सरकारसँग देशकै ठूलो सिमेन्ट उद्योगका दुई गुनासा



नवलपरासी । नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी शिवम् सिमेन्टले उत्पादन शुरु गरेको ६ महिना भइसकेको छ । अहिले दैनिक ६ हजार टन अर्थात् १ लाख २० हजार बोरा सिमेन्ट उत्पादन गरिरहेको होङ्सी शिबम सिमेन्ट प्रालिका प्रवन्ध निर्देशक विपेङ लाईले बताए ।

हालसम्मकै सबैभन्दा प्रत्यक्ष बैदेशिक लगानीमा सञ्चालित यो उद्योगको कूल लगानी ३६ अर्ब रुपैयाँ छ । जसमा चिनियाँ होङ्सी ग्रुपको ७० प्रतिशत र नेपाली साझेदार शिवम ग्रुपको ३० प्रतिशत लगानी रहेको छ ।

निर्माण थालेको गररेको एक वर्षमै होङ्सीले उत्पादन शुरु गरेको हो । नवलपरासीको सर्दीबगैंचामा ८० हेक्टर क्षेत्रफलमा फैलिएको यो उद्योगले पहिलो चरणमा ६ हजार टन सिमेन्ट उत्पादन गरेपनि दोस्रो चरणमा १२ हजार टन उत्पादन गर्ने लक्ष्य छ ।

पूर्वपश्चिम राजमार्गबाट १२ किलोमिटर भित्र नवलपरासीको सर्दीबगैंचामा सिमेन्ट उत्पादनको प्लान्ट र प्लान्टबाट २८ किलोमिटर टाढा पाल्पाको ज्यामिरेमा खानी रहेको छ ।

उत्पादन स्थलसम्मका लागि विद्युत् र पहुँचमार्गको निर्माणमा समस्या देखिएको होङ्सी शिवम् सिमेन्टका प्रवन्ध निर्देशक लार्इृले जानकारी दिए ।

बायाँबाट क्रमशः होङसी सिमेन्ट उद्योग प्रालिका महाप्रबन्धक, प्रबन्ध निर्देशक र उपमहाप्रबन्धक

‘सरकारले सिमेन्ट उद्योगका लागि विद्युत् र पहुँचमार्गको निर्माण गरिदिने प्रतिवद्धता जनाएको थियो, हामीले सिमेन्ट उत्पादन थालेको ६ महिना भइसक्यो सरकारले आफ्नो प्रतिवद्धता पूरा गरेको छैन,’ लाइले भने, ‘जसकारण हामीले समस्या भोग्नु परेको छ ।’

आफूले गरेको प्रतिवद्धता तत्काल पूरा गर्न सरकारसँग उनले माग गरे ।

सरकारले सडक पनि नबनाइदिए पछि राजमार्गबाट प्लान्ट हुँदै खानीसम्म उद्योगले नै खर्च गरेर सडक बनाइसकेको छ । यो सडकलाई कालोपत्रे गरिदिन उनले माग गरे ।

‘हामी आफैंले ३६ करोड रुपैयाँ खर्च गरेर सडक निर्माण गरिसकेका छौं, अब सरकारले यो सडकलाई कालोपत्रे गरिदिए पुग्छ,’ उनले भने ।

उद्योगका लागि आवश्यक १ सय ३२ केभी प्रसारण बर्दघाटबाट ल्याउने काम पनि ढिला भएको छ । शुरुमा २८ महिनाभित्र उद्योगसम्म उद्योगलाई चाहिनेजति बिजुली दिने प्रतिवद्धता गरेपनि २४ महिनापछि आएर नेपाल विद्युत प्राधिकरणले अझै डेढ वर्ष लाग्ने बताएको उनले जानकारी दिए ।

अहिले उद्योगले ४० मेगावाट विजुली खपत गरिरहेको छ । सरकारले प्रतिवद्धताअनुसार विद्युत नपुर्याइदिँदा उद्योगले थर्मलप्लान्ट राख्नुपरेको छ । थर्मल प्लान्टका कारण उत्पादन लागत बढेको उनको गुनासो छ ।

उद्योगबाट निस्किने धुलोबाट पनि होङ्सीले १२ मेगावाट बिजुली उत्पादन गरिरकेको छ । धूलो र धुवाँ नियन्त्रण गरी त्यसबाट बिजुली उत्पादन गर्ने यो नेपालको पहिलो उद्योग भएको उनको दाबी छ ।

उद्योग बनाउँदा विस्थापित भएका २६ घरपरिवारलाई सर्दी बगैंचामा १२ आनाको पक्की घर बनाएर पुनस्थापना गरिसकेको छ ।

होङ्सीलाई लगानी बोर्डले ०७२ सालमा प्रत्यक्ष वैदेशिक लगानीको स्वीकृति दिएको थियो ।

‘हामीलाई सरकारले धेरै सहयोग गर्यो, जसकारण आजहामी उत्पादन गरिरहेका छौं,’ लाइले भने, ‘तर सरकारले हामीसँग गरेका दुईवटा प्रतिवद्धता पूरा नगरेको प्रति सरकारसँग हाम्रो गुनासो छ । र, यी दुई प्रतिवद्धता तत्काल पूरा गर्न हामी माग गर्दछौं ।’


पुष्प दुलाल