बैंकको ब्याज महंगो भयो ? यसो गरे पाइन्छ ५ प्रतिशतसम्ममा बैंकबाटै ऋण




काठमाडौं । अहिले बैंकबाट ऋण लिदा १२/१३ प्रतिशतभन्दा सस्तो ब्याजमा पैसा पाइदैन । भनेजति ऋण नपाइने समस्या त छदैछ, यसमा पनि एउटा ब्याजदरमा सम्झौता गरेर ऋण लियो, त्यसको केही दिन, हप्ता वा महिनामा फेरि बढ्न पनि सक्छ ।

उद्योग ब्यवसाय संचालन हुने भनेकै बैंकबाट ऋण लिएर हो । बैंकको ब्याज महंगो भएपछि उद्योगी ब्यवसायीको पुँजीको लागत बढ्छ । पुँजीको लागत बढेपछि उत्पादित बस्तु तथा सेवाको मूल्य बढ्छ । अनि हामी उपभोक्ताले महंगोमा किन्नुपर्छ ।

जस्तो कि पहिला बैंकले ऋणमा लिने ब्याज १० प्रतिशत थियो र अहिले बढेर १४ प्रतिशत पुग्यो भने त्यस्ता उद्योगको उत्पादन लागत ४ प्रतिशतले बढ्यो । अर्थात बैंकले ऋणमा लिने ब्याज १० प्रतिशत हुदा कुनै उद्योगले उत्पादन गर्ने बस्तुको मूल्य १०० रुपैयाँ थियो भने ब्याज बढेर १४ प्रतिशत हुदा सोही उद्योगको सोही बस्तुको मूल्य १०४ रुपैयाँ पर्छ ।

ब्याजदर महंगो भयो भनिरहेको बेलामा केही बैकरले ब्याजदर सस्तो हुदा कुन बस्तु सस्तो भएको थियो ? भनेर प्रश्न पनि गरिरहेका छन् । यो पनि वहसको बिषय नै हो ।

तर, हामी यहाँ कसरी सस्तो ब्याजदरमा ऋण पाइन्छ भन्ने जानकारी दिन गइरहेका छौं ।

अहिले बजारमा १२/१३ प्रतिशत ब्याज चलेको भएपनि अर्काे एकथरी ब्याज ४/५ प्रतिशतमै पाइन्छ । तर, त्यस्तो ऋण सबै क्षेत्रका ऋणीले लिन भने पाउने होइनन् ।

नेपाल राष्ट्र बैंकले खास क्षेत्रका ऋणीहरुले अमेरिकी डलरमा ऋण लिन पाउने ब्यवस्था गरेको छ । अमेरिकी डलरमा ऋण लिनेले अहिले पनि ४ देखि ५ प्रतिशत ब्याजमा ऋण पाइरहेका छन् ।

यसरी डलरमा ऋण लिन चाहने ऋणीले अमेरिकी डलरमै आम्दानी गर्ने गरेको भने हुनुपर्छ ।

‘यसअघिसम्म निर्यात उद्योग र पर्यटन क्षेत्रसँग सम्बन्धितले अमेरिकी डलरमा ऋण लिन पाउने ब्यवस्था थियो, अबदेखि विदेशी मुद्रा आर्जन गर्ने हस्पिटलहरुले पनि डलरमा ऋण लिन पाउने ब्यवस्था गरिएको छ,’ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्म ढुंगाना बताउँछन् ।

तर यसरी लिएको ऋण जथाभावी प्रयोग भने गर्न पाइदैन । यस्तो ऋण प्रयोग गर्न पाइने शर्त राष्ट्र बैंकले नै तोकेको हुन्छ ।

यस्तो ऋण सम्बन्धित पर्यटन, निर्यात उद्योग र हस्पिटलहरुको लागि आवश्यक हुने आयातको भुक्तानीमा मात्रै प्रयोग गर्न पाइन्छ ।

यस्तै यस्तो ऋण रकमको साँवा/ब्याज सम्बन्धित पर्यटन, निर्यात उद्योग र हस्पिटलले आफ्नो खातामा रहेको परिवत्र्य विदेशी मुद्रामध्येबाट भुक्तानी गर्नुपर्ने हुन्छ ।

राष्ट्र बैंकका अनुसार यो प्रयोजनको लागि बैंकहरुले विदेशी बैंकबाट लिएको ऋण रकमबाट समेत ऋण सुविधा दिन पाउने छन् । साथै विदेशी मुद्रा आवश्यक परेको खण्डमा नेपाल राष्ट्र बैंकले प्रचलित विनिमय दरमा आश्यक मुद्रा विक्री गर्नेछ ।


क्लिकमान्डु