१ सय ८५ नगरपालिकाले कसरी बनाउँदैछन् एकीकृत शहरी विकास योजना ?
काठमाण्डौ । नेपाल सरकार शहरी विकास मन्त्रालयले देशका १ सय ८५ नगरपालिकामा एकीकृत शहरी विकास योजना निर्माण गरिरहेको छ ।
हाम्रो देश पछिल्लो समय संघीयतामा गएको छ, स्थानीय निकाय स्थानीय तहमा परिणत भएपछि गाउँ विकास समिति गाउँपालिका भएका छन् । जिल्ला विकास समिति जिल्ला समन्वय समिति भएको छ ।
संघीय सरकार केन्द्रीय सरकारका रुपमा छ भने सातै वटा प्रदेशमा प्रदेश सरकार क्रियाशील रहेका छन् । देश नयाँ संरचनामा गएकोले प्रदेश सरकार र स्थानीय सरकार अलमलमा छन् ।
नेपाल सरकारले नयाँ संरचनासँगै विगतमा गाविसलाई जोडेर नगरपालिका बनाएको छ । नयाँ घोषणा भएका नगरपालिकाले के कसरी काम गर्ने, कस्ता योजना बनाउने भन्ने कुरा समेत अलमल छ ।
हुन् स्थानीय तहमा अझै भनौं नगरपालिकाहरुमा निर्वाचनको माध्यमबाट जनप्रतिनिधि निर्वाचित भएर आएको पनि डेढ वर्ष भएको छ । तरपनि अहिलेसम्म कामको गति देख्न पाइएको छ ।
यो के कारणले हो त ? पक्कापनि नगरपालिकासँग ठोस योजना छैन । जसले गर्दा बजेट के मा कसरी खर्च गर्ने भन्ने कुरा अलमल भएको छ ।
यही कुरालाई मध्यनजर गर्दैै शहरी विकास मन्त्रालयले नयाँ १ सय ८५ नगरपालिकामा एकीकृत शहरी योजना निर्माणका लागि परियोजना सञ्चालन गरेको छ ।
के कसरी हुँदैछ परियोजनाको काम ?
एकीकृत शहरी विकास योजना अन्तरगत नयाँ गठन भएका नगरपालिकाहरुको भौतिक पूर्वाधार, सामाजिक\आर्थिक अवस्थाहरुको विस्तृत अध्ययन गरी सो को प्राविधिक अध्ययन अनुसन्धान गरी आगामी २० वर्षको लक्ष्य तयार गर्ने काम हुनेछ ।
त्यसैगरी ती क्षेत्रमा सर्वाधिक आवश्यक पर्ने पूर्वाधारहरुको आँकलन गरी कुनै २ वटा ठूला पूर्वाधारहरुको विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) समेत तयार हुने शहरी विकास मन्त्रालयले जनाएको छ ।
नेपाल सरकारको आर्थिक वर्ष २०७४\०७५ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार ८० करोडको लागतमा सो परियोजना सञ्चालन भइरहेको छ ।
पहिलो चरणमा ९० वटा नगरपालिकाहरुको कार्य सम्पन्न भएपछि दोश्रो चरणमा ९५ वटा नगरपालिकामा काम हुनेछ । पहिलो चरणमा ५ वटा प्याकेज र दोश्रो चरणमा ७ वटा प्याकेज १२ वटा प्याकेजमा एकीकृत शहरी विकास योजना निर्माण हुने मन्त्रालयले जनाएको छ ।
कसरी बनाइदैछ एकीकृत शहरी विकास योजना ?
१ सय ८५ वटा नगरपालिका मध्ये १४ वटा नगरपालिकामा एकीकृत शहरी विकास योजना निर्माणमा सहयोग गर्दै आएको इआरएमसी\एनइएसटी \जीइओसीओएम इन्टरनेशनलकाका टोली उपनेता वीके महर्जनका अनुसार परियोजना अन्तरगत पहिलो चरणमा नगरपालिकाहरुको वडा स्तरमा समस्या के छ, कहाँ के संभावना छ, विशेषताहरु के के छन् ? भन्ने बारेमा छलफल गरिन्छ ।
त्यसपछि भिजन वर्कसप गरिन्छ । जहाँ वडाका लब्धप्रतिष्ठित व्यक्तिहरु र विज्ञहरु समेतको सहभागिता हुन्छ । यो भिजन वर्कसपबाट समग्र आर्थिक विकासको लागि के–के कुरामा लगानी गर्ने, कस्ता आयोजना निर्माण गर्ने भन्ने बारेमा खाका निर्माण गरिने छ ।
तेश्रो चरणमा भने नगरपालिकाको बहुक्षेत्रगत लगानी खाका तयार गरिने छ । ५ वर्ष भित्र के गर्ने, १० वर्ष भित्र के गर्ने र २० वर्ष भित्र नगरलाई कस्तो बनाउने भन्ने कुरा सो खाकामा समेटिने छ ।
सो खाका अनुसार योजना बनाइदिने सम्मको काम परियोजनाले गर्ने टोली उपनेता महर्जनले बताए ।
एकीकृत शहरी विकास योजना निर्माण कै क्रममा भूउपयोग नक्सा निर्माण गरिनेछ । नगर क्षेत्र भित्र कृषि योग्य जमिन, औद्योगिक क्षेत्र, वन क्षेत्र, आवास क्षेत्र, व्यवसायिक क्षेत्र कहाँ कहाँ विकास गर्ने भन्ने सो नक्सामा उल्लेख गरिन्छ ।
आवास क्षेत्रमा बनाइने घरको मापदण्ड कस्तो हुने ? कति सडक छोड्ने, खुला क्षेत्र कहाँ कति राख्ने भन्ने कुराको विस्तृत योजना निर्माण गरी खाका तयार गरिने छ–महर्जनले बताए ।
एकीकृत शहरी विकास योजना निर्माण कै क्रममा ३० करोड माथिका २ ठूला योजनाको डीपीआरपनि निर्माण गरिनेछ । जसले गर्दा नयाँ नगरपालिकाहरुलाई ठूलो योजना के बनाउने भन्ने कुरामा द्विविधा रहँदैन–उनले भने ।