१० महिनामा १३ प्रतिशतले विदेशी विनिमय सञ्चिति घट्यो, विप्रेषण बढ्दा पनि शोधानान्तर घाटा बढ्यो



काठमाडौं । निर्यात भन्दा अत्याधिक आयातका कारण देशको विदेशी विनिमय संचितीमा असर परेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको तथ्याङक अनुसार २०७६ असोज मसान्तमा सम्ममा १० खर्ब ६० अर्ब ७० करोड रहेको छ । गत असार मसान्तसम्म विदेशी विनिमय सञ्चिति ११ खर्ब २ अर्ब ५९ करोड रहेको थियो । १० महिनाको अवधिमा यस्तो सञ्चिति १२.७७ प्रतिशतले घटेको छ ।

विनिमय सञ्चिति अमेरिकी डलरमा हेर्दा असार मसान्तसम्म १० अर्ब ८ करोड रहेकोमा वैशाख मसान्तसम्ममा ९ अर्ब ४२ करोड डलर रहेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा ९ खर्ब ८९ अर्ब ४० करोड रहेकोमा वैशाख मसान्तमा ९ खर्ब १५ अर्ब ३९ करोड रहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूसँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा १ खर्ब १३ अर्ब १९ करोड रहेकोमा वैशाख मसान्तमा १ खर्ब ४५ अर्ब ३१ करोड रहेको छ । वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

१० महिनाको अवधिमा विप्रेषण आप्रवाह १९.६ प्रतिशतले बढेर ७ खर्ब २५ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ९.३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.३ प्रतिशतले बढेको थियो । यो अवधिमा खुद ट्रान्सफर आय १९.४ प्रतिशतले बढेर ८ खर्ब २६ अर्ब २० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.१ प्रतिशतले घटेको थियो ।

अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३८.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने समीक्षा अवधिमा ५.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.२ प्रतिशतले घटेको थियो ।

यस्तै १० महिनाको अवधिमा चालु खाता घाटा विस्तार भई २ खर्ब २१ अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा खर्ब ९२ अर्ब ५ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको दश महिनामा १ अर्ब ८६ करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा १ अर्ब ९५ करोड पुगेको छ ।

१० महिनाको अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब २० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १८ अर्ब ९३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको दश महिनामा १८ करोड ४८ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ६० करोड २ लाखले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुजीगत ट्रान्सफर १३ अर्ब ४८ करोड र प्रत्यक्ष वैदेशिक लगानी ९ अर्ब ४७ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १४ अर्ब १५ करोड र प्रत्यक्ष वैदेशिक लगानी १५ अर्ब ५१ करोड रहेको थियो ।

काठमाडौं । चालु आर्थिक वर्ष २०७५÷७६ को दश महिनामा कुल वस्तु निर्यात १८.१ प्रतिशतले बढेर ७८ अर्ब ५३ करोड पुगेको छ । अघिल्लो
वर्षको सोही अवधिमा यस्तो निर्यात ९ प्रतिशतले बढेको छ । भारततर्फ ३१.९ प्रतिशत र अन्य मुलुकतर्फ २.३ प्रतिशतले निर्यात वृद्धि भएको छ । चीनतर्फ भने २९ प्रतिशतले निर्यातमा कमी आएको छ । वस्तुगत आधारमा पोलिष्टर यार्न, जुटका सामान, जस्तापाता, ऊनी गलैंचा, जडीबुटी लगायतका वस्तुको निर्यात बढेको छ भने अलैची, जुत्ता तथा चप्पल, छाला, तयारी पोशाक, पश्मिना लगायतका वस्तुहरुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७५÷७६ को दश महिनामा कुल वस्तु आयात १९.६ प्रतिशतले बढेर ११ खर्ब ७८ अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २१.८ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात १७.२ प्रतिशत, चीनबाट भएको आयात ३३ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १८.८ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, तयारी पोशाक, हवाईजहाज तथा पार्टपुर्जा, एम.एस. बिलेट, अन्य मेसिनरी तथा पार्टप’र्जा लगायतका वस्त’को आयात बढेको छ भने सिमेन्ट, दुरसञ्चारका उपकरण तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा भटमासको तेल, स्वास्थ्य उपकरण तथा औजार लगायतका वस्तुहरुको आयात घटेको छ ।

यो दश महिनामा कुल वस्तु व्यापार घाटा १९.७ प्रतिशतले विस्तार भई १० खर्ब ९९ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६.७ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ६.८ प्रतिशत रहेको थियो ।


क्लिकमान्डु