ब्याजदरको भद्र सहमतिमा बैंकर्स संघमा ठूला र साना बैंकबीच विवाद



काठमाडौं । नेपाल बैकर्स संघले पछिल्लो समयमा देखिएको ब्याजदरको उतारचढावको विषयमा बोलाएको बैठकमा भद्र सहमतिको विषयमा विवाद देखिएको छ ।

भद्र सहमतिले ठूला निक्षेपकर्ताले ठूला र पुराना बैंकमा मात्र निक्षेप लैजान थालेपछि बैकर्स संघमा विवाद देखिएको हो ।

संघको आजको बैठकमा २८ वटा वाणिज्य बैंकका प्रतिनिधि सहभागी थिए ।
‘भद्र सहमतिपछि एउटै ब्याजदरले प्रतिस्पर्धा भएन,जसले गर्दा संस्थागत निक्षेपकर्ताले नयाँ बैंकमा निक्षेप राख्न छाडे,यो व्यवस्था हटाउनु पर्यो,’मुख्य रुपमा सिभिल,सेन्चुरी लगायतका बैंकका प्रतिनिधिले संघको बैठकमा यो भनाई राखे ।

संस्थागत निक्षेपकर्ताको निक्षेप नविकरणको विषयमा भद्र सहमतिपछि जुन बैंकको निक्षेप नविकरण गर्नुपर्ने हो बोलपत्रमा उसले मात्र भाग लिन पाउनुपर्ने माग केही बैंकरले राखेका छन् ।

‘भद्र सहमति भएपनि जुन संस्थागत निक्षेपकर्ताको निक्षेप जुन बैंकमा सकिएको,बोलपत्रमा उसले मात्र माग लिनु पाउनुपर्छ,नभए हाम्रो निक्षेप सबै ठूला बैंकमा जाने भयो,’ संघको बैठकमा एक बैंकरले भने ।

खास गरेर नयाँ बैंकहरुलाई अहिले संस्थागत निक्षेपकर्ताले निक्षेप अवधी सकिएपछि ब्याज बढी नपाएपछि सो पैसा पुराना र ठूला बैंकमा लाने गरेका छन् ।
बैकर्स संघले निक्षेपको ब्याजदरमा भद्र सहमति गरेको थियो ।

जसमा बचतमा ७ प्रतिशत दिने र मुद्दती निक्षेपमा १० प्रतिशत ब्याजदर दिने सहमति भएको थियो ।

सहमतिले ठूला बैंकलाई मात्र हित गरेको आरोप केही बैंकरको रहेको छ ।
पछिल्लो समय सिभिल,प्राइम,सेन्चुरी लगायतका बैंकको कर्जा निक्षेप अनुपात ८० प्रतिशत नजिक पुगेको छ । सरकारी तथा पुराना केही बैंक बाहेक सबैको कर्जा निक्षेप अनुपात ७८ प्रतिशतभन्दा बढी छ ।


क्लिकमान्डु