गाउँको निक्षेप उठाएर सहरमा ऋण दिन्छन् बैंकः कुन स्थानीय तहमा कति निक्षेप संकलन गरे, कति ऋण दिए ?



काठमाडौं । गाउँको बचत उठाएर बैंकले ठूला सहरमा कर्जा दिएको देखिएको छ ।

६ वटा महानगरमा रहेका वाणिज्य बैंकका शाखाले संकलन गरेको निक्षेप र प्रवाह भएको कर्जा हेर्दा बैंकहरुले बढी कर्जा ठूला सहरमा केन्द्रीत गरेको देखिन्छ ।

बैंकहरुले संकलन गरेको बचतमा आधारित निक्षेप र कर्जा प्रवाहलाई हेर्दा अन्यन्त्रबाट ल्याएको निक्षेप ठूला सहरमा कर्जाको रुपमा गएको देखिन्छ ।

काठमाडौं महानगरभित्र रहेका वाणिज्य बैंकका शाखाले २ खर्ब ६९ अर्ब रुपैयाँ बचत मार्फत निक्षेप संकलन गरेका छन् । जबकी काठमाडौं महानगरपालिकामा रहेका बैंकका शाखाले ९ खर्ब ५ अर्ब रुपैयाँ कर्जा दिएका छन् ।

६ वटा महानगरमा काठमाडौं पछि बढी निक्षेप ललितपुर महानगर पालिकाबाट उठेको छ । ललितपुरबाट ५६ अर्ब रुपैयाँ निक्षेप उठेको छ भने कर्जा ७३ अर्ब रुपैयाँ गएको छ ।

काठमाडौंपछि बढी कर्जा प्रवाह पोखरा महानगरपालिकामा भएको छ । निक्षेपमा तेस्रो स्थानमा रहदै पोखरा महानगरपलिकामा भएका बैंकका शाखाले ४२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । कर्जा प्रवाह १ खर्ब १ अर्ब रुपैयाँ गरेका छन् ।

यस्तै भरतपुर महानगरपालिकामा २० अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । कर्जा प्रवाह ६१ अर्ब रुपैयाँ छ । यस्तै विरगन्जमा १२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । भने कर्जा प्रवाह ८५ अर्ब रुपैयाँ छ । बिराटनगर महानगरपालिकामा १४ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने ८९ अर्ब कर्जा प्रवाह भएको छ ।

युनसिडिएफको सहयोगमा नेपाल राष्ट्र बैंकले संचालनमा ल्याएको वित्तीय समावेशीकरण पोर्टलले ठूला सहरमा बाहिरबाट आएको बचत ऋणमा प्रवाह भएको देखिन्छ । यसमा मुद्दती तथा चल्ती खातामा संकलन भएको निक्षेप जोडिएको छैन । मुद्दती निक्षेप बढी मात्रामा काठमाडौं महानगर र ललितपुरबाट संकलन हुन्छ ।

युनसिडिएफको सहयोगमा राष्ट्र बैंकले संचालन ल्याएको वेवसाइटमा स्थानीय तह अनुसार बैंकले खोलेका निक्षेप तथा ऋणको जानकारी पाउन सकिन्छ ।

वेवसाइटको सुरुवात गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले स्थानीय तह अनुसारको तथ्यांकको जानकारी भएपनि सो अनुसारको नीति निर्माण गर्नको लागि मद्दत पुग्ने बताए । ‘यसमा भएको तथ्यांक नियमित रुपमा अपडेट हुन्छ,’ नेपालले भने ।

वेवसाइटमा ७५३ वटा स्थानीय तह अनुसारको तथ्यांक राखिएको छ । जसमा ती स्थानीय तहमा रहेका बैंक तथा वित्तीय संस्थाले शाखाले संलकन गरेको निक्षेप र कर्जाको विवरण हेर्न सकिन्छ ।

जसले बैंकले गाउँपालिका र नगरपालिकाबाट संकलन गरेको निक्षेप ठूला महानगर र उपमहानगरपालिकामा दिने गरेको देखिएको छ ।

नेपाल बैकर्स संघका पूर्व अध्यक्ष तथा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा साना सहर र गाउँबाट संकलन भएको निक्षेप ठूला सहरमा कर्जाको रुपमा गएको स्विकार गर्छन् ।

‘केही सहरलाई बैंकले निक्षेप संकलनभन्दा कर्जा दिने मै विकास गरेका छन्,जस्तो विरगन्ज क्षेत्रको प्राथमिकता बैंकहरुको निक्षेप संकलनलाई होइन कर्जादिनको लागि हो,’ राणाले भने ।

विरगन्जपछि पछिल्लो समय औद्योगिकरणमा तीव्र विकास भएको बुटवल क्षेत्रपनि निक्षेपभन्दा ऋण बढी गएको देखिन्छ । बुटवल उपमहानगरपालिकाले २० अर्ब ६७ अर्ब निक्षेप संकलन गरेको छ । यस्तै कर्जा प्रवाह ६० अर्ब छ । रुपन्देहीमा उद्योगहरु बढी भएको सिदार्थनगरपालिकामा निक्षेप १२ अर्ब संकलन भएको छ भने कर्जा प्रवाह ४५ अर्ब ४२ करोड रुपैयाँ छ ।

स्थानीय तहको निक्षेप र कर्जाको बिबरण हेर्न यहाँ क्लिक गर्नुहोस्


क्लिकमान्डु