५० लाखसम्मको ऋण एक सातामै दिन्छौंः रावा बैंकका सिइओ श्रेष्ठको अन्तर्वार्ता



गत आर्थिक बर्षमा सबैभन्दा बढी नाफा कमाउने बैंक राष्ट्रिय बाणिज्य बैंक हो । उसले गत आर्थिक बर्षमा ४ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा गर्यो ।

यो नाफामध्ये १ अर्ब ५१ करोड रुपैयाँ जति राइट ब्याकबाट आएको थियो । पूर्ण सरकारी स्वामित्वका राष्ट्रिय बाणिज्य बैंकलाई पुरातन सोच भएको बैंक भन्ने आरोप पनि लाग्ने गरेको छ ।

तर, तरलता अभाव जस्ता सानातिना समस्यामा नहल्लने बैंकको रुपमा स्थापित राष्ट्रिय बाणिज्य बैंकको ब्यवस्थापन र संचालक समिति पनि सरकारले नै बनाउने गरेको छ । सरकारी बैंक भएर पनि राष्ट्रिय बाणिज्य बैंकले लोभलाग्दो प्रगति गरेको छ । बैंकले गरेको प्रगति, नाफा उच्च हुनुका कारण, बैंकका आगामी योजना जस्ता विषयमा केन्द्रीत रहेर राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइयो) किरणकुमार श्रेष्ठसँग क्लिकमाण्डूडटकमका लागि आशीष ज्ञवालीले गरेको कुराकानीः

कर्जाको आधारदर राष्ट्रिय वाणिज्य बैंकको कम छ, तर पनि किन सहज रुपमा ऋण नपाउने गुनासो ग्राहकको हुन्छ ?

राष्ट्रिय वाणिज्य बैंकबाट ऋण नै नपाउने भन्ने कुरा होइन । किनभने यो वर्षको हाम्रो ग्रोथरेट हेर्दा पनि थाह हुन्छ । यो पटक १८ प्रतिशतको बृद्धिदर कर्जामा देखिएको छ । हाम्रो बैंक सरकारी बैंक पनि हो ।

त्यसले गर्दा हाम्रो प्रक्रिया र नीति नियम केही फरक छ । धेरै प्रक्रिया पुर्याउनु पर्ने हुँदा केही ढिलो हुने हुन्छ । ग्राहकको जुन चाहना हुन्छ, चाहना अनुरुप नपाएको हुनसक्छ । तर, ऋण नै पाइएन भन्ने कुरा भने होइन ।

बैंकमा लगानी योग्य रकम अभाव भएसँगै कर्जाको ब्याजदर बढ्यो, तपाईहरुको संस्तो थियो तर, त्यो अनुसारको ऋण गएन त ?

हाम्रो वार्षिक कार्यक्रम हुन्छ । त्यो अनुसार हामी चल्ने हो । हामीले १ खर्ब २२ अर्ब रुपैयाँ कर्जा पुर्याउने लक्ष्य लिएका थियौं । हामीले असार मसान्तसम्म १ खर्ब २१ अर्ब रुपैयाँ ऋण दियौं । हामीले जे लक्ष्य लिएका छौं, त्यो अनुसार चलेका छौं ।

तपाईहरुको ब्याजदर अरुकोभन्दा सस्तो छ, के गर्दा सहजै ऋण पाइन्छ, कति दिनमा ?

ऋणको आकार हेरेर हुन्छ । एकदमै सानो १ लाख दुई लाखदेखि १ अर्बसम्मको हुन्छ । त्यो ऋण र सहवित्तीयकरणमा दिने कर्जाको स्थिति हेरेर फरक हुन्छ । ग्राहकले हामीलाई चाहिने कागजजात कसरी बुझाएको हुन्छ, त्यसमा भर पर्छ । धेरै ग्राहकले कागज पुरा नगर्दा ऋणको लागि दिएको निवेदन र त्यो स्वीकृतिको ग्याप लामो हुने हुन्छ । पूर्णरुपमा फाइल पेश भएमा ऋणको लागि आवेदन दिएको एक हप्तामा साना कर्जामा ऋण पाइन्छ । ५० लाखसम्मको ऋण एक हप्तासम्म दिने व्यवस्था मिलाएका छौं । अरु कर्जा आयोजनाको अवस्था र ऋण दिनुपर्ने रकमको आधारमा हुन्छ ।

राष्ट्रिय वाणिज्य बैंकमा तरलता सहज छ तर, व्यवसाय विस्तार सुस्त छ, निजीसँग प्रतिस्पर्धा गर्ने गरी बैंक कसरी आउँछ ?

वाणिज्य बैंक अहिले ट्रान्जिशनल पिरियडमा छ । हिजोको पुरानो पिढीको पुस्ता भदौ असोजसम्ममा अवकास पाइसक्छ । यो वर्ष र अहिले गरेर ८ सय जना कर्मचारी नयाँ लियौं । अब हामीले साढे ५ सयजनालाई लिने योजना बनाएका छौं । भदौ असोजमा नयाँ भर्नाको लागि विज्ञापन खुल्छ । अहिले पनि नयाँ कर्मचारीको भर्नाको लागि अन्तरर्वार्ताको काम पनि चलेको छ । अब १४ सय कर्मचारी नयाँ हुन्छ । पुराना कर्मचारी पनि १० वर्ष अवधी काम गरेका कर्मचारी हुन्छन् ।

आउने वर्षदेखि वाणिज्य बैंकमा सेवामा गुणात्मक रुपमा फड्को नै मार्ने छ । ३० वर्ष लामो अवधी काम गरेका कर्मचारी अवकास पाउने हुन्छ । गतवर्ष हामीलाई कर्मचारी अभाव भएको वर्षको रुपमा रह्यो । जसले गर्दा अपेक्षित रुपमा सेवाहरु दिन सकेनौं । यद्यपि हाम्रो लक्ष्य पुरा गर्यौ । तर, जनशक्तिको अभावमा कठिन अवस्थाको सामना गर्नुपर्यो ।

वाणिज्य बैंक सुधार गर्न दाताबाट ऋण लिनुपर्यो, करदाताको पैसा यहाँ लगानी गर्नुपर्यो, अब विगतमा जस्ता समस्या त आउदैन नि ?

१० वर्षको तथ्यांक हेर्नुहुन्छ भने हाम्रो नाफा हरेक वर्ष बढ्दै गएको छ । गत आर्थिक वर्षमा हामीले सबैभन्दा बढी ४ अर्ब ३२ करोड रुपैयाँ नाफा गर्यौं । हामीले ३ अर्ब ७५ करोड नाफा गर्ने लक्ष्य लिएकोमा त्यो लक्ष्यभन्दा बढी नाफा कमाउन सफल भयौं ।

दोस्रो कुरा हामी प्रविधिमा पछाडिमा थियौं । हामी म्यानुएलबाट प्रविधिमा गयौं । हाम्रोमा पुरानो तरिकाले काम गर्ने जनशक्ति फेरिएको छ । अब नयाँ सोच र नयाँ प्रविधिले काम गर्ने जनशक्ति आएको छ ।

हामी संस्थागत सुशासनमा प्रतिबद्ध छौं । त्यो स्थितीमा हामी पछाडि फर्केर जाने छैनौं ।

हिजोको पुरानो पिढीको पुस्ता भदौ असोजसम्ममा अवकास पाइसक्छ । यो वर्ष र अहिले गरेर ८ सय जना कर्मचारी नयाँ लियौं । अब हामीले साढे ५ सयजनालाई लिने योजना बनाएका छौं ।

तपाई वाणिज्य बैंकमा आएको दुईवर्ष भयो, तपाई आएपछि वाणिज्य बैंकमा कस्तो परिवतर्न आयो ?

निक्षेप र कर्जा दुई वर्षको अवधीमा धेरै ठूलो मात्रामा बृद्धि हासिल गरेका छांै । म आउदा ८४ अर्ब रुपैयाँ ऋण थियो । अहिले १ खर्ब २० अर्ब रुपैयाँ ऋण प्रवाह भएको छ । दुई वर्षको अवधीमा क्रेडिटमा ठूलो बृद्धिदर हासिल गरेका छौं । अब नेटवर्कको कुरा गरौ । ५० वटा शाखा २ वर्षको अवधीमा खोल्यौं । यस्तै हामीले सहायक कम्पनी आरबीबी मर्चेन्ट खोल्यौं ।

जनशक्तिको अभाव थियो । मुद्दा मामलाले कर्मचारी भर्ना गर्न नसक्ने स्थिति थियो । नयाँ कर्मचारी भर्ना गर्यौं । कर्मचारीको क्षमता बढाउन स्वदेश तथा विदेशमा तालिम गर्यौं ।

यस आधारले दुई वर्षमा विजनेश, नेटवर्क र कर्मचारीमा ठूलो फड्को वाणिज्य बैंकले मारेको छ । सम्पत्ती शुद्धीकरण निवारणको विषयमा हामी धेरै पछाडि थियौं । यसमा हामीले काम गर्यौं । तुलनात्मक चार्टमा हेर्दा हामीले धेरै विषयमा प्रगती हासिल गर्न सफल भएका छौं ।

बजारमा निक्षेपकको अभाव हुँदा अरु बैंकले बढी ब्याज दिएर निक्षेप लिए, यसले वाणिज्य बैंकलाई यसले कस्तो असर गर्यो ?

हामीले ऋणीलाई नै त्यस्तो गरेर ब्याजदर परिवतर्न गरेनौं । निक्षेपमा पनि त्यही अनुसार परिवर्तन गर्यौं । बजार अनुसार केही ब्याजदर परिवर्तन गर्यौं । हाम्रो निक्षेप झिक्ने काम पनि भएन । हामी सहज अवस्थामा नै रहन सफल भयौं ।

द्वन्द्व विस्थापन भएका शाखाको पुनस्थापनाको काम कति सकियो ? स्थानीय तहमा जानुपर्नेमा शाखा स्थापना भइसक्यो ?

हामीलाई २१ वटा स्थानीय तहमा जानुपर्ने थियो । जसमा हामीहरु १८ वटा स्थानीय तहमा गयौं । तीन वटा डोल्पाको दुईवटा र मुगुको एउटा हामी पुग्न नसक्ने स्थिति छ । पुनस्थापनाको क्रम जारी छ । यसैक्रममा हामीले ३८ वटा शाखाहरु खोल्ने तयारीमा छौं । केही शाखा बाँकी छ । चालु आर्थिक वर्षमा पुनस्थापना हुने शाखा सबै भइसक्छ । स्थानीय तहमा असोज मसान्तसम्ममा शाखा खुलिसक्छ ।

नयाँ कर्मचारी आएपछि प्रविधियुक्त वाणिज्य बैंकलाई कसरी लैजाने योजना छ ?

प्रविधिमा धेरै ठूलो परिवर्तन भएको छ । यो हाम्रो बैंकको लागि ठूलो चुनौति हो । हिजो म्यानुएलबाट आएको हामीलार्ई धेरै ठूलो चुनौती हो । अहिले हामीले पुमरी थर्ड चलाइरहेका छौं । यसमा हामी सिस्टम अडिट गरेर यसको ग्यापलाई पुरा गर्ने छौं । प्रविधि अनुसार जाने अनुसारको प्रोडक्ट ल्याउने तयारी हाम्रो छ । हामीले अध्ययन गरेका छौं । जति गर्नुपर्ने छ, त्यो अनुसारको भएको छैन ।

बैंकहरु सधै अनुत्पादक क्षेत्रमा केन्द्रीत भए, आयातलाई घटाउने गरी उत्पादन मुलक क्षेत्रमा कर्जा दिने योजना छैन ?

हाम्रो अर्थतन्त्रको चरित्र नै निर्यातभन्दा आयात बढी छ । हाम्रोमा कुल ऋणमा ६० प्रतिशत एसएमईमा छ । हामीले हाम्रो बैंकको भाषामा एसएमईलाई हाम्रो सुन्दर विशेषता हो भनेका छौं । सुन्दर विशेषता किन भनेको भने यो छरिएर २०५ शाखामा छ । एकदम साना मझौला किसिममा १० लाख ५० लाखसम्मका छन् ।

जबसम्म कृषि जलविद्युत्मा कर्जा बढाउन सक्दौनौं यसले समस्या निम्ताएको नै हुन्छ । ट्रेडिङमा बढी जादा पैसा बाहिर जाने समस्या आएको हुन्छ । हाम्रो फोकस राष्ट्रिय अर्थतन्त्रलाई सुधार गर्न कृषि, जलविद्युत् र पर्यटनमा फोकस गरेका छांै ।

अब व्यवसायिक फर्म र कम्पनीलाई कर कार्यालयमा दिएको विवरणकै आधारमा बैंकमा विवरण बुझाएपछि मात्र ऋण पाउने व्यवस्था गरेको छ, यसले ऋण जान कस्तो खालको समस्या छ ?

सरकारले यो निकै नै राम्रो व्यवस्था गरेको छ । करमा जे विवरण हुन्छ, बैंकमा पनि त्यही विवरण चाहिन्छ । हामीले एजुकेशन दिनुपर्ने विषय नै यही हो । अहिले केन्द्रीय कार्यालय र शाखामा ग्राहकसँग छलफल भएको विषय नै यही हो । यसलाई कसरी व्यवस्थापन गर्नेमा हामी छलफलमा छौं ।

राज्यले ल्याएको नीति तथा फेयर प्राटिक्स गर्नको लागि कार्यान्वयन गर्नुपर्ने अवस्था छ । ग्राहकलाई सम्झाउनुपर्ने अवस्था छ । बढी अन्तरक्रिया गर्नुपर्ने अवस्था छ ।

केही ऋणको फाइल रोकिएका छन् । ऋणीहरुले किन यो चाहियो हामीलाई, किन चाहियो, हाम्रो कारोबार ठूलो छैन भन्ने जस्ता गुनासो आएका छन् । हामीले यो विषयको जानकारी गराउने र सहजिकरण गर्ने काम गरेका छौं ।


क्लिकमाण्डू