महंगो भएपछि डलर बेच्ने बढे, बैंकको निक्षेपमा सकारात्मक प्रभाव



काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ इतिहासकै कमजोर अवस्थामा पुगेको छ ।

हरेक दिनजस्तो डलरले नयाँ रेकर्ड बनाएको छ । आइतबारको लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्रीदर ११३ रुपैयाँ ८९ पैसा तोकेको छ । खरिददर ११३ रुपैयाँ २९ पैसा तोकेको छ ।

अर्थात सर्वसाधारणले डलर खरिद गर्दा ११३ रुपैयाँ ८९ पैसा लाग्छ भने बिक्री गर्दा ११३ रुपैयाँ २९ पैसा पाउछन् ।

आठ महिनाको अवधीमा नेपाली रुपैयाँको तुलनामा डलर करिब १२ रुपैयाँ बढेको छ ।

नेपाली रुपैयाँ कमजोर बनेपछि बैंकमा डलर बेच्नेहरु बढेको एक बैंकका बिदेशी विनिमय विभागका कर्मचारीले जानकारी दिए । ‘मूल्य बढेपछि डलर बिक्री गर्नेहरु बढेका छन्,जसले गर्दा बैंकमा निक्षेप बढेको छ,’ ती कर्मचारीले भने ।

बैंकहरुका विदेशी विनिमय विभागमा कार्यरत कर्मचारीले दिएको जानकारी अनुसार डलर बेच्न आउनेमा सर्वसाधारण, केही रेमिटेन्स कम्पनी, पर्यटन क्षेत्रसँग सम्बन्धित कम्पनी तथा डलरमा आम्दानी गर्ने केही उच्च अधिकारीहरु रहेका छन् । जसले गर्दा डलरमा आउने निक्षेप बढेको छ ।

नेपालले भारतसँग स्थीर विनिमयदर प्रणाली अपनाएको हुँदा नेपाली अर्थतन्त्रको प्रभाव मुद्रा बजारमा पर्दैन । भारतीय अर्थतन्त्रमा आउने उतारचढावको असर मुद्रा बजारमा पर्ने गरेको छ ।

नेपाल बैकर्स संघका पूर्व अध्यक्ष तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह डलर बढेपछि रेमिटेन्सको प्रवाह बढ्ने र यसले बैंकिङ क्षेत्रमा निक्षेप बढ्ने बताउँछन् ।

‘अहिले बैंकहरुमा निक्षेप बढेको छ, यसको एउटा कारणमा बढ्दो अमेरिकी डलरको मूल्यलाई पनि लिन सकिन्छ,’ शाहले भने ।

नेपालले गत आर्थिक वर्षमा ७ खर्ब ५५ अर्ब रुपैयाँ रेमिटेन्स प्राप्त गरेको छ । नेपाली अर्थतन्त्र चलाउने प्रमुख आधार नै रेमिटेन्स हो ।

गतवर्ष श्रम स्वीकृति लिएर बैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने घटेको थियो । आर्थिक वर्ष २०७३/७४ को तुलनामा आर्थिक बर्ष २०७४/७५ मा १० प्रतिशतले बैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको थियो । गत आर्थिक वर्षमा ३ लाख ५८ हजार नेपाली श्रम स्विकृति लिएर कामको लागि विदेशिएका थिए ।

मुख्य रुपमा भदौदेखि कात्तिकसम्म चाडपर्वको सिजन सुरु हुने हुँदा विदेशमा बस्ने नेपालीले बढी पैसा पठाउने गर्छन् ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले डलरको मुल्य बढेपछि रेमिटेन्स रकम बढ्ने र यसले बैंकमा ऋण दिनको लागि चाहिने रकमको आपूर्ति बढ्ने बताए ।

‘रेमिटेन्सले चल्ने देशमा डलरको मूल्य बढ्दा रेमिटान्स बढ्नु स्वभाविक हो, अहिले यसको मूल्यले रेकर्ड छोएको बेला डलर साट्ने बढेका छन्,’ शेरचनले भने ।

नेपाल राष्ट्र बैंकको विदेशी विनियम विभागका प्रमुख भिष्म ढुंगाना पनि डलरको भाउ बढेका बेला रेमिटान्समार्फत आउने रकम बढ्ने गरेको बताउँछन् ।

‘डलरको मूल्य बढेको बेला रेमिटान्स रकम पनि बृद्धि हुने गरेको छ, अहिले नै कति रेमिटान्स बढ्यो भनेर तत्काल हेर्न नसकिएपनि यसको प्रभाव परेको बैंकिङ क्षेत्रको निक्षेपले संकेत भने गरेको छ,’ ढुंगानाले भने ।


क्लिकमान्डु