भीमफेदीमा ‘सिंहदरबार’ पुगेपछि के गर्दैछ काठमाडौंको ‘भिषा’ दिने चिसापानी गढी ?




काठमाण्डौ । प्रदेश नम्बर ३ को अस्थायी मुकाम मकवानपुर जिल्लाको १ उपमहानगर, १ नगर र ८ गाउँपालिका मध्ये एक हो भीमफेदी गाउँपालिका ।

क्लिकमाण्डुले शुरु गरेको स्थानीय तह स्तम्भमा आज भीमफेदी गाउँ पालिकामा विकास निर्माणका काम के कसरी भइरहेका छन् भन्ने बारेमा चर्चा गरेका छौं । सरकारले संघीयता मार्फत गाउँगाउँमा सिंहदबार पुर्याइएको दाबी गरेपछि नै हामीले यो स्तम्भ सुरु गरेका हौं ।

भीमफेदी गाउँ पालिकाका अध्यक्ष हुन् हिदम लामा । उपाध्यक्षको पदमा छिन् पार्वती राना । तामाङ समुदायका युवा पुस्ताका प्रभावशाली व्यक्ति लामाको नेतृत्वमा भीमफेदी गाउँ पालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएकोपनि १ वर्ष पूरा भइरहेको छ ।

१ वर्षमा के के भए त ?
गाउँपालिका अध्यक्ष लामाका अनुसार १ वर्षको अवधि गाउँपालिका सञ्चालन ऐन नियम निर्माण मै बित्यो । अब स्थानीय तह कसरी सञ्चालन गर्ने भन्ने आधार तय भएको छ । विकास निर्माण, भौतिक पूर्वाधार र सामाजिक कार्यको थालनीपनि भएको छ ।

अध्यक्ष लामा

भीमफेदी गाउँपालिकामा बिद्युतीकरण, बाटो निर्माण र सिंचाईको व्यवस्था गर्नेतर्फपनि ध्यान केन्द्रित गरेको लामा बताउँछन् । सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बताउन पहल थालिएको उनले बताए ।

पुरातात्विक महत्वका क्षेत्रको संरक्षण
भीमफेदी मकवानपुर जिल्लाको पुरानो सदरमुकाम पनि हो । भीमफेदीबाट सदरमुकाम हेटौंडा सारिएपछि भीमफेदी बिस्तारै पछाडि परेको अवस्था हो । अब भीमफेदीलाई फेरि विकासको रफ्तारमा दौडाएर देशकै नमूना गाउँपालिका बनाउने अभियानमा आफू क्रियाशील भएको अध्यक्ष लामा बताउँछन् ।

भीमफेदी पुरानो बस्ती भएको क्षेत्र हो । भीमफेदीमा विक्रम संवत् १८६४ मा तत्कालीन श्री ३ जंगबहादुरले निर्माण गरेको आकाशेधारा जीर्ण अवस्थामा रहेको थियो, त्यसको पुनःनिर्माण गरिंदैछ । भीमफेदीमा ऐतिहासिक चिसापानी गढीपनि छ । जहाँ परापूर्वकालमा काठमाण्डौ उपत्यका जानका लागि भिसा लगाउने काम त्यहीबाट हुन्थ्यो । चिसापानी गढीमा रहेको कालीतोप, बडाहाकिमको घरलाई जस्ताको तस्तै राखेर संरक्षणको प्रयास थालिने उनले बताए । यसका लागि पुरातत्व विभाग र पर्यटन विभागसँग छलफल अघि बढिसकेको उनले बताए ।

ऐतिहासिक स्थल हात्तीसारपनि छ भीमफेदीमा । हात्तीसारमा रहेको हौदालाई व्यवस्थित गर्ने कामपनि भइरहेको छ ।

त्रिखण्डी क्षेत्रमा पाइलट बाबाको ध्यान केन्द्र निर्माणका लागि १ करोड बजेट व्यवस्था भएको छ । त्रिखण्डी क्षेत्रलाई ऐतिहासिक धार्मिक स्थलगतको रुपमा विकास गर्ने गरी योजना बनाइएको छ ।

भीमफेदीमा रहेको मैत्री बगैंचालाई व्यवस्थित पर्यटकीय स्थल बनाउन २५ लाख बजेट बिनियोजना गरिएको छ ।

शिक्षा क्षेत्रमा के के भए ?
भीमफेदीमा रहेका २ वटा सामुदायिक विद्यालयमा प्राबिधिक शिक्षको थालनी गरिंदैछ । महेन्द्र माविमा सव इञ्जिनियरिङको पढाई र महालक्ष्मी माविमा बालि बिज्ञानको पढाई शुरु गरिंदैछ । यसका लागि गाउँपालिकाबाट सहयोग भएको छ । २ वटा विद्यालमा अंग्रेजी माध्यमको पढाई शुरु गरिएको गाउँपालिका प्रमुख लामा बताउँछन् ।

प्रत्येक वडामा बाटो
भीमफेदी गाउँ पालिकामा पहाडी क्षेत्र छन् । कयौं वडामा मोटर बाटो पुगेको छैन । यसरी मोटरबाटो नपुगेका वडामा वर्षैभरी पुग्ने रणनीतिक बाटो निर्माण बनाउने योजना छ । यो काम अब शुरु हुने उनले बताए ।

१ मेगावाटको बिजुली निकालिने
भीमफेदी गाउँपालिका जलबिद्युतको उर्बर क्षेत्र मानिन्छ । भीमफेदी गाउँपालिका अन्तरगत पर्ने कोगटे र इपामा स्थानीय खोलाको पानीबाट सिचाईँको व्यवस्था गर्ने र त्यही पानीको उपयोग गर्दै १ मेगावाट बिजुली निकालेर स्थानीय बासिन्दाको घर उज्यालो बनाउने योजना छ । यसकालागि निजी क्षेत्रसँगपनि सहकार्य गर्ने योजना गाउँपालिकाले बनाएको अध्यक्ष लामा बताउँछन् ।

स्वास्थ्य सेवातर्फ
भीमफेदी गाउँ पालिका विशेष गरी जनजाति बाहुल्यता भएको क्षेत्र हो । यहाँका बासिन्दा गुणस्तरीय स्वास्थ्य सेवाबाट समेत बञ्चित रहँदै आएका छन् । भीमफेदी गाउँ पालिकामा १५ सैयाको अस्पताल निर्माण गर्ने योजना छ । नौ वटै वडामा स्वास्थ्य इकाई स्थापना गरेर स्थानीय जनताहरुको स्वास्थ्य अवस्थाको स्तरलाई माथि उठाइने र त्यसकालागि गाउँपालिकाले योजना बनाइसकेको छ ।

काठको पोलमुक्त भीमफेदी
अबको केही समय भित्रै भीमफेदी गाउँ पालिकालाई काठको पोल मुक्त भीमफेदी बनाइने छ । बिजुटी सर्ट भएर भीमफेदीमा प्रत्येक वर्ष ३ जनाले ज्यान गुमाउँछन् । यो अवस्थाबाट उन्मुक्ति पाउनका लागि काठको पोल हटाएर सिमेन्टको पोल हाल्नका लागि गाउँ पालिकाले ध्यान केन्द्रित गरेको छ ।

नमूनायोग्य काम के भयो ?
आफूहरु गाउँपालिकामा निर्वाचित भएर आएपछि मावि तहका विद्यालयमा छात्राहरुका लागि सेनेटरी प्याड बितरणको नयाँ योजना सञ्चालन गरिएको उनले बताए । महिनावारी भएको बेला विद्यालयमा प्याडको व्यवस्था नहुँदा धेरै छात्राहरुले पढाई छाड्ने गरेका थिए । तर, अब त्यस्तो अवस्थाको अन्त्य भएको लामा बताउँछन् ।

अब त संघीय सरकारले नै देशभर कै बिद्यालयमा सेनेटरी प्याडको व्यवस्था गर्ने भएको छ । आफूहरुले शुरु गरेको यो कामलाई संघीय सरकारले अंगिकार गरेकोमा आफूलाई आत्मसन्तुष्टी मिलेको लामा बताउँछन् ।

आगामी दिनका योजना
गाउँपालिका अध्यक्ष लामाका अनुसार ५ वर्षे कार्यकाल मध्ये १ वर्ष बितिसकेको छ, अबको ४ वर्षमा प्रतिव्यक्ति आय कसरी बृद्धि गर्न सकिन्छ भन्नेबारेमा गृहकार्य भइरहेको छ । सारक्षता दर ८० प्रतिशत पुर्याइने अभियान चलाइने छ । गुणस्तरीय स्वास्थ्य सेवाको अभावमा कम उमेरमा मृत्यु हुने क्रम बढ्दो छ भीमफेदी गाउँपालिकामा । स्थानीय जनताहरुको आयु बृद्धिका लागि काम गरिनेछ र भौतिक पूर्वाधारको क्षेत्रमापनि उल्लेख काम गर्ने आफ्नो योजना रहेको लामाले सुनाए ।

१ वर्षे कार्यकालको अनुभव
जनप्रतिनिधि र गाउँपालिकाका कर्मचारीबीच जुन किसिमको सुमधुर सम्बन्ध हुनु पथ्र्यो त्यस्तो हुन सकेको छैन । पर्याप्त कर्मचारी व्यवस्थापन हुन सकेको छैन । प्राबिधिक जनशक्तिको अभावमा काम प्रभावकारी हुन नसकेको लामाको अनुभव छ । लामा भन्छन्– मैले आफ्नो गाउँपालिकामा पारदर्शितालाई धेरै ध्यान दिने गरेको छु । म आफूपनि भ्रष्टाचार गर्दिन र अरुलाईपनि भ्रष्टाचार गर्न दिन्न । यति मात्र गर्न सके भने एउटा सफल गाउँपालिका अध्यक्ष हुने उनको अठोट छ ।

भीमफेदी गाउँ पालिकाको बस्तुस्थिति
भीमफेदी गाउँपालिका २४५.२७ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएर मकवानपुर जिल्लाको मध्य भागमा अवस्थित छ । यस गाउँपालिकाको केन्द्र साविकको भीमफेदी रहेको छ । यो तह मकवानपुर जिल्लाका ५ वटा साविकका गाविसहरु र १ गा.वि.स. का ३ वटा वडाहरुलाई मिलाएर बनाइएको हो ।

यस गाउँपालिका अन्तर्गतका साविक गाविसहरुमा भैंसे, निबुवाटार, भीमफेदी, कोगटे, ईपापन्चकन्या, नामटार (१,२,३) रहेका छन् । तामाङ, मगर, क्षेत्री जातको उच्चतम वसोवास यस क्षेत्रमा पाउन सकिन्छ । यस गाउँपालिकामा ९ वटा वडा रहेको छ ।

यस गाउँपालिकाको सिमानामा पूर्वतर्फ ललितपुर जिल्ला, पश्चिमतर्फ कैलाश गाउँपालिका र हेटौडा उप–महानगरपालिका, उत्तरतर्फ थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिका र दक्षिणतर्फ हेटौडा उप–महानगरपालिका, मकवानपुरगढी र बकैया गाउँपालिका रहेको छ ।

जनगणना २०६८ अनुसार भीमफेदी गाउँ पालिकाको जनसंख्या २३३४४ रहेको छ । यस गाउँपलिकाको साक्षरता प्रतिशत ६८.८ रहेको छ । यस मध्य पुरुष साक्षरता प्रतिशत ७५.४ र महिला साक्षरता प्रतिशत ५८.३ रहेको देखिन्छ ।


क्लिकमान्डु