संस्थागत निक्षेपकर्ताले ब्याजदरमा बार्गेनिङ गर्ने दिन गए, अक्षय कोषले भने जति ब्याज लिन पाउने



काठमाडौं । संस्थागत निक्षेपकर्ताले ब्याजदरमा मोलमोलाइ गर्ने युगको अन्त्य भएको छ । संस्थागत निक्षेपकर्ताले बार्गेनिङ गरेर बढी ब्याज लिँदा बैंकहरुको ब्याजदर बढेपछि राष्ट्र बैंकले यसमा कडाइ गरेको हो ।

बैंकहरुको प्रकाशन गरेको ब्याजदर भन्दा १ प्रतिशत बढी ब्याज दिन पाइन्छ । तर, ५ वर्षभन्दा माथिको ब्याजदर भने बार्गेनिङकै आधारमा निर्धारण हुँदै आएको छ ।

‘अझै पनि बैंकहरुले ५ वर्षभन्दा माथिको संस्थागत मुद्दति निक्षेपमा १३÷साढे १३ प्रतिशत ब्याज दिइरहेका छन्,’ एक बैंकरले भने, ‘यो रोक्नुपर्छ ।’

बीमा कम्पनी, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सेना, प्रहरी लगायतका संस्थागत निक्षेपकर्ताले बार्गेनिङ गरेर बढी ब्याज लिइरहेका छन् ।

राष्ट्र बैंकको आग्रहमा नेपाल बैंकर्स संघले भद्र सहमति गरेर संस्थागत मुद्दति निक्षेपमा साढे ८ प्रतिशत ब्याज दिने जनाएका छन् ।

बैंकर्स संघको यस्तो भद्र सहमतिका कारण विभिन्न संघ संगठनहरुले सञ्चालन गर्दै आएको अक्षयकोषलाई असर पर्ने भन्दै राष्ट्र बैंकले अक्षय कोषका लागि भने आपसी सहमतिमा ब्याजदर निर्धारण गर्न सकिने ब्यवस्था गरेको छ ।

‘अक्षय कोष वापतको रकम मुद्दति निक्षेपको रुपमा स्वीकार गर्दा भने बैंक तथा वित्तीय संस्था र ग्राहकबीचको आपसी सहमतिको आधारमा ब्याजदर कायम गर्न सकिनेछ,’ राष्ट्र बैंकले बिहीबार जारी गरेको परिपत्रमा भनिएको छ ।


पुष्प दुलाल