हवाई रुटमा २ वटा प्रवेश विन्दु थपिँदै, पश्चिमबाट आउने जहाजलाई सहज हुने
काठमाडौं । नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय विमान अब थप २ वटा रुटबाट समेत प्रवेश गर्न पाउने गरी प्रक्रिया अगाडि बढाइएको छ ।
‘इन्टरनेशनल सिभिल एभिएसन संगठन (आईकाओ)को एशिया प्रशान्त क्षेत्रीय कार्यालयमा आवश्यक कागजात पठाइसकिएको छ । उसले स्वीकृति दिइसकेपछि थप २ वटा प्रवेश विन्दुबाट हवाइजहाज नेपाल प्रवेश गर्न बाटो खुल्छ’ नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले क्लिकमाण्डूसँग भने ।
जनकपुर र भैरहवा गरी थप २ नयाँ प्रवेश विन्दुका लागि भारतले अनुमति दिए पनि आइकाओको तर्फबाट स्वीकृति प्राप्त भइसकेको छैन् । अहिले भैरहवाबाट जहान बाहिर जान भने पाउँछन् ।
उनले भने, ‘नेपाल र भारत दुबै देशले उक्त प्रवेश विन्दुको स्वीकृतिका लागि लिखितरुपमा आइकाओमा पठाइसकेका छौं, उसले एयर नेभिगेसन प्लानमा प्रकाशित गरेपछि थप २ रुट खुल्नेछ ।’
पोखरेलका अनुसार थप २ रुटलाई पनि आइकाओले अन्तर्राष्ट्रिय हवाइ रुटमा समावेश गरेपछि प्रवेशका लागि बाटो खुला हुन्छ ।
अन्तर्राष्ट्रिय हवाइजहाज नेपाल प्रवेशका लागि अहिले सिमरा एउटा मात्रै प्रवेश विन्दु छ ।
भैरहवा वा यसका आसपासका क्षेत्रबाट प्रवेश गर्न पाए भने पश्चिमबाट आउने जहाजहरुलाई कम समय लाग्नेछ । जहाजलाई सिमरा पुग्नु पर्दैन ।
सन् २०२० देखि सञ्चालनाका लागि तयार हुने लक्ष्य लिइएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई रुट समस्या हुने देखिएपछि यसको समाधानका लागि सरकारले पहल सुरु गरेको थियो ।
सिमराबाट मात्रै हवाई प्रवेश विन्दु (एयर इन्ट्री प्वाइन्ट) हुँदा भैरहवा विमानस्थलकका लागि समस्या हुने देखिएको थियो ।
त्यस्तै, पोखरा विमानस्थलमा पुग्नका लागि पनि पश्चिमबाट आउने जहाजहरु सिमराको घुमाउरो बाटो जानु पर्दैन् ।
पश्चिममा प्रवेश विन्दु खुलेपछि पोखरा र भैरहवा विमानस्थलका लागि निकै सहज हुनेछ भने काठमाडौं आउनका लागि समेत छोटो बाटो पर्नेछ ।
पोखरेलका अनुसार नेपाल र भारतबीच गत जुन २०१८ मा सम्पन्न हवाई रुट वार्ता पश्चात नेपालले पूर्वमा विराटनगर, जनकपुर र पश्चिममा भैरहवाबाट प्रवेश बिन्दु प्राप्त गरेको थियो । तर हाल जनपुर र भैरहवामा प्रवेश स्वीकृति पाउनका लागि प्रयास भइरहेको छ ।
उनले भने, ‘थप २ रुटका लागि लविङ भइरहेको छ भने महेन्द्रनगर वा नेपालगञ्जमध्ये कुनै एक स्थानबाट थप प्रवेश बिन्दुका लागि प्रयास जारी रहेको उनले बताए ।
अहिले नेपालको पूर्वमा झापादेखि पश्चिममा नेपालगञ्जसम्मको हवाई क्षेत्र राडारको कभरेजभित्र आइसकेको छ भने यसबाट एयर ट्राफिक सेवा सुदृढ भइ उडान सुरक्षामा समेत अभिवृद्धि भएको प्राधिकरणको भनाइ छ ।
साथै, प्राधिकरणले नेभिगेसन प्रणालीमा सुधारका लागि चन्द्रगढी र धनगढी विमानस्थलमा भीओआर/डीएमईको जडान गर्ने कार्य प्रारम्भ भएको जानकारी दिएको छ ।
जडानपछि विमानस्थलहरुमा वायुयान उडान अवतरणका लागि दिशानिर्देश गर्न भरपर्दो प्रणाली उपलब्ध हुने पोखरेलको भनाइ छ । यो जडानसँगै नेपालमा भीओआर÷डीएमई जडान हुने विमानस्थलहरुको संख्या ७ पुग्नेछ ।