‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण छिट्टै’



काठमाडौं । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले चिनियाँ राष्ट्रपति सि जिन फिङ छिट्टै नेपाल भ्रमणमा आउने बताए । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण नभएको लामो समय भएको भन्दै अब छिट्टै नेपाल आउने उनले जानकारी दिए ।

‘हाम्रो तर्फबाट (प्रधानमन्त्री र राष्ट्रपति) दुवैको तर्फबाट चिनियाँ राष्ट्रपति र उपराष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो गैसकेको छ, उहाँहरु छिट्टै नेपाल आउनुहुन्छ भन्ने हाम्रो विश्वास छ, र, आग्रह पनि छ,’ भट्टराईले भने ।

चीनसँग नेपालको सम्बन्ध प्रगाढ रहेको उनको भनाइ थियो ।

‘चीनसँग हामी हजारौं वर्षदेखि एउटै हिमालको दुई तिर बग्ने पानी पिएर हुर्केका छौं । चीनसँग अब यातायातको सञ्जाल जोडिन सक्ने स्थिति भएको छ । रेलको सञ्जालपनि जोडिन सक्ने अवस्था छ । अब दक्षिणतर्फ मात्रै होईन, उत्तरसँग पनि क्रस बोर्डर टा«न्समिशन लाईन (गल्छी–केरुङ) को लागि छलफल सुरु गरेका छौं,’ बिहीबार रिपोटर्स क्लबमा आयोजित कार्यक्रममा उनले भने– ‘यो भोलि किमाथांका र उत्तरतर्फको भु–भागमा बन्न सक्ने कुरा छ। हामी उत्तरतिर पनि कनेक्टिभीटीको सञ्जाल बढाउन खोज्दैछौं ।’

भारत र चीन दुवै मुलुक सम्पन्न मुलुक भएकोले अब नेपालले दुवै मुलुकसँग आफ्नो सम्बन्ध आर्थिक रुपमा केन्द्रित गर्नेपनि उनले जनाए ।

ईथोपिया, नाईजेरिया, रुवाण्डाको विकासपनि चीनसँग जोडिएको र ल्याटिन अमेरिकाको व्यापार अहिले सबैभन्दा बढी चीनसँग भएको पनि उनले सुनाए ।

सरकारले युरोप, अमेरिका, नर्थ अमेरिका र एशियन मुलुकसँगपनि उतिकै राम्रो सम्बन्ध बनाउने र प्राथमिकतामा राख्ने भट्टराईले विश्वास दिलाए ।

‘अहिले दुई वटा छिमेकी भए पुग्छ भन्ने खालको अभिव्यक्ति कता–कता आईरहेको छ । त्यस्तो होईन, हामीले सबैसँग मित्रवत सम्बन्ध राख्नुपर्छ । दुई वटा छिमेकीले मात्र पुग्दैन् । आफ्नो देशको हितमा फाईदा लिनेगरि नीतिहरु बनेका छन् । अब तीनलाई प्रभावकारी रुपमा लागु गर्छौं ।’ उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओली आगामी सन् २०१९ को जनवरी/फेब्रुअरीतिर महत्वपूर्ण भ्रमणमा जाने भट्टराईले जानकारी दिए ।

नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको संयुक्त प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै बुझ्ने उनले बताए ।

‘यसबारेमा हामी दुवै तर्फका सदस्यहरुबीच कुराकानी भैरहेको छ, हाम्रो तर्फका संयोजकले भारतीय संयोजकसँग कुराकानी गरिरहनुभएको छ । अब मोदीले छिट्टै प्रतिवेदन बुझ्नुहुन्छ तर अहिले मिति तोक्दैनौं,’ उनले भने ।

ईपीजीले नेपाल–भारत द्धिपक्षीय सम्बन्धका सन्धि, सम्झौतादेखि लिएर सबै पक्षको बारेमा पूनरावलोकन गरेको दाबी गरे । ईपीजीको यो दुई वर्षे कार्यकालमा ९ पटकसम्म बैठक बसेर विभिन्न आयामबारे छलफल गरेर तयार पारिएको प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीलाई पेश गर्ने निर्णय भएको उनले सुनाए ।

‘पहिले भारतीय प्रधानमन्त्री मोदीलाई बुझाउने भनेका छौं,’ भट्टराईले भने ।

ईपीजीको रिपोर्ट अत्यन्तै राम्रो बनेको र दुवै देशको हितमा रहेको पनि जिकिर गरे ।

नेपालबाट अन्य द्धन्द्धग्रस्त देशहरुले पनि सकारात्मक कुरा सिक्न सक्नेछन भनेर कुटनीतिक नियोगका प्रमुखहरुले भन्न गरेको पनि भट्टराईले सुनाए ।


पुष्प दुलाल