सेयर लगानीकर्तालाई सुझाब: कारोबार रणनीति परिवर्तन गर्नुहोस्



पुँजी बृद्धिको आदेशसँगै बजारमा थप तरलताको माग बढ्ने आँकलन गरियो । तथापी नेपाल राष्ट्र बैंकले यसलाई त्यति महत्व दिएन । किनभने जुन उद्देश्यका साथ यो नीति ल्याइएको थियो, त्यसको अगाडि यो कुनै समस्या थिएन ।

राष्ट्र बैंकको उद्देश्य देशमा बैंकहरुको संख्या घटाउने थियो । जसका लागि उसले पुँजी बृद्धिको नीतिलाई सुधारात्मक नीतिको रुपमा अपनायो । तर, बैंकहरुले २ अर्बको पुँजीलाई ८ अर्ब बनाउने उद्देश्यलाई चुनौतियुक्त अवसरका रुपमा लिएका थिए । फलतः प्राय सबैजसो बैंकहरु हकप्रद र बोनस सेयरको माध्यमबाट पुँजी बढाउने आक्रमणशील पथतर्फ अग्रसर भए । जसको प्रत्यक्ष प्रभावस्वरुप बजारमा भएका तरलता यसको प्रभावमा पर्न शुरु भयो ।

यतिबेला राष्ट्र बैंकले सीसीडी रेसियो ८० प्रतिशत कायम गर्यो । बैंकहरुले यसको सदुपयोग गरे । व्यापक रुपमा कर्जा लगानी गरे । तर यो सदुपयोग थियो वा विपरित, त्यो हेर्न केही समय पर्खनुको बिकल्प छैन ।

तरलता अभावको बहानामा अर्थतन्त्र नगद पम्प गर्नतिर नसोच्नुस् अर्थमन्त्रीज्यू । यो क्षणिक हो । यस्तै हालतमा बजार अर्थतन्त्र रहे जति पैसा खन्याएपनि पुग्दैन ।

तर यसको सीधा प्रभाव बजारमा पर्यो । जसले तरलता संकटतर्फ देशलाई उन्मुख गराउने त होइन भन्ने आशंका जन्माएको छ । यद्यपी तरलता संकटको कारक यो मात्र कदापि होइन ।

तथापी राष्ट्र बैंकले सीसीडी रेसियोमा केही कडाई गर्नु अहिलेको चुनौतियुक्त उपाय हुन सक्छ । जसले बेलगामको ऋण प्रवाहलाई मार्गनिर्देशित गर्नसक्छ । हुन त सीसीडी रेसियो खुकुलो पार्दा हालको तरलता अभाव सहज हुन्छ भन्ने तर्क आउँछ । तर त्यो क्षणिक हुन्छ ।

नियामकले दीर्घकालको लागि सोचेर कदम चाल्नु उपयुक्त हुन्छ । तरलता अभावको कारण आन्तरिक मात्र होइन, बाह्य कारण पनि छ । यो वर्ष अमेरिकी डलरको भाउ निकै माथि गयो । फलस्वरुप आयातमा निर्भर हाम्रो बजार अर्थतन्त्रबाट ठूलो हिस्सा संचित बिदेशी मुद्रा बाहिरियो । साथै यो वर्ष निर्यात पनि करिब २० प्रतिशतले बढेको देखिन्छ ।

लेखक पुडासैनी

हाम्रा अर्थमन्त्री उत्पादक र अनुत्पादकको रटना लगाइरहन्छन् । तर यस वर्षमात्र करिब २० देखि २५ अर्ब रुपैयाँ सवारी साधनको आयातको लगानीमा लागेको देखिन्छ । सायद राजश्व र करको मोहमा यसलाई उनले त्यति ध्यान नदिएको देखिन्छ । छापाहरुमा प्रायःजसो देखिने शीर्षकहरु मदिरा २ अर्बको आयात, पर्वका सामानहरु २ अर्बको आयात, गतवर्ष भन्दा २० प्रतिशतले बढी सवारी साधनको आयात, पेट्रोलियम पदार्थ आयातमा उल्लेख्य बृद्धि आदि । अर्थमन्त्रीज्यू यता पनि ध्यान दिने कि ?

तरलता अभावको बहानामा अर्थतन्त्र नगद पम्प गर्नतिर नसोच्नुस् अर्थमन्त्रीज्यू । यो क्षणिक हो । यस्तै हालतमा बजार अर्थतन्त्र रहे जति पैसा खन्याएपनि पुग्दैन । हुन त हाम्रो अर्थतन्त्रमा सबप्राइम ऋणको अनुपात कम छ । तर, यसलाई अहिलेबाट नै नियन्त्रण गर्नु होला । अन्यथा सबप्राइम ऋणले अर्थतन्त्रलाई धमिराले जस्तै भित्रभित्रै सखाप पार्न बेर लाग्दैन ।

उत्पादनको क्षेत्रमा कहीँकतै आशा गर्ने खालका तथ्याङ्कहरु अहिलेसम्म आएका छैनन् । निर्यातका तथ्याङ्कमा केही सुधारका संकेत छैनन् । रेमिट्यान्स आप्रवाहमा पनि उल्लेखनीय सुधार छैन । आएकोमा पनि करिब ८० प्रतिशतभन्दा बढी उपभोग्य सामानहरु जुन आयातमा निर्भर छन्, त्यसमा नै खर्च भइरहेको छ । यसस्तो अवस्थामा पुँजीबजारमा मनोबैज्ञानिक र आशंकागत शंसयको बादल मडारिनु स्वभाविक हो ।

सेयर बजार अर्थतन्त्रको ऐना हो, प्रतिबिम्ब त्यस्तो देखिन्छ, जस्तो बस्तु वा अवस्था हुन्छ । तसर्थः अर्थतन्त्रलाई ध्यानमा राखेर आफ्नो कारोबार रणनीति परिवर्तन गर्नु उपयुक्त हुन्छ ।

हाम्रो अर्थतन्त्र उठ्नै नसक्ने गरि थलिएको छैन । तर, स्वभावगत रुपमा पुँजीबजारमा बास्तविकता भन्दा सयौं गुणा हौवाहरु हाबी हुन्छन् । जसको असर यसको सेयरका मूल्यहरुमा पर्छन् । यो रोग प्रायः सबै देशका पुँजीबजारका आम लगानीकर्ताहरुमा व्याप्त छ । यो र यस्ता समयमा तत सेयरका जोखिमसँगै अर्थतन्त्रको प्रभावको असरको मार कुन सेयरमा कति छिटो वा ढिलो पर्छ भन्ने अनुमानको आधारमा कारोबार गर्नु राम्रो हुन्छ ।

१८८२ अंकसम्म पुगेको नेप्से परिसूचक आजसम्म आइपुग्दा १२२८ को हाराहारीसम्म पुग्ने गरी घटेको छ । विगत २–४ वर्ष यताको मात्र हिसाब गर्ने हो भने सेयर मूल्यको अनुपातमा लागत यही अनुपातले बढेको देखिन्छ । यसको ध्यान धेरै कम लगानीकर्ताहरुले मात्र गरेको पाइन्छ । यी सबै कुराहरु बुझ्ने हो भने लगानीकर्ताहरु अझ धेरै प्यानिक हुने स्थितिमा पुग्छन् ।

तसर्थः यसतर्फ धेरै कुरा नगरौं ।

आम लगानीकर्ताहरु आफ्नो परल मूल्यको पर्खाइमा सेयर बजारका परिसूचकहरुमा आँखा सोझ्याइरहेका फाइन्छन् । तर, त्यो बीचमा बजारमा धेरै उतार चढाव भएको हुन्छ । जसको फाइदा धेरै कम लगानीकर्ताहरुले मात्र लिन सकेको देखिन्छ । यस्तो अवस्थामा प्राविधिक तथा आधारभूत विश्लेषणको सहयोगले थप लगानी गर्दै छोटो छोटो अंकको बीचमा खरिद गर्नु पर्ने हुन्छ ।

स्मरण रहोस्, आफ्नो जोखिम बहन गर्न सक्ने क्षमताको आधारमा राफराफ मूल्यको निर्धारण स्वयम् आफैँले गरेर उक्त मूल्यमा कुनैपनि हालतमा राफसाफ गराउने प्रयास गर्नु पर्छ ।

पुँजीबजारको एकमात्र मन्त्र भनेको कम मूल्यमा किन्नु र बढी मूल्यमा बेच्नु हो । तर प्रायः लगानीकर्ताहरु अहिलेको अवस्थामा पनि १८००/२००० को सूचकको कल्पनामा आफ्ना सेयरहरुलाई आराम गराइरहेका छन् । सूचक त्यहाँसम्म कहिले पुग्छ, अहिले नै भन्न सकिन्न । आजको अवस्थामा भन्ने हो भने त्यो अपेक्षा साकार हुन २-४ वर्ष पर्खनु पर्ने हुनसक्छ (चमत्कारिक परिवर्तनलाई मध्यनजर नगर्ने हो भने मात्र) ।

तसर्थः आ-आफ्ना सेयरहरुलाई काममा नलगाउनु होस्, आराम नगराउनु होस्, २००० सूचकको दिवा सपनामा । यसको साथै ट्रेडिङ टर्मिनलको माध्यमद्वारा कारोबार हुने आशामा पनि सेयरको मूल्य बढ्ने आँकलन लगानीकर्ताहरु गर्दछन् ।

तर हाल नेप्सेले शुरु गर्ने भनिएको ट्रेडिङ टर्मिनल हालको फोन वा फिल्ड कारोबार भन्दा भिन्न छैन । बैंकिङ सिस्टमसँग यो जोडिएको छैन । त्यसकारण खरिद गरेको सेयरको भुक्तानी वा आफूले बेचेको सेयरको रकम लिन स्वयम् ब्रोकरकोमा जानु पर्ने स्थिति यथावत छ ।

अझैपनि टी प्लस थ्री सिस्टम जस्ताको त्यस्तै छ । दैनिक वा तत्काल राफसाफ गर्न सकिने सुबिधा छैन । फगत कारोबार गर्ने तरिका मात्र परिवर्तन भएको छ । अतः सेयर बजार अर्थतन्त्रको ऐना हो, प्रतिबिम्ब त्यस्तो देखिन्छ, जस्तो बस्तु वा अवस्था हुन्छ । तसर्थः अर्थतन्त्रलाई ध्यानमा राखेर आफ्नो कारोबार रणनीति परिवर्तन गर्नु उपयुक्त हुन्छ ।

लेखक पुडासैनी पुँजीबजार सम्बन्धी जानकार हुन् ।


पुष्प दुलाल