अनामनगरमा बाढी पसेको थाहा पाउँदा पनि किन केही गर्न सकेनन् वडाअध्यक्षले ?




काठमाडौं । गएराती धोबीखोलाको पानी अनामनगर आसपासका बस्तीमा पस्दा त्यस क्षेत्रको जनजीवन प्रभावति बनेको छ । अनामनगर क्षेत्रका घरको तल्लो तला र सडक पानी तथा हिलोले भरिएको छ ।

तल्लो तलमा बसोबास गरिरहेका धेरै मानिस नयाँ कोठाको खोजीमा समेत लागेका छन् । धोबिखोलाको बाढी मैतिदेवीदेखि बिजुलीबजार आसपाससम्म पसेको थियो ।

काठमाडौं महानगरपालिका वडा नं २९ मा पर्ने अनामनगर क्षेत्र डुबानमा परेपछि अहिले त्यहाँका बासिन्दा सुरक्षित बासको खोजीमा छन । बाढी, डुबान, पहिरो, भूकम्प तथा अन्य प्राकृतिक विपदको समयमा सक्रिय हुनुपर्ने स्थानीय निकायले विपदको समयमा समेत केही गर्न सकेन ।

काठमाडौं महानगरपालिकाको वडा नं २९ मा पर्ने यो क्षेत्रमा बाढी आएको सूचना त्यहाँका वडा अध्ययक्ष कुश ढकालले राती नै पाएका थिए । समयमै बाढीको सूचना पाएर पनि स्रोत साधनको अभावमा केही गर्न नसकिएको उनले बताए ।

‘मैले त्यही दुई, तीन बजेतिर (राती) थाहा पाएको हूँ, अब मैले थाहा पाएर मात्रै केही हुने थिएन, मैले राती नै थाहा पाएपनि हामीसँग विपदको समयको लागि भनेर केही स्रोत साधन छैन, त्यही भएर राती केही गर्न सकिएन,’ उनले भने ।

स्रोत र साधनको अभावमा सबै कुरा थाह पाएर पनि आफु निरिह बन्नु परेको ढकालले बताए ।

देशको राजधानी समेत रहेको काठमाडौं र सबैभन्दा धेरै बजेट रहेको महानगरपालिका काठमाडौं महानगरपालिकाले पनि विपद्को पूर्व तयारी नगर्दा धोबीखोलाको बाढीले थप क्षती पुग्यो । बाढी आईसकेपछि पनि वडा कार्यालयले बाढीले ल्याएको हिलो सफा गर्न स्काभेटर पनि ढिलो गरि खोज्न सक्यो ।

‘हामीले स्काभेटर खोजेर बाढी पसेको क्षेत्रको हिलो सफा गरेका छौं, हाम्रो वडाका ८ वटा घरमा धेरै नै क्षति भयो भन्ने जानकारी आएको छ, त्यसको लागि हामी काम गर्दै छौं, अनि बाढीमा फसेका परिवारको लागि केही सेल्टरको व्यवस्था गर्ने कि भन्ने पनि सोच्दै छौं,’ उनले थपे ।

देशको मुख्य प्रशासनिक भवन सिंहदरबारको पूर्वीगेट नजिकैसम्म धोवीखोलाले डुवाएको थियो ।

खोला मिच्ने, नक्सा पास नगरी घर बनाउने प्रबृत्तिले यस्तो विपद निम्त्याएको उनको भनाइ छ ।

‘अब हामीले खोला किनारका वस्तीका विषयमा गम्भिर हुनुपर्छ,’ उनले भने ।

गाउँ गाउँमा सिहँदरबार भनिए पनि सिंहदरबारको पूर्वीगेट नै खोलाको बाढीले डुवाउँदा पनि केन्द्र सरकार वा स्थानीय सरकारले केही गर्न सकेन । स्थानीय तहसँग विपदको सामना गर्ने कुनै संयन्त्र छैन ।

‘गाउँ गाउँमा सिहँदरबार पुग्यो भनिन्छ तर हामीसँग विपदको लागि बजेट छैन, उद्धारका लागि आवश्यक समाग्री छैन, केही विपद पर्यो भने केन्द्र सरकारलाई गुहार्नुपर्ने अवस्था छ,’ वडाअध्यक्ष ढकालले भने ।

अधिकारसंगै स्रोत साधन पनि आवश्यक रहेको उनको भनाइ छ ।

अनामनगरमा बाढी पसेपछि आज दिउसो नै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आफू मातहतका विभागलाई क्षतिको अध्ययन गर्न निर्देशन दिएका छन् ।


क्लिकमान्डु