बिम्स्टेक सदस्य सबै देशसँग नेपालको व्यापार घाटामा



काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को सम्मेलन भदौ दोश्रो साता नेपालमा हुँदैछ ।

भदौ १४ र १५ गते काठमाडौंमा हुने बिम्स्टेक सम्मेलनको तयारी धमाधम भइरहेको छ । काठमाण्डौमा बाटोका खाल्टाखुल्टी पुर्ने र पिच गर्ने काम भइरहेको छ ।

नेपालमा हुन लागेको बिम्स्टेक सम्मेलनलाई चर्चा परिचर्चा भइरहँदा बिम्स्टेक सदस्यसँगको नेपालले भने घाटाको व्यापार गर्दै आएको तथ्याङ्कले देखाएको छ ।

बिम्स्टेकमा संलग्न राष्ट्र मध्ये मध्ये भारत र बंगलादेश नेपालको पहिलो व्यापार गन्तव्य हुन् ।

भारतसँग नेपालले गत आर्थिक वर्ष २०७४/७५ सालमा ७ खर्ब ६४ अर्ब ३० करोड रुपैयाँको व्यापार घाटा बेहोरेको छ ।

यस अवधिमा नेपालले ८ खर्ब १० अर्र्ब ९० करोड रुपैयाँको सामान भारतबाट आयात गरेको छ । ४६ अर्ब ६० करोड ४८ लाख रुपैयाँको सामान निर्यात गरेको छ ।

त्यसैगरी बंगलादेशसँगको व्यापारमापनि नेपालले घाटा नै बेहोर्दै आएको छ । गत आर्थिक वर्षमा नेपालले बंगलादेशसँग ३ अर्ब ७० करोड रुपैयाँको व्यापार घाटा बेहोरेको छ ।

बंगलादेशबाट ४ अर्ब ७९ करोड रुपैयाँको सामान आयात गरेको छ भने नेपालले १ अर्ब ८ करोड रुपैयाँ बराबरको सामान मात्र निर्यात गरेको छ ।

यता, थाइल्याण्डसँग नेपालले गत आर्थिक वर्षमा १३ अर्ब १० करोड रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ ।

गत वर्ष नेपालले १४ अर्ब १३ करोड रुपैयाँको सामाग्री थाइल्याण्डबाट आयात गरेको थियो भने नेपालले ३ करोड २६ लाख रुपैयाँको सामाग्री मात्र निर्यात गरेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार म्यानमारसँग नेपालले गत आर्थिक वर्ष ४ अर्ब ११ करोड रुपैयाँको व्यापार घाटा बेहोरेको छ । गतवर्ष नेपालले म्यानमारबाट ४ अर्ब ११ करोड रुपैयाँको सामाग्री आयात गरेको छ । नेपालले भने ९ लाख ५० हजार रुपैयाँको सामाग्री मात्र निर्यात गरेको छ ।

यसैगरी बिम्स्टेकमा संलग्न अर्को देश भुटानसँग गत आर्थिक वर्षमा नेपालले १ अर्ब ५६ करोड रुपैयाँको व्यापार घाटा बेहोरेको छ । गत वर्ष नेपालले भुटानबाट १ अर्ब ६३ लाख रुपैयाँ बराबरको सामान आयात गरेको छ । नेपालले भुटानमा ७ करोड ५८ लाख रुपैयाँ बराबरको सामाग्री निर्यात गरेको छ ।

उता, श्रीलंकासँग नेपालले गत आर्थिक वर्षमा ३० करोड रुपैयाँको व्यापार घाटा बेहोरेको छ । गत वर्ष नेपालले श्रीलंकाबाट ३० करोड ९६ लाख रुपैयाँको सामाग्री आयात गरेको थियो । नेपालले ८९ लाख ५५ हजार रुपैयाँको सामाग्री निर्यात गरेको थियो ।

बिम्स्टेकमा नेपाल सहित ७ राष्ट्र संलग्न रहेका छन् ।


क्लिकमान्डु