देशभर यातायात अवरोध, अत्यावश्यक सेवा बन्द गर्नेलाई कारवाही गर्ने सरकारको तयारी



काठमाडौं । थाहा नै नभएको माग राखेर सवारी चालकले देशव्यापी रुपमा हडताल गरेपछि अत्यावश्यक सेवा प्रवाहमा अवरोध देखिएको छ ।

विगत ४ दिनदेखि सवारी चालकले देशव्यापी रुपमा सवारी नचलाएर अवरोध गरेका छन् ।

सरकारी निकायले चालकको माग के हो भन्ने बारेमा समेत कुनै जानकारी पाउन सकेको छैन । तर अत्यावश्यक सेवाको रुपमा रहेको पेट्रोलियम पदार्थको ढुवानी समेत बन्द भएको छ ।

जसका कारण देशव्यापी रुपमा इन्धनको अभाव देखिएको छ भने पेट्रोल पम्पहरुका अगाडि लामा लामा लाइन लागेका छन् ।

सवारी साधन नचलेपछि गन्तव्यमा पुगन प्रतिक्षारत यात्रु अलपत्र परेका छन् भने राजधानीमा नै पेट्रोलियम पदार्थको हाहाकार देखिएको छ ।

लामा दुरीका सवारी साधनमा समेत अवरोध देखिएको छ । तर माग के हो र सवारी चालकले किन अवरोध गरेका छन् भन्ने बारेमा सरकारी निकायले भेऊ नपाउँदा समस्या जटिल बन्दै गएको छ ।

पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेका ढुवानीकर्ताहरूले तत्काल सेवा सुरु नगरे उनीहरूमाथि कारबाही गरिने चेतावनी नेपाल आयल निगमले दिएको छ ।

निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले माग नै थाहा नदिएर अत्यावश्यक सेवा नै बन्द गरिनु दुःखद भएकाले उनीहरुलाई कारवाहीको दायरामा ल्याउने प्रयास भएको बताएका छन् ।

यस्तो छ चालकको माग

आन्दोलनकारी चालकहरुकाअनुसार गत भदौ १ गतेदेखि लागु भएको मुलुकी अपराध संहितामा सवारी दुर्घटनामा कसैको ज्यान गए १० वर्षसम्म कैद सजाय र जरिवाना वा दुवै सजाय हुने प्रावधान रहेको छ । सोही प्रावधान खारेजीको माग गर्दै चालकले सवारी साधन चलाउन अवरोध गरेको बताइन्छ ।

सोही कारण पेट्रोलियम ढुवानीमा समस्यामा उत्पन्न भएको छ । त्यतिमात्रै होइन यात्रुहरूको आवतजावत समेत प्रभावित भएको छ ।

इन्धन ढुवानीकर्ताहरुले ट्यांकर चलाउन छाडेपछि राजधानीलगायत देशभरका पम्पहरुमा आज पनि विहानैदेखि लामा लामा लाइन लागेका छन् ।

इन्धन ढुवानीकर्ताहरूले एक्कासी काम बन्द गरेको र उनीहरूले कुनै माग पनि राखेकोबारे सरकारी निकाय अनविज्ञ रहेका छन् ।

चालकहरुले आधिकारिक रुपमा कुनै मागपत्र नै पेश नगरी एकोहोरो सवारी साधन चलाउन छाडेका हुन् ।

मुलुकी अपराध संहितामा भएका केही प्रावधानको विरोध जनाउँदै यातायात मजदुरहरूले सेवा ठप्प पारेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पनि जनाएको छ ।

हालै जारी भएको अपराध संहितामा राखिएको सजायको प्रावधान हटाउन आग्रह गर्दै चालकले अवरोध गरेका हुन् ।

यस्तै व्यवसायीले पछिल्लो दिनमा बढेको इन्धनको मूल्य समेत घटाउन समेत माग राखेका छन् । इन्धनको मूल्य नघटाई दशैको टिकट बुकिङ समेत नखोल्ने उनीहरुको भनाइ छ ।

चाडपर्वको मुखमा सर्वसाधारणको जीवन कष्टकर हुन थालेपछि सार्वजनिक यातायात ठप्प भएपछि केही जिल्लामा वार्ताको प्रारम्भ भने भएको छ ।

केही सिण्डिकेटधारी व्यवसायीले सिण्डिकेट कायम राख्न यातायात मजदुरलाई प्रयोग गरी समस्या पारेको हुन सक्ने समेत आशंका गरिएको छ ।

त्यस्तो गरेको पाइए उनीहरुलाई कारवाही हुने गृह मन्त्रालयले जनाएको छ ।


पुष्प दुलाल