२०७७ असारभित्र बैंकहरुले कल डिपोजिटको मात्रा १० प्रतिशतमा झार्नुपर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले कल डिपोजिटलाई कडाई गर्दै लगेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् राष्ट्र बैंकले कूल डिपोजिटमा कल डिपोजिटको हिस्सा १० प्रतिशतभन्दा बढी हुन नहुने घोषणा गरेको थियो ।

तर, कहिलेसम्ममा झार्नुपर्ने भन्ने विषयमा राष्ट्र बैंकले केही पनि भनेको थिएन । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको २ महिनापछि राष्ट्र बैंकले परिपत्र जारी गर्ने तयारी गरेको छ ।

राष्ट्र बैंक स्रोतका अनुसार ०७७ असार मसान्तभित्र कल डिपोजिटको मात्रा १० प्रतिशतमा झारिसक्नुपर्ने परिपत्र तयार भइरहेको छ ।

पुस मसान्तसम्मको तथ्यांक अनुसार वाणिज्य बैंकसँग २६ खर्ब ५६ अर्ब रुपैयाँको निक्षेप थियो । जसमा कल डिपोजिट अन्तर्गत बैंकहरुमा २ खर्ब ८४ अर्ब रुपैयाँ थियो । जसअनुसार औसतमा वाणिज्य बैंकहरुसँग कल निक्षेपमा १०.७१ प्रतिशत रकम थियो ।

‘०७७ असारभित्र कुल निक्षेपको बढीमा १० प्रतिशत मात्रै कल डिपोजिट लिन पाइने गरी परिपत्र तयार पारिरहेका छौं,’ राष्ट्र बैंक उच्च स्रोतले क्लिकमाण्डूसँग भन्यो,‘सञ्चालक समितिले पारित गरिरकेको छ । केही दिनमै परिपत्र गर्छौं ।’

कल डिपोजिट खातामा कम समया अवधिका लागि निक्षेप राखिन्छ । छोटो समयमा मोटो रकम कारोबार गर्ने व्यक्ति तथा संस्थाहरुले यस्तो खाता खोल्ने गर्छन् ।

पछिल्लो समय सीसीडी रेसियो टाइट भएपछि बैंकहरुले बढी ब्याज दिएर कल डिपोजिट संकलन गरेका थिए । जसकारण बैंकलाई जुनसुकै दिन पनि समस्या पर्ने देखिएपछि राष्ट्र बैंकले कल डिपोजिटको सीमा तोकेको हो ।

‘कल डिपोजिटमा अत्यत्नै छोटो समयमा लागि पैसा राखिन्छ, बैंकमा १० प्रतिशतभन्दा बढी यस्तो डिपोजिट हुँदा बैंकलाई समस्या पर्ने देखिएकाले सीमा तोक्नु परेको हो,’ राष्ट्र बैंक स्रोतले भन्यो ।

बैंकहरुले कल डिपोजिटमा साधारण बचतमा दिने ब्याजभन्दा बढी ब्याज भने दिन पाउँदैनन् ।

०७५ फागुनसम्माम १४ वटाको कल डिपोजिट १० प्रतिशतभन्दा बढी छ । सबैभन्दा बढी प्राइम बैंकको २५ प्रतिशत छ ।

‘कुनै बैंकको कल डिपोजिटको हिस्सा २० प्रतिशत छ भने एकैदिन त्यो पैसा निस्कन पनि सक्छ, यदि १० प्रतिशत रकम मात्रै निस्कने हो भने पनि त्यो बैंकले दिन सक्दैन,’ स्रोतले भन्यो, ‘बैंकमा राखेको पैसा बैंकले दिन सकेन भने समग्र बैंकिङ प्रणालीको विश्वसनीयतामाथि नै प्रश्न उठ्ने भएकाले सीमा तोकिएको हो ।’

शुरुमा राष्ट्र बैंकले कल डिपोजिटको सीमा ०७६ असार मसान्तसम्ममा १५ प्रतिशत र पुस मसान्तसम्ममा १० प्रतिशतमा झार्नुपर्ने गरी परिपत्र तयार पारेपनि बैंकहरुले उक्र समयमा झार्न नसक्ने भनेपछि ०७७ असार मसान्तसम्मको सीमा तोकिएको ती अधिकारीले जानकारी दिए ।

पुस मसान्तसम्मको तथ्यांक अनुसार वाणिज्य बैंकसँग २६ खर्ब ५६ अर्ब रुपैयाँको निक्षेप थियो । जसमा कल डिपोजिट अन्तर्गत बैंकहरुमा २ खर्ब ८४ अर्ब रुपैयाँ थियो । जसअनुसार औसतमा वाणिज्य बैंकहरुसँग कल निक्षेपमा १०.७१ प्रतिशत रकम थियो ।

पुस मसान्तको तथ्यांक

बैंक निक्षेप कलनिक्षेप प्रतिशत
एनआईबिएल 142,107 15,372 10.8
एनआईसी 175,764 24,597 14.0
एनएमबि 88,071 8,484 9.6
एनबी 52,381 7,548 14.4
एनसीसी 64,651 12,777 19.8
एभरेष्ट 124,178 15,562 12.5
एसबिआई 97,838 2,341 2.4
कुमारी 75,352 10,746 14.3
कृषि विकास 110,133 731 0.7
ग्लोबल 113,176 7,047 6.2
चाटर्ड 65,984 4,765 7.2
जनता 68,438 6,494 9.5
नबिल 149,379 20,617 13.8
नेपाल 105,678 5,248 5.0
प्रभु 104,962 14,684 14.0
प्राइम 76,727 19,455 25.4
बिओक 79,823 6,426 8.0
माछापुच््रछ्रे 85,176 8,171 9.6
मेगा 70,225 10,416 14.8
रावाबैं 181,144 11,170 6.2
लक्ष्मी 74,901 10,021 13.4
सनराइज 76,062 5,943 7.8
सानिमा 85,681 8,418 9.8
सिटिजन्स 66,270 4,346 6.6
सिदार्थ 106,385 18,390 17.3
सिभिल 43,076 7,540 17.5
सेन्चुरी 64,128 11,264 17.6
हिमालयन 109,245 6,191 5.7


पुष्प दुलाल