विश्व रोजगार बजारमा अर्काे फड्कोः उत्कृष्ट विद्यार्थीलाई नेपाली कलेजबाटै जापानमा रोजगारी




काठमाडौं । ‘नेपालका विश्वविद्यालयमा पढ्दा प्रमाणपत्र पाइन्छ, जागिर पाइदैन’ भन्ने मान्यता तोडिन थालेको छ । नेपालका विश्वविद्यालयमा पढ्ने उत्कृष्ट विद्यार्थीले जापानमा रोजगारीको अवशर पाउने भएका छन् ।

जापानी कम्पनी ह्युमेन होल्डिङ्स अन्तरगतको कामदार आपूर्तिकर्ता कम्पनी ह्युमेन रिसोसिया कम्पनीले नेपालका विश्वविद्यालय र कलेजसँग सम्झौता गरी उत्कृष्ट नेपाली विद्यार्थीलाई जापानमा ‘हाइ स्कील्ड’ रोजगारी दिने प्रबन्ध गरेको छ ।

पहिलो चरणमा आइटी इन्जिनियरका लागि जापानमा रोजगारीको अबसर सिर्जना गर्न लागिएको ह्युमेन रिसोसियाका नेपाली समन्वयकर्ता कम्पनी एस एण्ड के कम्पनीका सन्तोष पौडेलले जानकारी दिए ।

‘जापानमा आइटी इन्जिनियरको कमी छ, यो अभाव पूरा गर्न जापानले ग्लोबल आइटी ट्यालेन्ट परियोजना नै संचालन गरेको छ, यो परियोजना अन्तरगत १ हजार जना विदेशी आइटी इन्जिनियरलाई जापानमा रोजगारीको अबसर प्राप्त भएकोले नेपाली आइटी इन्जिनियरलाई पनि सो अबसर प्रदान गर्न पहल गरिएको हो,’ पौडेलले क्लिकमाण्डूसँग भने ।

यो परियोजना अन्तरगत अहिले पनि जापानमा ३० भन्दा बढी देशका ३०० भन्दा बढी आइटी इन्जिनियरले रोजगारीको अबसर पाएका छन् । कम्पनीले सन् २०१९ देखि प्रत्येक बर्ष कम्तिमा ५० जना नेपाली आइटी इजिनियरलाई जापानमा रोजगारीको अबसर दिलाउने पहल थालेको छ ।

कसरी जान पाइन्छ ?
यसको लागि ह्युमेन रिसोसियाले नेपालका विश्वविद्यालय र कलेजहरुसँग सहमति पत्र (एमओयू) गर्दैछ । मंसिर ९ गते विहान नै इन्जिनियरिङ अध्ययन संस्थान (आइओइ) सँग एमओयू भइसकेको छ । यही महिनाभित्रमा नामी कलेज र नेपाल इन्जिनियरिङ कलेसँग पनि एमओयू गर्ने तयारी कम्पनीले गरेको छ ।

यसरी कलेज वा विश्वविद्यालयसँग एमओयू भइसकेपछि कम्पनीले रोजगार मेला आयोजना गर्नेछ । सो मेलामा सहभागी उत्कृष्ट विद्यार्थीले जापानमा रोजगारीको अबसर पाउने छन् ।

अहिले कम्पनीले आइओइमा मेला आयोजना गरिरहेको छ । सो मेलामा १०० भन्दा बढी नेपाली आइटी इन्जिनियर सहभागी भएका बताइएको छ ।

कति लाग्छ खर्च ?
विदेशमा रोजगारी भन्ने वित्तिकै कति पैसा तिर्नुपर्ने हो भन्ने प्रश्न पनि उठ्छ । तर, यस्तो प्रक्रियाबाट जापान जादा एक रुपैयाँ पनि पैसा तिर्नु पर्दैन ।

‘यो प्रक्रियाबाट जापान जानको लागि एक रुपैयाँ पनि पैसा लाग्दैन, जान आउन लाग्ने हवाइ टिकट रोजगारदाता कम्पनीले नै दिन्छ, नेपाली आइटी इन्जिनियरले जापानी इन्जिनियरको भन्दा बढी तलब पनि पाउँछन्, त्यसैले रोजगारीमा जानेले कसैलाई पनि पैसा दिनु पर्दैन, हामी पनि एक रुपैयाँ पनि पैसा लिदैनौं,’ नेपाली समन्वयकर्ता पौडेलले भने ।

थाहा छैन श्रम मन्त्रालयलाई
नेपाली नागरिकले जापानमा रोजगारी पाउने गरी अगाडि बढेको यो प्रक्रियाप्रति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय भने बेखबर छ । नेपाली नागरिकले विदेशमा रोजगारी पाउने सम्बन्धी ब्यवस्था भएकोले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय जानकार हुनुपर्ने हो कि होइन भन्ने विषयमा पनि सरोकारवाला अनविज्ञ नै छन् ।

‘तपाइले भनेपछि यो कुरा थाहा पाएँ, हामीलाई यो (नेपाली आइटी इन्जिनियरले जापानमा रोजगारी पाउने सम्बन्धी) विषयमा कुनै जानकारी छैन, प्रक्रिया अगाडि बढेर कार्यान्वयनको चरणमा पुगेपछि हामीलाई पनि थाहा होला र कसरी गर्ने भन्ने सन्दर्भमा धारणा बनाउन सकिएला,’ मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले क्लिकमाण्डूसँग भने ।

तर, विदेशमा रोजगारी पाउने सन्दर्भमा भने नेपाल सरकारले श्रम स्वीकृति दिनै पर्ने मन्त्रालयकै अर्का एक अधिकारीले बताए ।

‘नेपाली नागरिकले विदेशमा काम गर्ने हो भने नेपाल सरकारबाट श्रम स्वीकृति लिनु पर्छ, अरु नै भिषामा गएर काम गर्ने हो भने बेग्लै कुरा भयो, वर्किङ भिषा लिने हो भने त श्रम स्वीकृति नभइ कसरी भयो र ?’ मन्त्रालयकै अर्का एक अधिकारीले भने ।


क्लिकमान्डु