सरकारलाई कांग्रेस महामन्त्रीको प्रश्नः सरकारी जग्गा कसरी नेकपाका नेताको नाममा पुग्यो ?



भर्खरै सम्माननीय राष्ट्रपतिज्यूले यस संसदमा प्रस्तुत गर्नु भएको बार्षिक नीति तथा कार्यक्रमका बारेमा नेपाली कांग्रेसको तर्फबाट आफ्ना केही धारणाहरु राख्न चाहन्छु ।

नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादर देउवाले सम्माननीय राष्ट्रपतिज्यूद्वारा प्रस्तुत नीति तथा कार्यक्रमको छलफलमा राख्नु भएको धारणाको समर्थन गर्दछु । साथै हाम्रो पार्टी नेपाली कांग्रेसको तर्फबाट माननीय मिनेन्द्र प्रसाद रिजाल लगायत २३ जना प्रतिनिधिसभा सदस्यहरुले राख्नु भएको संशोधन प्रस्तावलाई समर्थन गर्दछु ।

उहाँद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेखित विषयवस्तुहरुले हाम्रो ध्यान गम्भीर रुपले अकर्षित गरेको छ ।

आज हामी सात दशक अघि जननायक वी.पी. कोइरालाले नेपाली जनता समक्ष गर्नु भएको प्रतिबद्धता बमोजिम संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण गरी जननिर्वाचित यस गरिमामय संसदमा उपस्थित भएका छौं । हामीले प्राप्त गरेका राजनीतिक उपलब्धीहरुलाई सांस्थागत गरी वर्तमान राजनीतिक प्रणालीका माध्यमबाट नेपाललाई एक समुन्नत राष्ट्र र नेपाली जनतालाई सुखी एवं सम्पन्न नागरिक बनाउनु हामी सबैको साझा कर्तव्य हो । यस दिशामा अघि बढ्न हामी सबैले आ–आफ्नो ठाउँबाट संकल्प गर्दै आएका छौं ।

जनता र राष्ट्रको लक्ष्य बारम्बारको राजनीतिक परिवर्तन मात्र हैन, परिवर्तनले स्थापना गरेको राजनीतिक प्रणालीका माध्यमबाट राष्ट्रलाई विकसित र जनतालाई सम्पन्न बनाउनु हामी सबैको मुख्य ध्येय हो । यही ध्येय पुरा गर्न हाम्रा प्रातः स्मरणीय नेता वी.पी. कोइरालाले आफ्नो सम्पूर्ण जीवन राजनीतिमा समर्पित गर्नु भएको थियो । म यस ऐतिहासिक अवसरमा उहाँ लगायत सबै आदरणीय अग्रजहरु र आफ्नो जीवन बलिदान गर्ने सम्पूर्ण शहिदहरुलाई हार्दिक श्रद्धासुमन अपर्ण गर्न चाहन्छु ।

वर्तमान सरकार नेपाली जनताको अभिमतद्वारा पाँच वर्षका लागि चुनिएको सर्वभौमसत्ता सम्पन्न नेपाली नागरिकहरुको सरकार हो भन्ने कुरामा हामीलाई द्विविधा छैन । र, हुनु पनि हुँदैन । हामीले बारम्बार गरेको राजनीति संघर्षको मूल उद्देश्य विधिको शासन स्थापना गर्ने नै हो । त्यसैले हामीले सबै किसिमका तानाशाही, निरङ्कुशता वा अधिनायकवादको अन्त्य गरी वर्तमान शासन व्यवस्था स्थापना गरेका हौं । वर्तमान सरकार कुनै व्यक्तिको सरकार होइन । न त राष्ट्रपतिज्यूले भन्नु भए जस्तो उहाँकै सरकार हो ।

संघीय गणतन्त्र नेपालले शुरु गरेको परम्परा नै हाम्रो लागि परिवर्तनलाई आत्मसात गरिएको गौरवमय परम्परा हो । २०६३ साल वैशाख ११ गते पुनस्र्थापित प्रतिनिधि सभाले २०६३ जेष्ठ ४ गते श्री ५ को सरकारलाई खारेज गरी नेपाल सरकार भन्ने वाक्यांश राखेपछि हामी सबैले नेपाल सरकार भन्दै आएको यर्थाथ सर्वविदितै छ । तसर्थ उहाँले सम्बोधनमा उल्लेख गर्नु भएको ‘मेरो सरकार’ भन्ने शब्दावलीले पुरानै अधिनायकवादी शासकहरुको मनोवृत्तिको झल्को दिएको छ । यसप्रति मेरो गम्भीर आपत्ति छ । यसले स्पष्ट रुपमा अधिनायकवादी चरित्रलाई पक्षपोषण गर्छ भन्ने मेरो ठहर छ ।

राष्ट्र प्रमुखले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम सरकारद्वारा अघि सारिने वार्षिक कार्यक्रम र अबलम्बन गरिने नीतिहरुको राजनीतिक दस्तावेज हो । यो कुनै इतिहासको वाचन र भविष्यको आकलन होइन । तसर्थ यो यर्थाथपरक, वस्तुनिष्ठ, तर्कपूर्ण र छोटो हुनु पर्दछ । उहाँको प्रस्तुतीमा भएको इतिहासको विवेचना र सरकारको गुणगानको औचित्य देखिदैन ।

नीति तथा कार्यक्रममा व्यक्त भएका योजना र कार्यक्रमहरुको विश्वसनिय आधार पटक्कै देखिदैन । विगतमा भनिए झै आगामी चार वर्ष भित्र दोहोरो अंकको आर्थिक वृद्धिका आधारहरु पटक्कै छैनन् । विदेशी साहयताको कुनै भरपर्दो आश्वासन छैन । नेपालमा भएका आर्थिक गतिविधिका सूचकांकहरु उत्साहवर्धक छैनन् । आगामी एक वर्ष भित्र भूकम्प प्रभावित नागरिकहरुलाई निजी आवास उपलब्ध गराउने कुरा र एक हजार मेघावाट विद्युत उत्पादन गर्ने कुरा वस्तुनिष्ठ देखिदैन । गौतम बुद्ध, पोखरा र निजगढ विमानस्थल निर्माण सम्पन्न गर्ने कुरा बारम्बार दोहो¥याइरहनु पर्ने कुरा होइन ।

वीरगंज–काठमाडौं र रसुवागढी–काठमाडौं रेल मार्गको डिपिआर दुई वर्ष भित्र तयार गर्ने कुराको कुनै सैद्धान्तिक आधार छैन । यसैगरी दुईवर्ष भित्र पूर्वपश्चिम विद्युतीय रेल मार्ग सञ्चालन गर्ने कुरा फगत आश्वासन बाहेक केही पनि होइन । आगामी एक वर्षमा पाँच लाख रोजगारी सृजना गर्ने कुरा केवल खोक्रो आश्वासन मात्र हो । आगामी वर्ष भित्र तीन करोड नेपालीको स्वास्थ्य वीमा गर्ने, सबै वडामा प्राथमिक स्वास्थ्य केन्द्र पु¥याउने र स्थानीय तहका केन्द्रमा कालोपत्रे बाटो निर्माण गर्ने कुरा कर्णप्रिय सुनिए पनि यसका लागि समय लाग्ने कुरा घाम जतिकै छर्लङ्ग छ ।
अर्को कुरा वर्तमान सरकार बनेपछि नै मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनीले काम छाडेको छ । यसको कारण वर्तमान सरकारले स्पष्ट पार्न सकेको छैन । यस परियोजनासँग जोडेर आएको कमिशन प्रकरणकाबारे सरकार अस्वभाविक रुपमा मौन देखिएको कुरा मैले यहाँ दोहो¥याइ रहनु पर्दैन ।

म यस सम्मानित सदनमा प्रश्न गर्न चाहन्छु दुई तिहाईको वर्तमान सरकारले सबै जनताको भावनालाई समेट्दै लोकतन्त्रलाई थप बलियो बनाउन सशक्त भूमिका खेलेको खोइ ? समतामूलक विकासको कुरालाई नारामा मात्र सिमित राखी प्रधानमन्त्री स्वयंले आफ्नो निर्वाचन क्षेत्रको विकास कार्यक्रम समावेश गर्न राष्ट्रिय योजना आयोगलाई लेखेको पत्र सार्वजनिक हुनुले सरकारको विकास रणनीतिलाई उदांगो पारेको छ । सपना र नाराहरु रहरलाग्दा भएता पनि पुँजीगत खर्चमा अपेक्षित प्रगति नभइरहेको अवस्था छ । कुनै आयोजना समयमै सम्पन्न हुन सकेको छैनन् ।

भ्रष्टाचार झनझन मौलाउँदै गएको छ । सुशासनको प्रत्याभूति छैन । आगामी वर्ष के गरिने हो, त्यसको केही ठेगान छैन । एनसेलसँग कर उठाउन केले रोक्यो ? वाईडवडीका भ्रष्टाचारीहरु कहाँ छन् ? सरकारी जग्गा कसरी तपाईकै पार्टीका नेताको नाममा पुग्यो ? महिला हिंसाहरु दिनानुदिन बढिरहेका छन् । निर्मला पन्तको दिवंगत आत्माले अझै किन शान्ति पाउन सकेको छ्रैन ?

नेपालको परराष्ट्र सम्बन्ध असलंग्न परराष्ट्रनीतिको सिद्धान्तमा आधारित छ । हामी हाम्रा सबै छिमेकीहरु प्रति राष्ट्रिय हितमा आधारित असल र सन्तुलीत सम्बन्ध राख्न चाहन्छौं । राष्ट्रपतिज्यूको भर्खरै सम्पन्न चीन भ्रमणलाई व्यक्तिगत र पार्टीगत उपलब्धीको रुपमा चित्रण गर्ने प्रयास गरिएको छ । यस घडीमा म सन् १९६० मा तत्कालीन प्रधानमन्त्री वी.पी. कोइरालाले संयुक्त राष्ट्र संघको महासभालाई गर्नु भएको सम्बोधनलाई सम्झन चाहन्छु । उहाँले छिमेकी मित्रराष्ट्र चीनलाई संयुक्त राष्ट्र संघको स्थायी सदस्य बनाउन आग्रह गर्नु भएको थियो । पछि सन् १९७४ मा मात्र चीनले संयुक्त राष्ट्र संघको स्थायी सदस्यता प्राप्त गरेको थियो । तर हामीले यो विषयलाई हाम्रो पार्टीको स्वार्थमा कहिल्यै प्रयोग गरेनौं । तसर्थ राष्ट्रपतिज्यूद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख भएका विषयहरु स्पष्टतः पार्टीगत स्वार्थबाट अभिप्रेरित देखिन्छन् ।

राष्ट्र र जनता नै राजनीतिको केन्द्र हो । हरेक सरकारले यो कुराको राम्रो हेक्का राख्नु पर्दछ । राष्ट्रपतिज्यूबाट प्रस्तुत नीति तथा कार्यक्रमले कुनै पनि क्षेत्र र समुदायका नेपाली नागरिकहरु विशेष गरी युवा समुदायलाई उत्साहित गर्न सकेको छैन । यसबाट राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने झण्डै एक करोड युवामा चरम निराशा बढेको छ । त्यसैले वर्तमान सरकार राष्ट्र र जनताको वृहत्तर हित र कल्याणको विषयमा पटक्कै चिन्तित छैन भन्ने मेरो बुझाई छ ।

(नेपाली कांग्रेसका महामन्त्री कोइरालाले संसदमा व्यक्त गरेको बिचार)


पुष्प दुलाल