अर्थमन्त्रीको बुझाई परिवर्तन नभएसम्म सेयर बजार बढ्दैन,धितोपत्र बोर्डका पूर्व अध्यक्ष शुरविर पौड्यालको विचार



सेयर बजार बढ्ने र घट्ने स्वभाविक प्रक्रिया हो । माग र आपूर्तिको आधारमा कुनैपनि वस्तु र सेवाको मूल्य निर्धारण हुने अर्थशास्त्रको सिद्दान्त हो । यो सिद्दान्त सेयर बजारको हकमा पनि लागु हुन्छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी चारगुणा बढाउने नीति लियो । बीमा समितिले पनि चुक्ता पुँजी बढाउने नीति लियो । नेपालको सेयर बजारमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको अधिपत्य छ ।

चुक्ता पुँजी बढेपछि सेयर बजारमा मागभन्दा आपूर्ति बढी भयो । बढेको मागलाई आपूर्ति गर्ने गरेर बजारमा सेयर खरिद गर्ने खरिदकर्ता छैनन् । मागको तुलनामा आपूर्ति बढेपछि सेयर बजार घट्नु स्वभाविक नै हो ।

२ अर्ब वाणिज्य बैंक ८ अर्ब को बनेको छ । दुईवर्षको अवधीमा चुक्ता पुँजी बढाउनको लागि हकप्रद र बोनस सेयर अत्याधिक थपियो । तर,थपिएको सेयर खरिद गर्ने लगानीकर्ता छैनन् । सेयर बजार घट्नुको एउटा कारणमा चुक्ता पुँजीको कारण हो । यद्यपी चुक्ता पुँजी मात्र कारण होइन ।

पछिल्लो तीनवर्षदेखि बैकिङ प्रणालीमा ऋण दिनको लागि चाहिने रकमको अभाव छ । विश्वमा जहापनि सेयर बजार बैंकको ब्याजदरबीच विपरित सम्बन्ध हुन्छ । बैंकको ब्याजदर बढ्दा सेयर बजार घट्छ भने बैंकको ब्याजदर घट्दा सेयर बजार बढ्ने हुन्छ ।

लगानीकर्ताले लगानी गर्ने भनेको नाफाको लागि हो । वार्षिक रुपमा सजिलै १२/१३ प्रतिशतको रिर्टन बैंकमा पैसा राख्दा आउने भएपछि सेयर बजारमा लगानी बढ्दैन । यसले सेयर बजारलाई घटाउनको लागि मद्दत गर्छ । बैंकको ब्याजदर बढेपछि कसैलेपनि ऋण लिएर सेयर बजारमा प्रवेश गर्दैनन् । अहिलेको अवस्था यही हो ।

संविधान कार्यान्वयनका लागि प्रतिनिधिसभाको निर्वाचन भएको पनि एकवर्ष पुग्यो । यो अवधीमा बजार पुँजीकरणको आधारमा सेयर बजारबाट ४ खर्ब रुपैयाँ गुमेको छ ।

स्थिर सरकार आएपछि विकासको गति बढ्ने देशमा लगानी बढ्ने अपेक्षा सबैको थियो । निर्वाचन अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीको बाचापनि त्यस्तै थियो । जनताले सरकार चलाउनको लागि लागि दुईतिहाई मतपनि दिए ।

प्रधानमन्त्री र अर्थमन्त्रीका मुख हेरेर मात्र कसैले लगानी गर्दैन । लगानी गर्ने भनेको नीतिमा आधारित रहेर हो

तर,सरकार बनेको एकवर्ष हुनलाग्दापनि दुईतिहाईको सरकारले आशलाग्ने काम भने गरेको छैन । विकास खर्च हुन सकेको छैन । जसले गर्दा सरकारी ढुकुटीमा पैसा थन्केर बसेको छ । २ खर्ब रुपैयाँ रकम सरकारले ढुकुटीमा थन्काएर राखेपछि बजारमा पैसा आएन । जसले गर्दा बैंकमा ऋण दिनको लागि चाहिने रकमको अभाव भयो ।

अहिले सरकारमा अर्थतन्त्र बुझेको व्यक्ति डा युवराज खतिवडा अर्थमन्त्री छन् । उहाँलाई अर्थतन्त्रको बारेमा सबै कुराको जानकारी छ । तर,सेयर बजार बारेमा उहाँको बुझाईमा नै कमजोरी भयो । सेयर बजार उत्पादन मुलक नभएको बजारप्रतिको नकारात्मक धारणाले लगानीकर्ता आश्वस्त हुन सकेका छैनन् ।

मुख्य रुपमा अर्थमन्त्रीले सेयर बजारलाई कसरी बुझ्ने हो त्यो उहाँमा निर्भर हुने कुरा हो । अर्थतन्त्रको ऐना भनिने सेयर बजार घट्नु भनेको विदेशी लगानी भित्राउनको लागि राम्रो वातावरण बन्दैन । जुन लगानीकर्ता नेपालमा आउन चाहेका छन् तिनले सेयर बजारको बारेमा हेरेर आउने निर्णय गरेका हुन्छन् ।

प्रधानमन्त्री र अर्थमन्त्रीका मुख हेरेर मात्र कसैले लगानी गर्दैन । लगानी गर्ने भनेको नीतिमा आधारित रहेर हो । त्यस्तो नीति सरकारले ल्याउन सकेको छैन ।
नेपाल स्टक एक्सचेन्ज अर्थमन्त्रालय अन्तर्गतको संस्थान हो । यसलाई कसरी संचालन गर्ने भन्ने जिम्मेवारी पनि अर्थमन्त्रीसँग नै रहेको छ ।

सेयर बजारको विकासको लागि नेप्सेमा रणनीतिक साझेदार ल्याउने कुरा सेलाइसकेको छ । विदेशी स्टक एक्सचेन्जहरु रणनीतिक साझेदार बन्नको लागि इच्छुक छन् । मेरो पालामा पनि मलेसियन र कोरियन कम्पनीहरु इच्छुक रहेको जनाएका थिए । अहिलेसम्म स्टक एक्सचेन्जमा राष्ट्र बैंकको सेयर छ । राष्ट्र बैंकले सेयर बेच्ने भन्ने कहिलेपनि नबेच्ने मात्र हुने गरेको छ ।

सेयर बजारमा अनलाइन कारोबार भनेर अर्थमन्त्रीबाट उद्घाटन गराइयो । तर,यो अहिलेसम्म नाममात्रको भएको छ ।

अहिले सेयर बजार मात्र होइन अर्थतन्त्रका अन्य सूचकपनि नकरात्मक छन् । तीन महिनामा ३५ अर्ब रुपैयाँको शोधानान्तर घाटाको स्थिती छ । व्यापारघाटा बढेको छ । जसले गर्दा डलरमा आधारित विदेशी सन्चिती घट्दो क्रममा छ । यो राम्रो संकेत होइन । यो सुधार्ने प्रयास गर्ने काम अर्थमन्त्रीको हो । त्यो काम भने भएको देखिएको छैन ।

धितोपत्र बोर्डका पूर्व अध्यक्ष पौड्यालसँगको कुराकानीमा आधारित


क्लिकमान्डु