हावा गफमा बिग मर्जर भनेर भएन, स्पष्ट नीति नभई कसरी अघि बढ्ने ? मनोज ज्ञवालीको अन्तर्वार्ता



चाटर्ड एकाउन्टेन्स मनोज ज्ञवालीले बैकिङ करिअरको सुरुवात नेपाल राष्ट्र बैंकबाट गरेका छन् । नेपाल राष्ट्र बैंकमा ५ वर्ष  काम गरेपछि उनी ग्लोबल आइएमई बैंकमा गए । ग्लोबल आइएमईपछि ज्योति विकास बैंकमा डेपुटी भएर आएका ज्ञवाली ज्योति विकास बैंकको सिइओ छन् । विकास बैंकहरुको संस्था डेभलपमेन्ट बैंकर्स एशोसियनको सााधरणसभाबाट महासचिवमा चुनिएका ज्ञवालीसँग क्लिकमाण्डूले गरेको कुराकानी

विकास बैंकहरुको अवस्था कस्तो छ ?

कुनैबेला ८५/८६ को संख्यामा पुगेका विकास बैंकहरु अहिले घटेका छन् । राष्ट्रिय स्तरका ११ वटा विकास सहित क्षेत्रिय स्तर गरेर ३२ वटा विकास बैंक रहेका छन् ।  स्थानीय तहमा एउटा मात्रै जिल्लामा भएका, ३ वटा वा १० वटा मात्रै जिल्लामा सञ्चालित बैंकलाई प्रादेशिक तहमा जानुपर्ने गरी सर्कुलेशन नै जारी गरेको छ । यसले गर्दा विकास बैंकको संख्या अझै कम हुनेछ । ज्योति विकास बैंक पनि ४ वटा विकास बैंक मर्ज भएर बनेको हो । त्यसैले अब विकास बैंकहरु घट्दो क्रममा छन् ।

बिकास बैंकहरुले वाणिज्य बैंकको तरलता असहजतामा कर्जा किनेर समेत सहयोग गरेका छन् । गाउँ गाउँमा बैकिङ पहुँच पुर्याउन बिकास बैंकहरुको आफ्नै भुमिका छ। यसैले बिकास बैकहरुको आफ्नै भुमिका छ र यसै अनुसार संचालित छन्।

यसरी संख्या घट्दै जाँदा विकास बैंक नै नहरने अवस्थामा पुगेका हुन भन्न सकिन्छ ?

यसरी भविष्यवाणी नै त गर्न सकिन्न । राष्ट्र बैंकले वर्ग छुट्याएर लाइसेन्स दिएका संस्थाहरु रहन्छन् । भोलिको दिनमा नीति नियममा परिवर्तन हुँदा रहने वा नहरने भन्ने अलग पाटो हो । तर अहिलेको अवस्थामा विकास बैंकहरु रहन्छन् । पुँजीको हिसाब हेर्दा कुरा गर्ने हो राष्ट्रियस्तरको विकास बैंक हुनका लागि साढे २ अर्ब रुपैयाँ  चुक्ता पुँजी हुनुपर्ने भनिएको छ । जसमा कतिपयले ३ अर्ब रुपैयाँ समेतभन्दा बढी बढाएको अवस्था छ । शाखा सञ्जालको हिसाबले हेर्दा राष्ट्रियस्तरका विकास बैंकको शाखा १ सयको हाराहारीमा पुगेको छ । २/३ वर्ष अगाडिको वाणिज्य बैंकभन्दा बलियो भएर विकास बैंकहरु गएका छन् ।

आजको अवस्थामा राष्ट्र बैंककले तोकेका न्यूनतम मापदण्डहरुलाई पालना गरेर विकास बैंकहरु सञ्चालनमा छन् । भोलि नीति नियम परिवर्तन हुँदा अर्को कुरा हुन्छ ।

आजको दिनमा ‘बिग मर्जर’ आउछ भनेर मलाई विश्वास लाग्दैन् ।

अहिले ‘बिग मर्जर’को कुरा चर्चामा छ । यो भयो भने विकास बैंकको अवस्था के हुन्छ ?

मलाई के कुरामा आपत्ति छ भने ‘बिग मर्जर’ कसले भनेको हो ? कसैलाई मुड चल्यो भन्दैमा भन्न भएन । यो बोल्दै हिड्ने कुरा पनि होइन । नीतिमा आउने कुरा हो । सबैभन्दा पहिला स्पष्ट हुनुपर्यो । मर्जर के का लागि गर्ने हो ? के लाई बिग भन्ने हो ? कति साइज भयो भयो भने बिग हुने हो ? अहिले हामीले ३४ अर्ब रुपैयाँको पुँजी भएको वाणिज्य बैंक बनाउने भनेका छौं । त्यो भएमा २० अर्ब रुपैयाँ चुक्ता पुँजी राखेर पूर्वाधार विकास बैंक किन बनाएको हो ? यसको पुँजी ५० अर्ब रुपैयाँ पुर्याउने हो ? ५० अर्ब रुपैयाँ हाल्नका लागि संस्थापकले कहाँबाट पैसा ल्याउँछन ? यसमा हाम्रो नीति स्पष्ट भएको छैन् ।

ठीक छ संस्था बढी भए । संस्था कति चाहिने को हो त ? नियामक निकाय र सरकारले यसमा अध्ययन गर्नुपर्यो । संख्या कम गर्नका लागि के गर्ने ? अहिले हामीले यो संस्था चलाउनको लागि रातदिन काम गरेका छौं । अहिले ज्योति विकास बैंकमा नै ८ सय कर्मचारीले काम गरिरहेका छन् । ३० हजारभन्दाबढी सेयरधनी छन् । ‘बिग मर्जर’को कुराले हामीलाई अन्योल बनाएको छ । आजको दिनमा ‘बिग मर्जर’ आउछ भनेर मलाई विश्वास लाग्दैन् ।

अर्थमन्त्रीले औपचारिक रुपमा भन्नु भएको पनि छैन् । राष्ट्र बैंकबाट समेत आधिकारिक धारणा आएको छैन् । बजारमा हल्ला गर्नुभन्दा पनि स्पष्ट धारणा सहितको नीति आउनुपर्यो । कहिले हामीले युनिभर्सल बैकिङमा जाने भनेर विकास बैंक र फाइनान्स कम्पनी नरहने भनेका छौ । त्यो हो भने विकास बैंक र फाइनान्स कम्पनी चलाउने सर्कुलर ल्याएर बन्द गरे हुँदैन । त्यसो भयो भने मेरो इफोर्ट शाखा खोल्न, कर्मचारी नियुक्त गर्न र बैंक चलाउनमा लगाउनु पर्दैन नि । त्यो भएपछि म छिटो मर्जर एक्विजेशनको प्रक्रियामा लाग्छु । बैंकको हिसाबले कुरा गर्नुहुन्छ भने हामीले पुँजी पुर्याएका छौ । सक्षम छौं । व्यवसाय गर्न सक्छौ ।

यसको अर्थ ‘बिग मर्जर’ चाहिँदैन भन्नु भएको हो ?

‘बिग मर्जर’ चाहिन्छ वा चाहिँदैन मैले भन्ने होइन् । यो नियामक निकाय र सरकारले अध्ययन गरेर नीति ल्याउने हो । बैंक तथा वित्तीय संस्थाको संख्या बढी भएको हो । हाम्रो देशलाई जति बैंक तथा वित्तीय संस्थाको संख्या चाहिन्छ त्यो बढी भएकै हो । तर कति बढी हो ? कति चाहिन्छ ? त्यसको लागि अध्ययन गरेर भन्नुपर्छ । हामीले लिने नीति दीर्घकालिन खालको हुनुपर्छ । अल्पकालिन, मध्यकालिन र दीर्घकालिन नीति यो हो है भनेर ल्याएपछि कार्यान्वयन गर्नुपर्छ ।

हामीलाई पनि दीर्घकालिन नीति नलिएको आरोप लाग्छ । राष्ट्र बैंकको सुपरीवेक्षण आएको हुन्छ । हाम्रो मध्यकालिन र दीर्घकालिन नीति भएन भनेर प्रश्न गर्नुहुन्छ । तर हामी त्यो लिन सक्ने अवस्थामा छैनौं । नीतिहरु स्पष्ट नै छैनन् । जसले गर्दा बजारलाई अन्योल पारेको छ । तरलताको असहजताले गर्दा बैंक तथा वित्तीय संस्था आत्तिएको अवस्था छ । अरु कुरा पनि छिटो–छिटो नीति परिवर्तन भएको छ ।

८ अर्ब चुक्ता पुँजी लगाएको छ । रिजर्ब गर्दा १६ अर्ब लगानी गरेको हुन्छ । उसले ३ अर्ब त कमाएको हो । त्यो हुँदा बजारमा अर्ब नाफा कमायो भनेर हल्ला गर्ने

पछिल्ला महिना उद्योगी व्यापारी बैंकले बढी ब्याजदर लिएको भन्दै सडकमा आन्दोलन भयो । प्रधानमन्त्रीले नै हस्तक्षेप गर्नुपर्ने अवस्था आयो । के बैंक तथा वित्तीय संस्थाले बढी ब्याजदरले लिएर चुसेकै हो ?

हामी कागले कान लग्यो भन्दा कान छाम्नुभन्दा पनि कागको पछाडि दौडिएका छौ । कानमा सुन झुण्डेको थाहै छैन् । पहिलो कुरा बैंकहरुले बढी कमाए भन्ने कुरा हेरौं ।

ज्योति विकास बैंक स्थापनाको १० वर्ष पूरा गर्यो । अहिलेसम्म हामीले दिएको लाभांश ७८ प्रतिशत हो । संस्थापक सेयर आजको दिनमा १०० को १०० मा नै बिक्छ । १० वर्ष अगाडि हाम्रो संस्थापकले १ लाख लगाएको थियो भने जम्मा १ लाख ७८ हजार कमाएको छ । जग्गामा लगाउनेले कति कमायो, ५० लाख लगानी गरेको उद्योगपतिले कति कमायो सबैलाई स्पष्ट छ । कहाँ बैंकको सुपर प्रोफिट भयो । हाम्रो २/३ वटा खाता त छैनन् ।

८ अर्ब चुक्ता पुँजी लगाएको छ । रिजर्ब गर्दा १६ अर्ब लगानी गरेको हुन्छ । उसले ३ अर्ब त कमाएको हो । त्यो हुँदा बजारमा अर्ब नाफा कमायो भनेर हल्ला गर्ने ? बैंकले अन्यथा कमाए भन्ने होइन । आजको दिनमा २० प्रतिशत लाभांश दिन सक्ने कतिवटा बैंक छन् । कहाँ छ सुपर प्रोफिट । २० लाख लगानी गरेका व्यापारीले ४० लाख कमाएका उदाहरण कति छन् ? हात्ति बाधेर राखेपछि बाख्राले भन्दा बढी घास खायो भने जस्तै बैंकको नाफा बढी भयो भनिएको हो ।

कतिलाई भ्रम छ । स्प्रेड घटेपछि कर्जाको ब्याजदर घट्छ भनेर । स्प्रेडदर घट्दैमा कर्जाको ब्याजदर घट्दैन् ।

अर्को ब्याजदर बढी भयो भन्ने आवाज अत्यधिक उठ्छ । यो भनेको माग र आपूर्तिको कारण हुने हो । अचानक चारगुणा चुक्ता पुँजी बढाइयो । जसले गर्दा पुँजी बजार ह्वातै बढ्यो । हकप्रदको बाढी नै आयो । पुँजी बढेपछि के भयो भने ऋणको ग्रोथ अत्यधिक भयो । एउटा घरमा एउटा भैसी पालेका थिए तीनवटा भैसी पालेपछि त धेरै घास चाहिन्छ नै । ऋण अत्यधिक प्रवाह भएको हो । जसले गर्दा स्रोतमा दवाव छ । आजको दिन बैंक तथा वित्तीय संस्थाको क्यापिटल फण्डको साइज हेर्ने हो भने चार खर्ब पुग्न लाग्यो । त्यसले ३८ देखि ४० खर्बको ऋण माग्छ । अहिले बल्ल ३० खर्ब पुग्न लागेको छ । त्यो ग्यापसम्म त पुग्नुपर्छ । त्यसले रिर्टनमा दवाव बढेको छ । स्रोतमा दवाव भएपछि निक्षेपको नै ब्याजदर महंगो भयो जसले कर्जाको ब्याजदर स्वभाविक रुपमा बढी भयो ।

कतिलाई भ्रम छ । स्प्रेड घटेपछि कर्जाको ब्याजदर घट्छ भनेर । स्प्रेडदर घट्दैमा कर्जाको ब्याजदर घट्दैन् । हिजोको दिनमा ७÷८ प्रतिशत स्प्रेड हुँदा पनि केही व्यापारीले ५/६ प्रतिशत ब्याजदरमा ऋण पाएका थिए । हामी त आफै संयमित भएका छौ । निक्षेपमा भद्र सहमति गरेका छौ । कतिपयले कार्टेलिङ भनेका छन् । हामीलाई थाह छ । बैंकरहरुलाई पूर्ण चेतना छ । कम ब्याजदरले नै औद्योगिकरणलाई र आर्थिक वृद्धिलाई सहयोग गर्ने हो । यो सबैको फाइदा कुरा हो । तर अहिलेको अवस्थामा नै ८ देखि ९ खर्बको ऋण दिन सक्ने क्षमता बैंक तथा वित्तीय संस्थासँग छ । त्यो नहुँदासम्म दौडनुपर्छ । त्यो बेलासम्म ब्याजदर घट्ने अवस्था छैन् ।

ज्योति विकास बैंकले अहिलेसम्म लगानी अनुसारको रिर्टन दिएको छैन्, भनेपछि मर्जरमा जाँदा नै राम्रो होइन ?

मर्जर एक्विजेशनमा जादैमा बैंक ठूलो हुँदैमा नाफा बढ्ने होइन । गोरखकाली टायरले केही पनि नदिएर गुडेर गयो । ह्यातमा पनि मान्छेले पैसा लगाएको हो । अहिले आएर लाभांश दिन लागेको छ । नेपाल विकास बैंक लगानीकर्ताले गरेको लगानी नै डुब्यो । रिर्टन भनेपछि त जोखिम हुन्छ । हामीले पुँजीलाई संरक्षण गरेका छौ । यो दीर्घकालिन भिजनले चल्ने हो । हिजोको दिनमा ज्योतिको सेयर ४ सय पनि पुगेको थियो । त्यो बेला बेच्नेले कमाएका पनि थिए ।

संस्थाहरु मर्जर भएर नाफा बढ्छ भन्ने सिनर्जी देखिएको छैन् । अहिलेसम्म मर्जर एक्विजेशनको केस स्टडी लिएर हेरौं र अध्ययन गरौं । त्योअनुसार मेरो बुझाइमा बढेको देखिएको छैन् । हाम्रोमा मर्जर एक्विजेशन तपाईको ५० वटा शाखा मेरो ५० वटा शाखा, कर्मचारी ७ सय र ८ सय त्यसलाई जोड्ने मात्र हो । उच्च व्यवस्थापनलाई बिदा गर्दा झन बढी खर्च भएको छ । जसले गर्दा अपरेशन इफिसिन्यसी आएको छैन् । अपरेशन इफिसेन्सी नआउँदासम्म रिर्टन बढ्दैन् ।

नीतिहरु स्पष्ट चाहियो । मर्जर गराउने भए नीति ल्याएर गराउँदा हुन्छ । त्यो भएपछि सबैजना अहिलेको संस्था चलाउने प्रतिस्पर्धामा लाग्नुभन्दा मर्जरतर्फ लाग्छन् ।

‘बिग मर्जर’ चर्चा किन भइरहेको छ ? के बैंक चलाउन नसकेर नै त हो ?

राष्ट्र बैंकले गरेको औपचारिक कार्यक्रममा राष्ट्र बैंकबाट ‘बिग मर्जर’को कुरा आएको सुन्नु भएको छ । अर्थमन्त्रालयले आयोजना गरेको कुरा सुन्नु भएको छ । चिया खाँदा गरेको गफले भएन । आवश्यकता हो । तर यसको लागि पर्याप्त छलफल चाहिन्छ । संस्थाबढी भएर वित्तीय पहुँच त बढेको छ । हिजोको दिनमा तीनजनाको सिफारिस भएपछि बैंक खाता खुल्ने गरेको थियो । अहिले सहजै बैंकको खाता खुल्ने गाउँसम्म पुगेको त्यही भएर भएको होइन ?यसका अवगुण मात्र नभनौं । सकारात्मक कुरा चर्चा गरौं ।

अझै डेढवर्ष ऋणको ब्याजदर घट्ने सम्भावना छैन ।

अहिले वित्तीय क्षेत्रको बारेमा नीतिहरु स्पष्ट भएनन् भन्न खोज्नु भएको हो ?

नीतिहरु स्पष्ट चाहियो । मर्जर गराउने भए नीति ल्याएर गराउँदा हुन्छ । त्यो भएपछि सबैजना अहिलेको संस्था चलाउने प्रतिस्पर्धामा लाग्नुभन्दा मर्जरतर्फ लाग्छन् । म नेपालगञ्ज जान लागेको छु । मुग्लिनको बाटो बन्द छ भनेपछि प्लेनमा जाने हो वा हेलिकप्टरमा जाने हो । आफ्नो तरिकाले जान्छु । तर बाटो बन्द छ पनि नभन्ने हिड्न पनि नदिएजस्तो गर्न भएन । युनिभर्सल बैकिङमा नै जाने हो भने स्पष्ट रुपमा भन्नुपर्यो । हामी पनि राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याएको संस्था हो । नीतिका कुराहरु फुत्त–फुत्त हल्ला गरेर ल्याउने कुरा होइन ।

सडकदेखि सदनसम्म बैंकको ब्यादरको चर्चा छ, ब्याजदर कहिलेबाट घट्छ ?

मैले तीनवर्ष अगाडि नै भनेको थिए । यो दीर्घकालिन समस्या हो । त्योबेला केही पण्डितहरुले यो अल्पकालिन भनेका थिए । त्यो अवस्था अहिलेको होइन् । हामीले पुँजी बढायौं । हकप्रद रोकेको भए मर्जर एक्विजेशन हुन्थ्यो र अहिलेको समस्या आउने थिएन । बढेको पुँजीले डिमाण्ड गर्छ । अझै डेढवर्ष ऋणको ब्याजदर घट्ने सम्भावना छैन ।

सरकारले गर्ने विकास खर्चको अवस्था हामीेले देखिसकेका छौ । दुईतिहाईको सरकारले एकवर्ष बिताइसकेको छ । सरकारको कामबाट सकारात्मक हुने कुरा देखिएको छैन । अझै एकडेढवर्ष सहज हुने अवस्था छैन ।

विदेशी लगानी आयो, बैंकहरुले विदेशबाट पैसा ल्याए भने पैसा सहज रुपमा पाएपछि घट्ने हो । एकदेखि डेढ वर्षसम्म जसले जति कराएपनि ब्याजदर घट्दैन ।

ज्योति विकास बैंकबाट सेयरधनीले यो वर्षबाट कस्तो अपेक्षा गर्न सक्छन् ?

हामी चारवटा विकास बैंक मर्जर भएर ज्योति विकास बैंकको रुपमा सञ्चालनमा छौं । २÷३ वर्ष मर्जर एक्विजेशन गर्यौ । ऋण दिने पैसाको अभाव पनि भयो । गत वर्षभन्दा यो वर्ष ८५ प्रतिशतले निक्षेप बढेको छ ।

ग्रोथको हिसाबले विकास बैंकहरुका राम्रो छ । पुँजीको हिसाबले अहिले हामी सबैभन्दा ठूलो हो । ३ अर्ब १० करोडको चुक्ता पुँजी भएको छ । व्यवसाय बढाउनुपर्ने छ । पुँजीलाई पुग्ने गरेर व्यवसाय बढाउनुपर्ने छ । हामीलाई सञ्चालक समितिले त्योअनुसार काम गर्न हामीलाई स्वतन्त्रता दिएको छ । व्यवस्थापनमा पनि त्यस्तै साथीहरु छौ ।

अब हामीहरु चारवटा शाखा विस्तार गरेपछि १०१ वटा शाखा पुग्ने छ ।  विदेशी मुद्राको कारोबार पनि राम्रो छ । हामीले अरुले नदिए पनि सटही सुविधा दिन्छौं भनेका छौ । ज्योति रेमिट ज्योति माइक्रो फाइनान्सको कारोबार गरेका छौंं । यो वर्ष नाफामा राम्रो हुन्छौं । दोहोरो अंकको लाभांश हामी दिन सक्छौ । यो वर्षको व्यवसाय हामीले जुन हासिल गर्छाैं त्यसले अर्को वर्ष थप कमाउन सक्छौ ।


क्लिकमान्डु