाउन सकियो भने त्यो हाम्रा लागि निकै फाइदाजनक हुन्छ ।’

कर्णालीमा र्याफ्टिङसँगै त्यहाँको सस्कृति र प्रकृतिलाई पनि हामी पर्यटन प्रबद्र्धनमा प्रयोग गर्न सक्छौं ।

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्रउने लक्ष्य राखेको छ ।


क्लिकमान्डु