केही वर्षभित्र मुक्तिनाथ विकास बैंकमै अर्ग्यानिक कृषि उत्पादन किन्न सकिन्छः सीइओको अन्तर्वार्ता



प्रधुम्न पोखरेल, प्रमुख कार्यकारी अधिकृत, मुक्तिनाथ विकास बैंक

३ जिल्ला कार्यक्षेत्र राखेर १२ वर्षअघि स्थापना भएको मुक्तिनाथ विकास बैंक देशकै नम्बर वान विकास बैंक बनेको छ, यो कसरी संभव भयो ?
कुनैपनि व्यवसाय गर्दाखेरी त्यसले सेवाग्राहीको जीबनस्तरमा परिवर्तन ल्याउँछ भने त्यो व्यवसाय अवश्य सफल हुन्छ । संसारमा जति पनि व्यवसायहरु सफल हुन्छन् त्यसमा यो एउटा साझा कारण हो ।

मुक्तिनाथ विकास बैंकले- २०६३ पुस महिनामा स्याङ्जाको पुतलीबजारमा मूख्य कार्यालय राखेर कारोबार शुरु गरेको थियो । मुक्तिनाथले कारोबार शुरु गर्नुुअघि ५/१० हजार रुपैयाँको चेक साट्न पोखरा आउनुपर्थ्यो ।

त्यस्तो अवस्था हटाउँदै स्याङ्जाली जनतामा वित्तीय पहुँच तथा सेवा पुर्याउनका लागि बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल सर लागि पर्नुभयो । सकरात्मक सोच भएको व्यक्तिबाट एउटा कामको शुरुवात भएको थियो ।

त्यसबेलासम्म कुनैपनि संस्थाले लघुवित्तको काम राम्रोसँग शुरु गरेका थिएनन् । भरत सरले मुक्तिनाथमार्फत् लघुवित्तको काम शुरु गर्नुभयो । लघुवित्तले मान्छेको आयस्तर बढायो, व्यवसायी बनायो । र, ग्राहकको मन जित्यो ।

मुक्तिनाथ विकास बैंकका लघुवित्त सखस्यहरुले उत्पादन गरेका कृषि उपज बस्तुको सही व्यवस्थापन गर्न मुक्तिनाथ कृषि कम्पनी लिमिटेड कम्पनी स्थापना गरिएको छ । यो कम्पनीले मुक्तिनाथ विकास बैंकका कतिपय शाखाहरुमा अर्ग्यानिक कृषि उत्पादनको स्टल समेत राख्नेछ । यो काम केही वर्षभित्रै हुन्छ ।

त्यसपछि ३ जिल्लेबाट १० जिल्लेमा स्तरोन्नति भई पोखरा आयो । पोखरा आएर पनि लघुवित्तको कामलाई निरन्तरता दिइरह्यो । बैंकले गरिब, मध्यमवर्ग र धनाड्य तीनवटै वर्गलाई सेवा दियो । जसले बैंकको नेतृत्व गर्नुभएको थियो, उहाँहरुको मन शुद्ध थियो ।

२०७२ साल माघमा काठमाडौंमा केन्द्रिय कार्यालय स्थानान्तरण गर्र्यौ । यसबेला सम्म बैंक राष्ट्रियस्तरमा स्तरोन्नति पनि भइसकेको थियो । बैंकको मूख्य कार्यालय काठमाडौं आएपछि मात्रै म यो बैंकमा आएको हुँ । वाणिज्य बैंकमा काम गरेको मेरो अनुभवलाई हेरेर नै भरत सरले मलाई ल्याउनुभएको हो ।


बैंकले शाखा कार्यालय भएको क्षेत्रमा मात्रै बैंकिङ सेवा उपलब्ध गराएन, गाउँगाउँसम्म पुगेर सेवा प्रदान गर्यो । अहिले पनि हामी २ रात बास बसेर त्यति टाढाको गाउँमा गएर ग्रामिण बैंकिङ सेवा दिन्छौं । आधुनिक र ग्रामिण बैंकिङलाई सँगसँगै बढाएका कारण मुक्तिनाथ विकास बैंकले यो प्रगति हासिल गरेको हो ।

काठाडौं आपछि चाहीँ कस्तो संघर्ष गर्नुपर्यो ?

काठमाडौंमा ठूलो जनसंख्या छ । यहाँका जनताको एस्पेक्टेसन फरक हुनसक्छ । बैंक तथा वित्तीय संस्थाहरुको बाक्लो उपस्थितिका कारण प्रतिथस्पर्धा उस्तै तीब्र थियो । हामीले यहाँको वास्तविकतालाई पनि बुझेर काम गर्यौं । र, काठमाडौं आएको छोटो समयमै देशकै नम्बर वान विकास बैंक बन्न सफल भयौं । हामी अरु भन्दा केही फरक रणनीतिका साथ अघि बढेका थियौं ।

कस्तो फरक ?

मुक्तिनाथ विकास बैंकले स्थापनाकालदेखि नै एउटा नारा बनाएको थियो– ‘देश विकासको आधार, कृषिमा व्यावसायिक सुधार ।’ आजको दिनमा हाम्रो बैदेशिक ब्यापारको अवस्था हेर्यो भने यसको अर्थ प्रष्ट बुझिन्छ ।

महिनामा अढाइ अर्ब रुपैयाँको चामल भारतसँग मात्रै किन्छौं । तरकारी महिनामा ९२ करोडको र फलफुल ४८ करोड रुपैयाँको भित्रन्छ । यो तथ्यांक हेर्दा हाम्रो देशमा कृषिमा व्यापक अवसर छ । एकातिर व्यापार घाटा दिनानुदिन चुलिरहेको छ । हामीले कृषिमा ठूलो संभावना देखेर आगामी दिनमा कृषिलाई नै ध्यानमा राखेर केही काम गर्ने सोच छ ।

कृषिमा काम गर्ने भनेको के नि ?

यो बैंकका निर्वतमान प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालको अध्यक्षतामा मुक्तिनाथ कृषि कम्पनी लिमिटेड स्थापना भइसकेको छ । त्यो कम्पनीमा बैंकको २५ प्रतिशत सेयर लगानी छ । त्यो कम्पनी पब्लिक लिमिटेड कम्पनीको रुपमा अघि बढ्नेछ । मुक्तिनाथ विकास बैंकको लघुवित्तका सदस्य १ लाख २३ हजार छन् । जसमध्ये ८० हजारभन्दा बढीले ऋण लिएका छन् । उहाँहरुले उत्पादन गरेका कृषि उपज बस्तुको सही व्यवस्थापन मात्रै हामीले गर्न मुक्तिनाथ कृषि कम्पनी लिमिटेड कम्पनी स्थापना गरिएको हो । यो कम्पनीले मुक्तिनाथका लघुवित्तका ग्राहकले देशभरका गाउँमा उत्पादन गरेका कृषि वस्तुहरु सहरी इलाकामा ल्याएर बिक्री वितरण गर्नेछ । सोही क्रममा मुक्तिनाथ विकास बैंकका कतिपय शाखाहरुमा मुक्तिनाथ कृषि कम्पनीले अर्ग्यानिक कृषि उत्पादनको स्टल समेत राख्नेछ । यो काम केही वर्षभित्रै हुन्छ ।

नियामक निकाय राष्ट्र बैंककै अधिकारीहरुले लघुवित्तमा उच्च नियमन भइरहेको छैन त्यसैले लघुवित्तको कर्जामा समस्या उत्पन्न हुनसक्छ भनिरहेका छन् । लघुवित्त र ग्रामिण बैंकिङलाई आधार बनाएर व्यवसाय गरिरहेको मुक्तिनाथ विकास बैंकले प्रवाह गरेको कर्जामध्ये ०.००४ प्रतिशत मात्रै खराब कर्जामा परिणत भएको तथ्यांकले देखाउँछ । मुक्तिनाथले सबै असल व्यक्तिहरुलाई मात्रै कर्जा दिएको हो कि अरु कुनै औजारको प्रयोग गरेको हो ?

एउटा मूर्तिकारले एउटा मूर्ति बनाइरहेको थियो । अर्को एकजना मान्छे त्यहाँ पुग्यो । उसले दुईवटा उस्तै मूर्ति बनाएको देख्यो । र, मूर्तिकारलाई सोध्यो– तपाईंलाई २ वटा मूर्तिको अर्डर आएको हो ? मूर्तिकारले भन्यो- होइन एउटाको मात्रै अर्डर आएको हो । त्यसो भए किन दुईवटा वनाउनु भएको त ? त्यो मान्छेले फेरि प्रश्न गर्यो । त्यो मूर्ति केही बिग्रको छ, मूर्तिकारले जवाफ दियो । त्यो मान्छेले मूर्तिलाई गएर हेर्यो, मूर्ति कहीँ कतै बिग्रिएको पाएन । त्यसपछि फेरि सोध्यो- मैले त बिग्रेको केही पनि देखिँन नि । त्यसपछि मूर्तिकारले भन्यो– नाकमा हेर्नुस् त अलिकति कोटिएको छ । ध्यान दिएर हेर्दा त त्यो मान्छेले पनि नाटमा सानो कोटिएको देख्यो । र, उसले सोध्यो– यो मूर्ति कहाँ राखिन्छ ? मूर्तिकारले भन्यो- २० फिट माथि खम्बामा राखिन्छ । त्यसपछि त्यो मान्छेले भन्यो– मैले छेवैमा गएर नदेखेको नाकको चोट २० फिट माथि कस्ले देख्छन् र ? मूर्तिकारले भन्यो- मान्छेले पो देख्दैनन् त, भगवानले त देख्छन् नि । कोटिएको कुरा मैले देखिरहेको हुन्छु । कुनैपनि काम गर्दा आफू सन्तुष्ट हुनेगरि गर्नुपर्छ ।

मुक्तिनाथ विकास बैंकको उच्च तहमा काम गर्नेमान्छेको सोच पनि त्यो मूर्तिकारको जस्तै थियो ।

एकाउन्टलाई राम्रोसँग मनिटरिङ टिम स्ट्रङ छ र कुनै कस्टमर बिग्रिन लागेको छ भने उसलाई शुरुमै एक्जिट लिस्टमा राखेर उसलाई हटाउनुपर्छ । हामीले यो रणनीति पनि अबलम्बन गर्यौं ।

स्थापनाको १२ वर्षमा मुक्तिनाथले १०/११ पटक हकप्रद सेयर जारी गरेर पुँजी थप्दै अघि बढ्यो । यसरी पुँजी थपिरहेका लगानीकर्तालाई बैंकले कस्तो प्रतिफल दिन्छ ?

०७४ असार देखि ०७५ असारसम्मका बिजनेश ग्रोथ हेर्ने हो भने निकै ठूलो छ । एक वर्षको अवधिमा निक्षेप ८१ र ऋण ६५ प्रतिशतले बढेको छ । गत वर्ष ५७ करोड नाफा कमाएका छौं । हाम्रो सञ्चालक समितिले १९.२१ लाभांस दिने प्रस्ताब गरेको छ । कर प्रयोजन बाहेक सबै बोनस सेयर हो ।

म बिहान व्यूँझेदेखि राति ननिदाउञ्जेलसम्म मुक्तिनाथ विकास बैंककै बारेमा मात्रै सोचेको हुन्छ । किनभने मभन्दा अगाडि सीइओ हुनुभएको भरत सरले बैंकलाई यहाँसम्म ल्याउनुभएको थियो । यसलाई सस्टेन गर्नु नै मेरो चुनौति हो । उहाँले भन्दा राम्रोसँग काम गरेर देखाउन सकिँन भने त मेरो अस्तित्व पनि रहँदैन न । त्यसैले भरत सरले बनाएको संस्थालाई अझ रफ्तारमा र सुरक्षित तरिकाले अघि बढाएर सरोकारवाला सबैको विश्वास जित्दै अघि बढ्नुपर्ने नै मेरो सबभन्दा ठूलो चुनौति हो ।

म प्यासनले काम गर्ने मान्छे हुँ । यहाँका कर्मचारीहरु उस्तै स्ट्रङ छन् । मुक्तिनाथ नामै पवित्र छ । र, जहाँसम्म लगानीकर्तालाई कस्तो प्रतिफल दिनुहुन्छ भन्ने यहाँको प्रश्न छ । त्यसको जवाफ मैले दिने होइन, बढीभन्दा बढी प्रतिफल दिनसक्ने बनाउनका लागि लागिपर्ने मात्रै हो । कति दिने भन्ने कुरा सञ्चालक समिति, नियामक र साधारणसभाको हो ।

तपाईंले आफ्नो कार्यकालमा बैंकलाई कस्तो बनाउनुहुन्छ ?

कुनैपनि संस्थाले आफ्ना रणनीतिक कुराहरु धेरै खोल्दैन । त्यसैले म सीधा जवाफ दिन्छ । म आएको २ वर्षमात्रै भयो । २ वर्षको बैंकको वित्तीय विवरण हेर्नुस्, त्यसैबाट पनि धेरै कुरा प्रष्ट हुन्छ । हाम्रो लक्ष्य नै ग्रो छ । यसको अर्थ जी भनेको गाल्फुकष्ट, आर भनेको रिजल्ट ओरियन्टेड, ओ भनेरको ओनरसीप र लब्लु भनेको वेल बिइङ हो । मेरो कार्यकालमै हाम्रो ग्रोथ अनुसार आज वाणिज्य बैंकसँग भएको जति चुक्ता पुँजी चाहिन्छ मुक्तिनाथलाई पनि ।

यसको मतलब तपाईकै कार्यकालमा मुक्तिनाथ विकास बैंक स्तरोन्नति भई वाणिज्य बैंक बन्छ ?

मेरै कार्यकालमा वाणिज्य बैंक बन्छ भनेर त ठोकुवा गर्दिन । किनभने हामीले चाहेर मात्रै वाणिज्य बैंक भइने होइन । तर, हामी वाणिज्य बैंकमा स्तरोन्नति हुनका लागि आवश्यक पर्ने पुँजी तथा पूर्वाधार भने तयार गर्दै जानेछौं ।

मुक्तिनाथ विकास बैंकले ल घुवित्त र आधुनिक बैंकिङलाई सँगसँगै अघि बढाएको छ । आजको दिनमा बैंकमा काम गर्ने कर्मचारीको सोच हुन्छ कि टाइसुट लगाउने । जुन लघुवित्तमा कमै हुन्छ । कर्मचारी व्यवस्थापन गर्न कतिको कठिनाइ भएको छ ?

यो वर्षदेखि लघुवित्तलाई परिमार्जन गरी साना तथा मझौला बैंकिङ भनेर नामाकरण गरेका छौं । काम गर्ने शैलीमा पनि केही परिवर्तन गरेका छौं । अब लघुवित्तमा पनि आधुनिक बैंकिङको फ्लेभर आउँछ । र, लघुवित्तमा काम गर्ने कर्मचारीलाई सेवा सुविधामा पनि केही हेरेका छौं । त्यसैले विगतमा यस्तो समस्या कहीँकतै देखिएको भएपनि आगामी दिनमा भने देखिँदैन ।

वाणिज्य बैंकमा कामगरिरहेको व्यक्ति विकास बैंकमा आएर काम गर्दा कस्तो फरक पाउनुभयो ?

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) अनुसार विकास बैंकहरुले वाणिज्य बैंकहरुले जस्तो हाइपोथेसनमा कर्जा दिन पाउँदैनन् । धितो लिनैपर्छ । अर्कोकुरा एलसीको काम विकास बैंकले गर्न पाउँदैनन् । जसकारण विकास बैंकको नन इन्ट्रेस्ट इनकम कमका स्रोतहरु कम छन् । त्यसबाहेक अरु काम भनेको वाणिज्य बैंक र विकास बैकले गर्ने उस्तै हो । हाइपोथेसनमा कर्जा दिन नपाउने भएकाले विकास बैंकहरु वाणिज्य बैंकभन्दा बढी सुरक्षित छन् ।


पुष्प दुलाल