प्रधानमन्त्रीको अमेरिका भ्रमणः किन पर्दैन सिलिकन भ्याली प्राथमिकतामा ? 



पहिलो पटक प्रधानमन्त्री भएपछि संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघको औपचारिक कार्यक्रमपछि  उद्योगी र व्यवसायीलाई भेटेका थिए ।

बंगलादेशको प्रधानमन्त्री शेख हसिनाको प्राथमिकतापनि संयुक्त राष्ट्र संघको बैठकपछि अमेरिकाका लगानीकर्तालाई भेट्ने हुन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको ७३ औं महासभामा भाग लिन शनिबार अमेरिका प्रस्थान गर्दैछन् ।

सरकारी समाचार ऐजेन्सी राससमा आएको समाचार अनुसार प्रधानमन्त्री ओलीले नियमित सम्बोधन बाहेक व्यवसायिक लगानी बढाउने खालका भेटघाट भ्रमणको क्रममा राखिएको छैन ।

भ्रमणमा दुई मिनेट अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पसँग भेट्ने र फोटो खिच्ने कार्यक्रम हुन्छ । यो नियमित कार्यक्रम हो ।

यो पटक संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री ओलीले शान्तिका लागि कार्य गर्ने उच्च स्तरीय बैठक तथा एशिया सोसाइटीमा शान्ति, प्रजातन्त्र तथा विकास विषयमा विशेष मन्तव्य दिने छन् ।

महासभामा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसँग भेट बाहेक कम्बोडियाका प्रधानमन्त्री सामदेकसँग भेट गर्ने छन् । प्रधानमन्त्री ओली कोष्टारिका गए त्यहाँका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसडासँग भेट गर्ने छन् भने शान्ति विश्वविद्यालयमा सम्बोधन गर्ने छन् ।

करिब दुई दर्जन नेपाली अधिकारी सहभागी हुने सम्मेलनमा प्रधानमन्त्रीको भ्रमण केबल औपचारितामा मात्र सीमित हुनेछ ।

गतवर्षको निर्वाचनपछि दुईतिहाई मतबाट प्रधानमन्त्री चुनिएका ओलीको अमेरिका भ्रमण महासभा बैठकमा औपचारिक सहभागिता बाहेक देशलाई भने केही प्राप्ती हुने छैन ।

नेपालका प्रधानमन्त्री तथा मन्त्रीहरुले गर्ने विदेश भ्रमणमा पनि लगानी भित्राउने र लगानीकर्तासँग छलफल गर्ने खासै ठूलो प्राथमिकता परेको देखिएको हुँदैन ।

अमेरिकाका लागि पूर्व नेपाली राजदूत डा शंकर शर्मा प्रधानमन्त्रीको अमेरिका भ्रमण नियमितताको निरन्तरता मात्र भएको बताउँछन् ।

‘अमेरिकाका लगानीकर्तासँग भेट गर्ने र प्रधानमन्त्रीको उपस्थितीमा नै लगानी सम्मेलनजस्ता कार्यक्रम गर्न नसकिने होइन, यसको लागि तीनदेखि चार महिना अगाडिबाट तयारी गर्नुपर्छ,’ शर्माले क्लिकमाण्डूसँग भने ।

विश्वमा अरु नेताहरु औपचारिक कार्यक्रम सकेपछि लगानी भित्राउनको लागि लगानीकर्ता तथा ठूला कम्पनीका उच्च अधिकारीसँग भेट गर्ने तालिका रहेको हुन्छ ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा स्वर्णिम वाग्लेले एउटा अन्तर्वार्तामा भनेका थिए,‘अरु देशका सरकार प्रमुखहरु न्यूयोर्क र वासिंटनको औपचारिक कार्यक्रमपछि सिलिकन भ्याली प्राथमिकता हुन्छ, हाम्रो देशबाट जानेको प्राथमिकता न्यूयोर्क र डिसीमा बस्ने नेपालीको घरमा बस्दै बित्छ ।’

सिलिकन भ्याली अमेरिकामा लगानीको हब हो । अमेरिकाका ठूला कम्पनीका कार्यालय सिलिकन भ्यालीमा छ ।

संयुक्त राष्ट्रसंघको महासभा निकै ठूलो जमघट हो । विश्वका अधिकाशं देशका सरकार प्रमुख, राजनीतिज्ञको अलावा नागरिक समाजदेखि निजी क्षेत्रका लगानीकर्ताको जमघटपनि सम्मेलनमा हुने गर्छ ।

नेपालका प्रधानमन्त्री तथा मन्त्रीहरुले गर्ने विदेश भ्रमणमा पनि लगानी भित्राउने र लगानीकर्तासँग छलफल गर्ने खासै ठूलो प्राथमिकता परेको देखिएको हुँदैन ।

राजनीतिक रुपमा निकै धेरै महत्वपूर्ण मानिएको प्रधानमन्त्रीको चीन भ्रमणमा चीनका ठूला लगानीकर्ता र कम्पनीका अधिकारीहरुसँगको छलफल कार्यक्रम प्रधानमन्त्रीको भ्रमणमा थिएन ।

विगतका वर्षहरुमा प्रधानमन्त्रीले गर्ने भारत तथा चीन भ्रमणमा सहभागी एक व्यवसायी भन्छन्,‘भारत र चीनको भ्रमणमा समेत लगानीकर्तासँग सिरियस भेटघाट र छलफल प्रधानमन्त्री भ्रमणमा प्राथमिकतामा पर्दैन, अमेरिका भ्रमणमा सिलिकन भ्याली प्राथमिकतामा पर्छ भनेर सोच्नु बेकार छ ।’

अहिलको विश्वमा हुने यस्ता जमघट र भेटघाट लगानी भित्राउन र आफ्नो देशमा रोजगारी बढाउनको लागि नै केन्द्रित हुन्छ ।

‘प्रधानमन्त्रीको तहबाट नै यस्ता खालका भ्रमणमा लगानी भित्राउने गरी लगानीकर्तालाई भेट्ने खालका कार्ययोजना बन्नुर्छ, अहिलेसम्म यस्ता खालका योजना बनेका पाइदैन,’ राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका शर्माले भने ।

नेपालको आर्थिक अवस्था आयातको व्यापारले थलिएको छ । कूल ग्राहस्र्थ उत्पादन(जिडिपी)को आकारको ३८ प्रतिशत ब्यापार घाटा छ । साउन महिनामा मात्र नेपालको व्यापारघाटा १ खर्बभन्दा बढी भइसकेको छ । यो कम गर्न लगानी भित्राउनको लागि यस्ता फोरमहरुलाई प्राथमिकता दिने काम भने भएको देखिएको छैन । जुन यो पटकको प्रधानमन्त्रीको अमेरिका भ्रमणको तालिका हेर्दा प्रष्ट देखिन्छ ।


क्लिकमान्डु