सरकारी अनुगमनपछि कालिमाटीमा तरकारीको मूल्य घट्यो, ब्यापारी सचेत बन्दै



काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा वाणिज्य तथा आपूूर्ति विभागले अनुगमन गरेपछि तरकारीको मूल्य घटेको छ । अघिलो साता अनुगमन टोलीले तरकारी बजारमा गरेको अनुगमनपछि तरकारीको मूल्य ५० प्रतिशत भन्दा बढी घटेको तथ्याङ्कले देखाएको छ ।

कालिमाटी बजारमा विशेष गरी बर्खे तरकारीको मूल्य घटेको कालिमाटी फलफूल तथा तरकारी बजारका प्रवक्ता विनय श्रेष्ठले बताए । उनले साता अघि भएको अनुगमनका कारण व्यवसायीहरु एलर्ट भएको हुन सक्ने बताए ।

‘कतिसम्म नाफा खाने भन्ने कुरामा नि सचेत छन् र तरकारी आयातको अवस्थापनि सुधारिएको छ, त्यसले गर्दापनि घटेको हुन सक्छ,’ श्रेष्ठले भने ।

अघिल्लो हप्तासम्म बर्षात बढी भई तरकारीको उत्पादन कमी भई तरकारी कम आउँदा मूल्य बढेको र अहिले वर्षाबाट कम प्रभावित भपछि तरकारी सस्तिएको श्रेष्ठले बताए ।

अहिले कालिमाटीमा दैनिक ७ सय टन तरकारी तथा फलफूल आयात भइरहेको छ ।

कालिमाटीको मूल्य सूची हेर्ने हो भने यो हप्तासम्म आइपुग्दा बोडीको मूल्य प्रतिकेजी ४० रुपैयाँ घटेको छ । गत सातासम्म ७८ रुपैयाँ प्रतिकेजी विक्री भइरहेको बोडी आज ३८ रुपैयाँ प्रतिकेजी बिक्री भइरहेको कालिमाटी बजारले जानकारी दिएको छ ।

भिण्डीको मूल्यमा २३ रुपैयाँ घटेको छ । गत सातासम्म ६५ रुपैयाँ प्रतिकेजी बिक्री हुने गरेको भिण्डीको मूल्य आज ४२ रुपैयाँ प्रतिकेजीमा आइपुगेको छ ।

स्कूसको मूल्यमा १५ रुपैयाँ घटेको छ । ३८ रुपैयाँ प्रतिकेजीको स्कूस आज २३ रुपैयाँ प्रतिकेजी विक्री भइरहेको छ ।

भेडे खूर्सानीको मूल्य ३५ रुपैयाँ घटेको छ । ९८ रुपैयाँ प्रतिकेजी भेडे खुर्सानी आज ६३ रुपैयाँ प्रतिकेजी बिक्री भइरहेको छ ।

परवलको मूल्यमा २० रुपैयाँ घटेको छ । परवल ५८ रुपैयाँ प्रतिकेजीबाट घटेर ३८ रुपैयाँ प्रतिकेजी पुगेको हो ।

यस्तै, आज कालिमाटी बजारमा प्याज, बन्दा, काउली, मूला, भन्टा, घिउ सिमी घिरौला र लौका लगायतको तरकारीको मूल्य घटेको हो ।

यस्तै, अदुवा र खुर्सानीको मूल्य भने अझै बढ्ने क्रममा रहेको कालिमाटी फलफूल तथा तरकारी बजारको तथ्याङ्कले देखाएको छ ।

अदुवाको मूल्य प्रतिकेजी ३३ रुपैयाँले बढेको हो । १ सय ५ रुपैयाँ प्रतिकेजी अदुवा आज १ सय ३८ रुपैयाँ प्रतिकेजी बिक्री भइरहेको छ ।

यस्तै, हरियो खुर्सानी ५८ रुपैयाँ प्रतिकेजीबाट ६२ रुपैयाँ प्रतिकेजी पुगेको छ ।
गएको साता कालिमाटी बजारमा भएको अनुगमनका कारण व्यवसायीहरुले एक दिन तरकारी बजार बन्द गरेका थिए । अनुगमनपछि कालिमाटी बजारमा तरकारी आयातको क्रमपनि घटेको विभागले जानकारी दिएको छ ।

यसैगरी कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति अन्तर्गत सञ्चालित ९८ स्टलको सम्झौ ता सरकारले खारेज गरिएको थियो । सरकारबाट २० हजार रुपैयाँ भाडामा लिई अन्यलाई १ लाख रुपैयाँसम्ममा भाडामा लगाएको भेटिएपछि उक्ता स्टलहरुको सम्झौता खारेज गराएको थियो ।


क्लिकमान्डु