राष्ट्र बैंकको कारबाहीबाट बच्न बैंकहरुले राष्ट्रिय वाणिज्य बैंकलाई कर्जा बेच्न थाले



काठमाडौं । कर्जा–पुँजी निक्षेप अनुपात (सीसीडी रेसियो) टाइट भएपछि केही बैंकहरुले आफूसँग भएको असल कर्जा बिक्री गर्न थालेका छन् ।
तरलता अभावको चरम चापमा परेका केही बैंकले अल्पकालीन अवधिका लागि आफ्नो कर्जा किनिदिन राष्ट्रिय वाणिज्य बैंकलाई प्रस्ताब गरेका छन् ।

अहिले आधा दर्जन वाणिज्य बैंकहरुको सीसीडी रेसियो राष्ट्र बैंकले तोकेको अधिकतम सीमा अर्थात् ८० प्रतिशत पुगिसकेको छ । ८० प्रतिशतमाथि सीसीडी रेसियो पुगेका बैंकलाई नियामक राष्ट्र बैंकले कारबाही गर्छ ।

राष्ट्र बैंकको कारबाहीबाट बच्न सीसीडी टाइट भएका बैंकले आफूसँग भएको असल कर्जा बेच्न लागेका हुन् । अल्पकालका लागि कर्जा बेचेर सीसीडी रेसियो मिलान गर्ने ती बैंकको रणनीति छ ।

पूर्णसरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकसँग अहिले पनि पर्याप्त तरलता छ । बैंकका डेपुटी सीइओ कबिराज अधिकारीका अनुसार अहिले पनि वाणिज्य बैंकको सीडी रेसियो ७० प्रतिशत मात्रै छ । त्यसमा पुँजी पनि जोडेर सीसीडीमा गणना गर्ने हो भने अझै १ प्रतिशत जति कम हुन्छ ।

बैंकले हाल १ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको छ ।

‘हामीसँग अहिले पनि लगानी योग्य पुँजी (तरलता) पर्याप्त छ,’ डेपुटी सीइओ अधिकारीले क्लिकमाण्डूसँग भने, ‘केही निजी बैंकहरुले हामीलाई कर्जा किनिदिन आग्रह गर्दै प्रस्ताब पठाउनु भएको छ ।’

उक्त प्रस्ताबमाथि बैंक व्यवस्थापनले अहिले छलफल गरिरहेको उनले सुनाए ।

‘अहिले त प्रस्ताब मात्रै आएको हो, हामी थप अध्ययन गरेर कर्जा किन्ने वा नकिन्ने निर्णयमा पुग्छौं,’ उनले भने, ‘दुई÷तीन वटा बैंकले एक÷डेढ अर्ब रुपैयाँका दरले कर्जा किनिदिन प्रस्ताब गरेका छन् ।’

सामान्यतया ४५ दिनदेखि ९० दिनका लागि कर्जा किन्ने चलन रहेको अधिकारीले जानकारी दिए । बैंकिङ प्रणालीमा तरलता टाइट भएपछि वाणिज्य बैंकमा यस्तो प्रस्ताब आउने गरेको उनले सुनाए ।

गत असार मसान्तयताको तीन महिनामा वाणिज्य बैंकहरुले ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३३ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन् । निक्षेप संकलन र कर्जा प्रबाहबीच सन्तुलन नमिल्दा धेरै बैंकसँग थप ऋण दिने पैसा छैन ।

वितेका वर्षहरुमा मंसिर पुसदेखि यस्तो समस्या देखिने गरेको भए पनि यो वर्ष भदौदेखि नै क्रेडिट क्रञ्चको समस्या देखिएको छ ।

‘बैंकहरुले आफ्नो ग्रोथमा मात्रै ध्यान दिएर आक्रमकरुपमा कर्जा विस्तार गर्दा क्रेडिट क्रञ्चको समस्या आएको हो,’ लक्ष्मी बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले क्लिकमाण्डूसँग भने ।

राष्ट्र बैंकले एक बैंकको कर्जा अर्को बैंकले किन्न सक्ने कानूनी व्यवस्था गरिदिएको छ । सोही ब्यवस्था अन्तर्गत रहेर बैंकहरुले आफूँग भएको असल कर्जा वाणिज्य बैंकलाई बेच्न लागेका हुन् ।


पुष्प दुलाल