स्वदेशी लगानीमै ठूला आयोजना बनाउन यसरी जुटाउन सकिन्छ खर्बौं पुँजी



काठमाडौँ । के सरकारले चन्दा उठाउँछ ? आम मान्छेलाई सोध्ने हो भने सहजै उत्तर आउँछ, अहँ उठाउँदैन । तर पाकिस्तानका प्रधानमन्त्री इमरान खानले स्वदेशी लगानीमा नै ५३०० मेगावाट क्षमताका आयोजना निर्माणका लागि चन्दा उठाउन थालेका छन् ।

पाकिस्तानलाई आर्थिक रुपमा सबल बनाउन र आन्तरिक लगानीबाट नै केही मेघा परियोजना निर्माणका लागि चन्दा उठाउन थालिएको पाकिसतानी प्रधानमन्त्रीले घोषणा गरेका छन् ।

नेपालमा सरकारले बुढीगण्डकी जलविद्युत् आयोजना विवादास्पद चिनियाँ कम्पनलिाई दिने तयारी गरिरहेको बेला छिमेकी देश पाकिस्तानबाट यस्तो खबर सार्वजनिक भएको छ ।

चन्दा उठाएर नै आयोजना निर्माण गर्न लागेको पाकिसतान भने पहिलो देश होइन, यसअघि इथोपियाले पनि चन्दा जस्तै गरी आर्थिक सहयोग संकलन गरेर केही मेघा परियोजना अगाडि बढाएको थियो । पाकिस्तानले स्वदेशमा नै १२ अर्ब डलर रकम जुटाउने अभियान सुरु गरेको छ । त्यो भनेको नेपाली मुद्रामा परिवर्तन गर्दा १२ खर्ब रुपैयाँभन्दा बढी हुन जान्छ ।

पाकिस्तानमा दुई बाँध बनाउन त्यहाँका प्रधानमन्त्री इमरान खानले चन्दा संकलन अभियान थालेको र त्यसका लागि धमाधम पैसा संकलन सुरु हुन थालेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

पाकिसतानका अधिकाशं सञ्चार माध्यमले प्रधानमन्त्री इमरानको पछिल्लो प्रयासलाई सकारात्मक भन्दै समाचार सम्प्रेषण गरेका छन् । विशाल बाँध बनाउन सरकारसँग पैसा अभाव भएपछि खानले चन्दा अभियान थालेका हुन्, यो महत्वपूर्ण अभियान हो, यसलाई सहयोग गरौ भन्दै पाकिस्तानी नागरिकले खुसी व्यक्त गरेका छन् ।

करिब १२ अर्ब ४० अर्ब लागत लाग्ने अनुमान गरिएका ठूला परियोजनाका लागि पाकिस्तानका प्रधानन्याधीश साकिब निसारले प्रधानमन्त्री खानलाई सहयोग गर्नुपर्ने बताउँदै अभियानको नेतृत्वमा रहेर काम गर्ने बताएका छन् ।

उनले दुई बाँध बनाउने यो प्रयासमा सबैले सहयोग गर्नुपर्ने र अभियानबाट विरुद्ध गए कारवाहीको भागिदार बन्नुपर्ने चेतावनी समेत दिएका छन् ।

ती ठूला बाँध बनाउनका लागि सरकारलाई पाकिस्तानको सेनाले पनि ठूलो सहयोग गरेको छ । पाकिसतानी सेना प्रमुख कमर जावेद बाजवाले १०० करोड पाकिसतानी मुद्राको चेक हस्तान्तरण गरिसकेका छन् ।

सरकारसँग सो बाँध बनाउनका लागि १४३ करोड पाकिसतानी मुद्रा मात्रै भएकाले पनि चन्दा उठाउन थालिएको हो ।

चन्दा उठाएर नै ठूला आयोजना निर्माण गर्ने सरकारको कदमलाई सहयोग गर्न सरकारले अभियान थालेको छ । सो अभियानलाई पूरा गर्न सबैले सकारात्मक साथ र सहयोग गर्नुपर्ने पाकिसतानी सेनाको भनाइ समेत बाहिर आएको छ ।

ती बाँधका लागि पाक प्रधानन्यायाधीश साकिब निसारले ३६० करोड रकम जम्मा भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई जानकारी दिएका छन् । रकम दिन दिनै बढीरहेको छ । धेरै नागरिक उत्साहित भएका छन् । सरकारले लिएको चन्दाको समेत रेकर्ड राखिएको छ । कुन स्थानबाट कसले कति चन्दा दियो भनेर पारदर्शी रुपमा सार्वजनिक गरिएको छ । यसले सरकारप्रति नागरिकको विश्वस समेत बढ्दै गएको छ ।

प्रधानमन्त्री इमरानले देश तथा विदेशका पाकिस्तानी नागरिकसँग चन्दाका लागि लामो अपिल गरेका छन् ।

चन्दा संकलनका लागि पाकिस्तानको प्रमुख शहर, चोक तथा गल्ली गल्तीमा ठूला ठूला व्यानर राखिएका छन् । सञ्चार माध्यममा समेत श्रव्य दृश्य सामग्री प्रशारण गरिएको छ । नागरिकलाई किन चन्दा दिने, सरकारलाई किन सहयोग गर्ने भन्ने आशयका सामग्री प्रकाशन र प्रसारण गरिएको छ । पाकिसतानमा एक प्रकारको राष्ट्रवादी भावना जागृत भएको छ ।

उत्तरी पाकिस्तानमा ४५०० मेगावाट क्षमताको दायमर बासा बाँध र अर्को ८०० मेगावाट क्षमताको मोहम्म बाँध बनाउन लगिएको प्रधानमन्त्री खानले जानकारी दिए ।

जानकारहरुका अनुसार कूल ३० हजार करोडको लागतमा मोहम्मदको काम २०१२ देखि जारी रहेको छ । सो आयोजनाका लागि अझै ठूलो मात्रामा पैसाको जोहो गर्नुपर्ने देखिएको छ ।

पाकिस्तानका आर्थिक मामलाका विश्लेषक खुर्रम हुसैनका अनुसार सरकारले जिम्मा लिएकाले चन्दा दिन पनि सजिलो भएको भन्दै नागरिकमा एक प्रकारको उत्साहको सञ्चार भएको र सरकार हाम्रै लागि काम गर्दैछ भन्ने स्थापित भएको बताएका छन् ।

बाँध बनाउन धेरै पैसा आवश्यकता पर्ने भएपछि तीब्र गतिमा अभियान थालिएको हो । यसले सबैले देशलाई लगानी गरौ, देशले पछि दिनेछ भन्ने भावना जागृत भएको छ ।

तर नेपालमा भने स्वदेशमा पैसा नभएको, ठूला आयोजना निर्माण गर्न सक्ने क्षमता नभएको भन्दै विवादास्पद विदेशी कम्पनलिाई धमाधम आयोजना उपलब्ध गराइएको छ । त्यसले नागरिकको स्तरमा समेत सरकारप्रति नकारात्मक भावनाको विकास भएको छ ।

राष्ट्रबादी नारा लगाएर चुनाब जितेको ओली सरकारले पाकिस्तानबाट सिक्ने कि !


पुष्प दुलाल