त्रासमा सेयरलाई टुकुचामा बगाउने कि धैर्य गर्ने ?



काठमाडौं । सेयर बजारसँग टुकुचा खोलाको एउटा सम्बन्ध छ । नेपाल स्टक एक्सचेन्जको कार्यालय अगाडिबाट टुकुचा खोला बग्छ ।

काठमाडौंको बीचभाग बाट बग्ने टुकुचा खोला कतिपय स्थानमा मिचिएको पनि छ । अब टुकुचा खोला झन सुक्दै जान्छ । बर्षाको समयमा भने टुकुचाले कुनै स्थानमा ठूलो बाढी पनि निम्ताएको छ । नेप्से कार्यालय नै टुकुचा खोलाले डुबाएको पनि छ ।

अहिले सेयर बजार घट्दो क्रममा छ । सेयर बजार घट्ने र बढ्ने स्वभाविक विशेषता हो । तर,अहिले नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक जसरी घटिरहेको छ त्यसलाई भने स्वभाविक मान्न नसक्ने अवस्था छ ।

लगानीकर्ता त्रसित हुँदै गएर टुकुचा खोलामा नै सेयर बगाएका छन् । यसले घाटा लगानीकर्तालाई नै हुने हो ।

नेप्से परिसूचक तीनवर्षकै तल्लो बिन्दुमा झरेको छ । बजार पुँजीकरणको आधारले हेर्ने हो भने लगानीकर्ताले सेयर बजारबाट करिब ५ खर्ब रुपैयाँ गुमाएको अवस्था छ । तर,सरोकारवाला निकाय भने अहिलेसम्म मौन छन् ।

राष्ट्र बैंकले लिएको चुक्ता पुँजीको नीतिपछि स्वभाविक रुपले बोनस तथा हकप्रदको बाढी नै आयो । त्यस्तै बीमा समितिले लिएको चुक्ता पुँजी बढाउने नीतिले बीमामा समेत हकप्रद र बोनस सेयरको बाढी नै आयो । राष्ट्र बैंकको तथ्यांकले पनि चुक्ता पुँजी बढ्दा मर्जरभन्दा बढी बोनस र हकप्रदबाट बढेको देखिन्छ ।

सेयर बजार बढ्दा साधारण लगानीकर्ताले नबुझेको कुरा नै हकप्रद र बोनस सेयर थियो । बोनस सेयर त कम्पनीले नाफा कमाएपछि दिने हुँदा लगानीकर्तालाई थप भार पर्दैन । हकप्रद सेयर लगानीकर्ता आफैले हाल्नु पर्ने भएपनि विगतमा हकप्रद दिने कम्पनीको नै सेयर मूल्य बढ्दो । सेयर बजारमा लगानी गर्नासाथ फाइदा हुन्छ भने मनोविज्ञानले हिजो बजार बढ्दा धेरै नै नयाँ लगानीकर्ता प्रवेश गरे । जसलाई अहिलेको सेयर बजारको बियरिस ट्रेण्ड ठूलो शक भएको छ ।

सेयर बजारमा बैंक तथा वित्तीय संस्थाको अधिपत्य बढी छ । जसमा नेप्से परिसूचकलाई अझ वाणिज्य बैंकको सेयर मूल्य नै बढी प्रभाव पार्छ । चुक्ता पुँजी पुगेपछि बैंक तथा वित्तीय संस्थाले नगद लाभांश दिने निश्चित नै थियो । अहिलेसम्म गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका वाणिज्य बैंकहरुमा एमएमबि र एनआईशी एशिया बाहेक सबै बैंकले नगद लाभांश नै घोषणा गरेका छन् । यस्तै फाइनान्स कम्पनी र विकास बैंकको समेत प्राथमिकता नगद लाभांश नै छ ।

सेयर बजारमा प्रवेश गरेका लगानीकर्ताले स्वभाविक रुपमा बुझ्नुपर्ने चुक्ता पुँजी पुगेपछि बैंक तथा वित्तीय संस्थाले नगद लाभांशमा जोड दिन्छन् भन्ने नै हो । चुक्ता पुँजी बढाउने नीतिले पछिल्लो चारवर्षदेखि संस्थापक सेयरधनीले नगद लाभांश पाएका थिएनन् । संस्थापकको चाहना बोनस सेयर हुँदैन नगद लाभांश हुन्छ साधारण लगानीकर्ताको चाहना बोनस सेयर हुने हो । तर,पुँजी बढे अनुसारको प्रतिफल दिने चुनौती स्वभाविक हुन्छ । यसैपनि सेयर बजारमा पुजी बृद्धिको नीतिले मागभन्दा आपूर्ति बढी छ ।

अहिले सेयर बजार ओरालो लागेको छ । यस्तोमा नयाँ लगानीकर्ता तथा साना लगानीकर्ता बढी मनोवैज्ञानिक त्रासमा छन् । आफ्नो सम्पत्ति घटाएर बेचेपछि स्वभाविक रुपमा घाटा लाग्छ । सेयर बजारमा प्रतिफल तत्काल प्राप्त नै हुँदैन ।
अहिले विभिन्न विश्लेषणको नाममा नेप्से ९ सय पुग्ने हल्ला चलाइएको छ । सेयर बजारमा परिसूचक कति पुग्छ भन्ने टुंगो नै हुँदैन । घट्ने हल्ला जति चल्छ त्यती सेयर बजारमा फाइदा लिने समुहले कमाउने हो ।

अर्को लगानीकर्ताले आफ्नो सम्पत्ति आफै घटाएका छन् । आफुसँग भएको कुनैपनि कम्पनीको सेयर थप किन्दा अत्याधिक सस्तोमा पाउने सोचले पनि सेयर बजार घटाउन मद्दत पुगेको छ ।

सम्पत्ति घटाएर टुकुचामा बगाउने हो या राख्ने हो त्यो निर्णय गर्ने जिम्मा लगानीकर्ताको नै हो ।

सेयर बजारको घट्दो क्रममा सरोकारवाला सिरियस छैनन् । अर्थमन्त्रीको अभिव्यक्ति र कतिपय नीतिले घटाउन नै मद्दत गर्छ । लगानीकर्ताका संघहरु जहिलेपनि घट्ने बेलानै टुकुचा खोलाको किनार घेर्न जान्छन् । अनलाइन नाममात्र आएको छ । यो चर्चाको अर्को विषय हो ।

तर,लगानीकर्ताले आफ्नो सेयर टुकुचामा फाल्ने कि धैर्य गरेर कमाउने आफै बिचार गर्ने कुरा हो ।


क्लिकमान्डु