एभरेष्ट र लक्ष्मी बैंकबीच स्वाप रेसियो विवादः ६० र ३५ मा आ-आफ्नै अडान, यसरी हुनसक्छ मिलन



काठमाडौं । सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) विवादका कारण एभरेष्ट बैंक र लक्ष्मी बैंकको मर्जर प्रक्रिया अघि बढ्न सकेको छैन ।
भ्यालुएटरले अन्तिम प्रतिवेदन बुझाए पनि दुई बैंकका लगानीकर्ताबीच स्वाप रेसियोमा कुरा नमिल्दा मर्जर प्रक्रिया अघि बढ्न नसकेको हो ।
झन्डै दुई महिनाअघि नै भ्यालुटएर कम्पनी इएनवाइले रायसहितको अन्तिम प्रतिवेदन बुझाएको थियो । इएनवाइले दुई वटा मोडालिटीमा प्रतिवेदन तयार पारेको थियो ।

राष्ट्र बैंकको मापदण्ड र अन्तराष्ट्रिय मापदण्ड गरी इएनवाइले दुईवटा स्वाप रेसियोको बिकल्प दिएको थियो ।

इएनवाइले बुझाएको प्रतिवेदन अनुसार राष्ट्र बैंकको मापदण्डअनुसार मर्जरपछि लक्ष्मी बैंकको १०० कित्ता बराबरको सेयर ६० कित्ता हुनेछ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार भने लक्ष्मी बैंकको १०० कित्ता सेयर ३५ कित्ता मात्रै हुनेछ ।

‘लक्ष्मी बैंकका लगानीकर्ताहरु ६० को अडानमा छन् भने एभरेष्ट बैंकका लगानीकर्ता ३५ को अडानमा छन्, जसकारण मर्जर प्रक्रिया अघि बढ्न नसकेको हो,’ स्रोतले भन्यो ।

नेपाल राष्ट्र बैंकबाट लाइसेन्स लिएपछि राष्ट्र बैंककै मापदण्ड अनुसार स्वाप रेसियो निर्धारण गर्नुपर्ने लक्ष्मी बैंकका लगानीकर्ताहरुको अडान छ ।

भारतीय बैंक पञ्जाब नेशनल बैंकको २० प्रतिशत लगानी रहेको एभरेष्ट बैंकका लगानीकर्ताले भने अन्तराष्ट्रिय मापदण्ड अनुसार स्वाप रेसियो निर्धारण गर्नुपर्ने अ डान राखेका छन् ।

राष्ट्र बैंकको मापदण्ड अनुसार मर्जमा जाँदा लक्ष्मी बैंकका लगानीकर्तालाई फाइदा हुन्छ भने अन्तर्राष्ट्रिय मापदण्ड अनुसार मर्जर भए एभरेष्ट बैंकका लगानीकर्तालाई फाइदा पुग्छ ।

दुबैं बैंकका मुख्य लगानीकर्ताहरुले आ–आफ्नो फाइदालाई मात्रै केन्द्रबिन्दूमा राखेर अडान लिएकाले मर्जर प्रक्रिया तार्किक निष्कर्शमा पुग्न नसकेको हो ।

‘अब दुबै पक्षले आ–आफ्नो अडानबाट केही पछि हटेर सहमतिमा नआएसम्म मर्जर हुँदैन,’ स्रोले भन्यो, ‘लक्ष्मी बैंकका लगानीकर्ताले पनि राष्ट्र बैंकको मापदण्ड भन्दै ६० रुपैयाँमा अडान राख्नु भएन र एभरेष्ट बैंकका लगानीकर्ताले पनि अन्तर्राष्ट्रिय मापदण्ड भन्दै कौडीको भाउमा अडान राख्नु भएन ।’

एभरेष्ट बैंक र लक्ष्मी बैंकको मर्जरको चर्चा अढाई वर्षदेखि चलेको हो । गत साउन पहिलो साता नै मर्जरमा गएको घोषणा गर्ने तयारी गरेपनि भ्यालुएटरको अन्तिम प्रतिवेदनपछि आआफ्नै अडान राख्दा अहिलेसम्म मर्जरको टुंगो लाग्न सकेको छैन ।

नेपाल राष्ट्र बैंकका गभर्नरले एभरेष्ट र लक्ष्मी बैंककाक मूख्य लगानीकर्तालाई बोलाएर मर्जरमा जान दबाब दिइरहेका छन् । गभर्नरले मर्जर प्रक्रिया तत्काल नटुंग्याए कारबाही गर्ने चेतावनी समेत दिएका थिए ।

मर्जरको हल्ला चलाएर सेयर बजारमा चलखेल गरेको भन्दै राष्ट्र बैंकका गतिविधिलाई दुबै बैंकलाई नजिकबाट नियालिरहेको प्रवक्ता नारायण पौडेलले जानकारी दिए ।

‘मर्जरको नाममा सेयर बजारमा खेलबाड भयो भन्ने गुनासोहरु पनि आइरहेका छन्, हामीले दुबैं बैंकलाई शुक्ष्म रुपमा नियालिरहेका छौं,’ पौडेलले क्लिकमाण्डूसँग भने ।

राष्ट्र बैंकको मापदण्ड अनुसार स्वाप रेसियो निर्धारण गर्दा लक्ष्मी बैंकले ६० पाउने भएपछि एभरेष्ट बैंकका लगानीकर्ताले ०७५ असार मसान्तको वित्तीय प्रतिवेदनलाई पनि समेटेर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार भ्यालुएसन गर्नुपर्ने शर्त राखेको थियो ।

एभरेष्ट बैंकको शर्तपछि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार जाँदा स्वाप रेसियो कति हुने भनेर भ्यालुएटरले निकालेको थियो । त्यसो गर्दा एभरेष्टको तुलनामा लक्ष्मी बैंकको सेयरको मूल्य निकै कम देखियो । लक्ष्मीको मूल्य कम देखिएपछि एभरेष्टका लगानीकर्ताहरुले अन्तर्राष्ट्रिय मापदण्डअनुसार मर्जमा जानु पर्ने अडान राखेका हुन् ।

दशैंअघि मात्रै लक्ष्मी बैंकका मूख्य लगानीकर्ता राजेन्द्र खेतान र एभरेष्ट बैंकका मूख्य लगानीकर्ता बिके श्रेष्ठबीच छलफल भएको थियो । तर, दुबैले आआफ्नो अडान नछाडेपछि कुरा नमिलेको हो ।

‘एभरेष्ट बैंकका सञ्चालकहरुले एकपछि अर्को गर्दै शर्तमाति शर्त थप्दै गए, हामी मान्दै गयौं, अहिले आएर अन्तराष्ट्रिय मापदण्डको अडान लिइरहेका छन्, जुन हामीलाई मान्य हुँदैन,’ लक्ष्मी बैंकका एक सञ्चालकले भने, ‘नेपालभित्र काम गर्ने भएपछि राष्ट्र बैंकको मापदण्ड अनुसार काम गर्नुपर्छ मान्नुपर्छ भन्ने हाम्रो अडान हो ।’

यो बिन्दूमा हुनसक्छ मिलन

दुबैं बैंकका सञ्चालकहरु मर्जर चाहन्छन् । मर्जरमा गएर ठूलो बैंक बनेको खण्डमा मात्रै बजारमा खरो प्रतिस्पर्धामा उत्रिन सक्ने उनीहरुको बुझाइ छ ।

तर, उनीहरुले आफ्नो सम्पत्तिको मूल्यांकन बढी गरेर त्यसैमा अडान लिइरहेका छन् ।

पहिलो कुरा राष्ट्र बैंकले दुबैं बैंकका सञ्चालकलाई बोलाएर राष्ट्र बैंकको मापदण्ड अनुसार भ्यालुएटरको प्रतिवेदन जे छ त्यसैअनुसार मर्जरमा जान तीब्र दबाब दियो भने मर्जर संभव छ ।

दोस्रो, दुबैं बैंकका सञ्चालकहरु आआफ्नो अडानबाट केही लचिलो भएर अघि बढ्ने हो भने पनि मर्जर संभव छ । ६० बाट घटेर लक्ष्मी बैंकका लगानीकर्ताहरु ४५ मा झर्ने र ३५ बाट एभरेष्ट बैंकका लगानीकर्ताहरु बढेर ४५ मा पुग्ने हो भने मर्जर असंभव भने छैन ।

तर, उनीहरु कसरी अघि बढ्छन्, त्यो भने हेर्न बाँकी नै छ ।

मर्जरमा एभरेष्ट बैंकको असफल इतिहास

नेपालमा मर्जरसम्बन्धी नीति आउनुभन्दा पहिला एभरेष्ट र इन्भेष्टमेन्ट बैंकबीच मर्ज हुने विषयमा केही छलफल चलेको थियो । तर, इन्भेष्टमेन्ट बैंकका कर्मचारीले मर्जरमा जान नहुने भन्दै विरोध गरेपछि त्यो प्रयास तुहिएको थियो ।

त्यसपछि राष्ट्र बैंकबाट मर्जरको नीति आयो । मर्जरको नीति आएपछि एभरेष्टले तत्कालीन किष्ट बैंकसँग मर्जरको छलफल गर्यो । तर प्रारम्भिक छलफलमै स्वाप रेसियोमा कुरा नमिलेपछि थप प्रक्रिया नै अघि बढेन ।

किष्टपछि एभरेष्टले कुमारी बैंकसँग मर्जरको छलफल गर्यो । त्यो पनि सफल भएन । अहिले लक्ष्मीसँग मर्जरको छलफल भइरहेको छ । यो सफल हुन्छ वा हुँदैन त्यो भने हेर्न बाँकी नै छ ।


पुष्प दुलाल