एभरेष्ट र लक्ष्मी बैंकको मर्जर भाँडिने खतरा ! यस्तो छ कारण



काठमाडौं । दुई वर्षदेखि प्रक्रियामा रहेको एभरेष्ट बैंक र लक्ष्मी बैंकको मर्जर अन्तिम समयमा आएर भाँडिने खतरा बढेको छ । सेयर आदान–प्रदान अनुपात (स्वाप रेसियो)मा कुरा नमिलेपछि मर्जर भाँडिने खतरा बढेको हो ।

अन्तिम समयमा आएर एभरेष्ट बैंकका सञ्चालकहरु (खासगरी बिके श्रेष्ठ)ले होच्याएर मूल्यांकन गरेको भन्दै लक्ष्मी बैंकका सञ्चालक तथा ठूला लगानीकर्ताहरु (खासगरी राजेन्द्र खेतान)ले ठूलो असन्तुष्टि जनाएसँगै मर्जर प्रक्रिया अवरुद्ध हुने संभावना बढेर गएको हो ।

एभरेष्ट बैंककै आग्रहमा छनोट गरिएको भारतीय कम्पनी इएनवाइले तयार पारेको प्रारम्भिक प्रतिवेदन भन्दा बैंकका लगानीकर्ताले निकै फरक राय राखेका छन् ।

स्वतन्त्र भ्यालुएटर इएनवाइले एभरेष्ट बैंकको ५० कित्ता बराबर लक्ष्मी बैंकको १०० कित्ता सेयर हुने प्रतिवेदन तयार पारेको थियो । बैंकका समग्र वित्तीय सूचकहरुलाई हेरेर सेयर आदान प्रदान अनुपात (स्वाप रसियो) को उक्त फिगर तयार पारेको थियो ।

स्वतन्त्र भ्यालुएटरको उक्त प्रारम्भिक प्रतिवेदनमा दुबैं बैंकका सञ्चालक तथा लगानीकर्ताहरुले आ–आफ्नो राय दिएका थिए । लक्ष्मी बैंकका सञ्चालकहरुले लक्ष्मीको १०० कित्ता सेयर बराबर एभरेष्टको ५५ कित्ता सेयर पाउनुपर्ने सुझाब दिएका थिए ।

तर, एभरेष्ट बैंकका सञ्चालकहरुले भने लक्ष्मी बैंकको १०० कित्ता बराबर एभरेष्ट बैंकको ३५ कित्ता हुनुपर्ने सुझाब दिएका थिए । लक्ष्मीको भन्दा एभरेष्टको गुडविल धेरै माथि रहेको भन्दै भ्यालुएसन गर्दा गुडविलको पनि भ्यालु राखिनुपर्ने उनीहरुको तर्क छ ।

स्वतन्त्र भ्यालुएटर इएनवाइले दुबै बैंकका सञ्चालक तथा ठूला लगानीकर्ताहरुको रायसहितको प्रतिवेदन तयार पारेको छ ।

तर, एभरेष्ट बैंकले होच्याएर मूल्यांकन गरेको भन्दै लक्ष्मी बैंकका लगानीकर्ताहरु आक्रोशित भएका छन् ।

‘एभरेष्ट बैंकका सञ्चालकहरुले लक्ष्मीको १०० कित्ता बराबर एभरेष्टको ३५ कित्ता हुनुपर्ने जुन राय दिएका छन्, यो भनेको मर्जरमा नजानका लागि हालिएको भाँजो हो,’ लक्ष्मी बैंकका एक सञ्चालकले भने, ‘यसमा मर्ज हुनसक्नै संभावना नै छैन ।’

तर, लक्ष्मी बैंकका ठूला लगानीकर्ता राजेन्द्र खेतान र एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठबीच भने स्वाप रेसियोमा बार्गेनिङ भइरहेको छ । खेतान केही लचिलो भए पनि श्रेष्ठले अडान छाडेका छैनन् ।

‘लक्ष्मीको १०० कित्ता बराबर एभरेष्टको ५० कित्ता गर्ने हो भने खेतान मर्जरमा जान तयार छन्,’ स्रोतले भन्यो, ‘तर, एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठ ३५ भन्दा बढी दिन तयार देखिएनन् ।’

लक्ष्मी बैंकका तर्फबाट मर्जर प्रक्रिया टुंग्याइएको थियो । तर, एभरेष्ट बैंकले एकपछि अर्को गर्दै शर्तमाथि शर्त थप्न थालेपछि मर्जरमा समस्या उत्पन्न हुने देखिएको हो ।

०७५ असार मसान्तसम्ममा मर्जरको प्रक्रिया टुंगोमा लगाउने गरी काम गरिरहेका थिए । असार तेस्रो साता इएनवाइले प्रतिवेदन पनि बुझाएको थियो ।

तर, एभरेष्ट बैंकका सञ्चालक अरुले आर्थिक वर्ष २०७४/७५ सकिन केही दिनमात्रै बाँकी रहेको र साउनभरीमा वित्तीय विवरण अउने भएको बताउँदै उक्त आर्थिक वषर्को वित्तीय विवरण हेरेर भ्यालुएटरले मूल्यांकन प्रतिवेदन तयार पार्नुपर्ने सुझाब दिए । एभरेष्ट बैंकका सञ्चालकहरुले उक्त सुझाब लक्ष्मी बैंकका सञ्चालकहरुले माने ।

भ्यालुएटरले आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरणको पनि अध्ययन गरेर मूल्यांकन गरिसकेको छ ।

‘हामीले एभरेष्ट बैंकले राखेका सबै शर्तहरु पूरा गर्यौं,’ लक्ष्मी बैंकका एक सञ्चालकले भने, ‘तर, उहाँ (एभरेष्ट बैंकका सञ्चालक) हरुको इन्टेन्शन शर्तमाति शर्त थप्दै जाने र अर्काको सम्पत्तिको कौडीको भाउमा लिने देखियो ।’

मर्जरको तगारो बन्दै भारतीय

एभरेष्ट बैंकमा २० प्रतिशत स्वामित्व रहेको भारतीय पञ्जाब नेशनल बैंकको छ । २० प्रतिशत सेयर लिएर पञ्जाब नेशनल बैंकले एभरेष्ट बैंकमा सञ्चालक र व्यवस्थापक दुबै पठाएको छ ।

बैंकका अध्यक्ष रहेका बिके श्रेष्ठ अलि सस्तोमा पाए मर्ज गरेर आफ्नो बैंकलाई ठूलो बनाउन चाहन्छन् । उता लक्ष्मी बैंकका मूद्यय लगानीकर्ता राजेन्द्र खेतान पनि धेरै कुरामा कम्प्रमाइज गरेरै भएपनि मर्ज गरेर बैंकलाई ठूलो बनाउन चाहन्छन् ।

तर, पञ्जाब नेशनल बैंकबाट एभरेष्टमा प्रतिनिधित्व गर्नेहरु पनि मर्ज गर्न नहुने पक्षमा रहेको एभरेष्ट बैंकका एक सञ्चालकले जानकारी दिए ।

‘बिके सर त पोजेटिभ नै हुनुहुन्छ, तर पञ्जाब बैंकका तर्फबाट आएका प्रतिनिधिहरुले मर्जरमा सकरात्मक भूमिका खेलिरहेका छैनन्,’ ती सञ्चालकले भने, ‘बिके सर ९१ वर्षको भइसक्नु भयो, एक्लै बोल्ड डिसिजन गर्ने पहिलेजस्तो हिम्मत छैन उहाँमा ।’

तत्काल प्रक्रिया नटुङ्ग्याए कारबाही

राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले केही महिना अघि नै दुबै बैंकका मूख्य लगानीकर्तालाई बोलाएर मर्जर पक्रिया तत्काल टुंगोमा पुर्याउन निर्देशन दिइसकेका छन् । मर्जरको हल्ला चलाएर सेयर बजारमा खेलबाड गरेको आशंका गर्दै गभर्नरले यस्तो निर्देशन दिएका हुन् ।
‘गभर्नरले तत्काल मर्जरको प्रक्रिया टुंगो नलगाए कारबाही नै गर्ने चेतावनी दिनुभएको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो ।

मर्जरमा एभरेष्ट बैंकको असफल इतिहास

नेपालमा मर्जरसम्बन्धी नीति आउनुभन्दा पहिला एभरेष्ट र इन्भेष्टमेन्ट बैंकबीच मर्ज हुने विषयमा केही छलफल चलेको थियो । तर, इन्भेष्टमेन्ट बैंकका कर्मचारीले मर्जरमा जान नहुने भन्दै विरोध गरेपछि त्यो प्रयास तुहिएको थियो ।

त्यसपछि राष्ट्र बैंकबाट मर्जरको नीति आयो । मर्जरको नीति आएपछि एभरेष्टले तत्कालीन किष्ट बैंकसँग मर्जरको छलफल गर्यो । तर प्रारम्भिक छलफलमै स्वाप रेसियोमा कुरा नमिलेपछि थप प्रक्रिया नै अघि बढेन । एभरेष्टले किष्टको १०० कित्ता बराबर एभरेष्टको २५ कित्ता भनेपछि मर्जर प्रक्रिया अघि बढ्न सकेन ।

किष्टपछि एभरेष्टले कुमारी बैंकसँग मर्जरको छलफल गर्यो । त्यो पनि सफल भएन । दुई वर्षदेखि एभरेष्टले लक्ष्मी बैंकसँग मर्जरको छलफल गरिरहेको छ । तर, अन्तिम समयमा आएर एभरेष्टले लक्ष्मीको १०० कित्ता बराबर एभरेष्टको ३५ कित्ता भनेपछि मर्जर प्रक्रिया अबरुद्ध हुने खतरा बढेको छ ।

यो बिन्दूमा हुनसक्छ मिलन

दुबैं बैंकका सञ्चालकहरु मर्जर चाहन्छन् । मर्जरमा गएर ठूलो बैंक बनेको खण्डमा मात्रै बजारमा खरो प्रतिस्पर्धामा उत्रिन सक्ने उनीहरुको बुझाइ छ । तर, उनीहरुले आफ्नो सम्पत्तिको मूल्यांकन बढी गरेर त्यसैमा अडान लिइरहेका छन् ।

पहिलो कुरा राष्ट्र बैंकले दुबैं बैंकका सञ्चालकलाई बोलाएर भ्यालुएटरको प्रतिवेदन जे छ त्यसैअनुसार मर्जरमा जान तीब्र दबाब दियो भने मर्जर संभव छ ।

दोस्रो, दुबैं बैंकका सञ्चालकहरु आआफ्नो अडानबाट केही लचिलो भएर अघि बढ्ने हो भने पनि मर्जर संभव छ । ५५ बाट घटेर लक्ष्मी बैंकका लगानीकर्ताहरु ४५ मा झर्ने र ३५ बाट एभरेष्ट बैंकका लगानीकर्ताहरु बढेर ४५ मा पुग्ने हो भने मर्जर असंभव भने छैन ।

तर, उनीहरु कसरी अघि बढ्छन्, त्यो भने हेर्न बाँकी नै छ ।


पुष्प दुलाल