यी देशले बैदेशिक लगानी भित्र्याएर मालामाल गरे, नेपालले किन नसक्ने ?: बैंकर अशोक शेरचनको विश्लेषण
बैदशिक लगानीले कुनै पनि देशको अर्थतन्त्रलाई प्राय सकारात्मक टेवादिने गर्छ । यस किसिमको लगानीको परिचालन गर्न विश्वका हरेक देशहरु क्रियाशिल रहेका हुन्छन् । सन् २०१७ मा विश्वभर करीव ६ खर्ब ६२ अर्ब ७ करोड अमेरिकी डलर बराबरको बैदशिक पुँजी लगानीका रुपमा परिचालित भएको छ ।
अमेरिकाले करीव ८७.४ अर्व डलर बराबरको बैदशिक लगानी भित्र्याउन सफल भई आफूलाई सबैभन्दा अग्रपंक्तिमा राख्न सफल भएको छ । कूल १३ हजार २ सय वटा विभिन्न परियोजनाहरु सन् २०१७ मा बिश्वका बिभिन्न देशहरुमा संचालनमा आएका छन । कोइला, तेल र प्राकृतिक खग्यासमा सबैभन्दा बढी लगानी गरिएको यो बर्ष करीव १८ लाख नयाँ रोजगारी सिर्जना भएको छ ।
बैदशिक प्रत्यक्ष लगानीमा २ वटा देशले प्रतिनिधित्व गर्ने गर्छ । जून देशले लगानी गर्छ त्यसलाई होम र जून देशमा लगानी गरिन्छ त्यसलाई होस्ट राष्ट्रका रुपमा चिनिन्छ । यस किसिमको लगानीले देशको अर्थतन्त्रको गति र आकारलाई ठूलो बढवा मिल्ने गर्छ । पूँजी सँगसँगै ज्ञान, सीप र प्रविधिको पनि परिचालन हुने भएकोले होष्ट राष्ट्रमा रोजगारीका साथसाथै अन्य क्षेत्रमा पनि विविध किसिमका क्रियाकलापहरुले गति लिने गर्छ ।
होम राष्ट्रका संस्थाहरुले पनि लामो अवधिलाई बिचार गरेर फाइदाका लागि लगानी गरेका हुन्छन् । आजको बिश्वमा व्यापारिक घरानाहरु एउटै देशमा मात्र सीमित नरहेर अन्य देशहरुमा पनि अवसरहरुको खोजीमा निरन्तर लागिरहेका हुन्छन् । बर्तमानमा सूचना प्रविधिमा भएको बिकासका कारणले धेरै कार्यहरुको सुपरिवेक्षणलाई निकै सजिलो र छरितो बनाइदिएको छ ।
विगतमा आन्तरिक द्धन्द तथा अस्थिर सरकारलाई सबै क्षेत्रको अधोगतिको कारक मान्निथ्यो । तर आज परिस्थितिले कोल्टे फेरेको छ । यसैले आशा गर्न सकिने ठाउँहरु प्रशस्तै छन । आवश्यकता छ त केवल दह्रो इच्छाशक्तिको ।
बिश्वमा नै बैदशिक लगानीका लागि एशिया प्रशान्त क्षेत्रले अगुवाई गरिरहेको सन्दर्भमा हाम्रो देश नेपालको भने यस क्षेत्रमा निकै दयनिय अवस्था देखिन्छ । अझ भन्नुपर्दा हाम्रा छिमेकी मुलूकहरु चीन र भारत यस क्षेत्रमा पहिलो र दोस्रो पंक्तिमा रहँदा हाम्रो उपस्थिति भने बिन्दूमा पनि खोज्दा भेटिँदैन । यस्को मुख्य कारकका रुपमा हाम्रा विभिन्न किसिमका कमी–कमजोरीहरुलाई लिन सकिन्छ ।
हुन त हाम्रो देश सानो पनि छ, तर हाम्रै आकारको वा हाम्राभन्दा साना आकारका देशहरुले पनि बैदशिक लगानी परिचालन गर्नमा धेरै नै सफलता हासिल गरेको पाइन्छ ।
बैदशिक लगानी भित्र्याउनका लागि केही आधारभूत तत्वहरुले बिशेष भूमिका खेल्ने गर्दछ । जस्तै नीति तथा कानून, तलवमान, करको दर, दक्ष कामदार, राजनैतिक स्थायित्व, बिस्तारको अवसर, यातायात र पूर्वाधार, वजार, सम्पतिमा अधिकार, विनिमयदर, स्वतन्त्र व्यापारको पहुँच आदि ।
यस किसिमको लगानीको केही फाइदा र बेफाइदाहरु पनि छन् । प्रविधि, दक्षता र पूँजीको प्रवाह बढ्छ । रोजगारीको अवसरहरु सिर्जना हुन्छ । स्थानीय स्रोत तथा साधनको उचित मूल्य प्राप्त हुन्छ । स्थानीयहरुले बिदेशी बजारमा पहुँच पाउँछन् ।
त्यसैगरि बेफाइदाहरुमा स्थानीय उद्योग तथा उद्यमीहरुको अस्तित्व गुम्नसक्छ । नाफाजति सबै लग्दछन । संस्कृतिहरु बिगार्छन । स्रोत तथा साधनको दुरुपयोग गर्दछन् आदि । तर पनि यस किसिमको लगानीलाई राष्ट्रको गरिमासँग जोडेर हेर्ने प्रचलन ज्यूँ का त्यूँ छ ।
हामी अलमलमै छौं । हाम्रा नीति नियमहरु, कार्यविधिहरु, प्रक्रियाहरु यस क्षेत्रका लागि मैत्रीपूर्ण छैनन् । एकैद्धारबाट सम्पूर्ण सेवा सेवाग्राहीले पाउन सक्दैनन । सरकारी निकायहरुबीच तालमेल र तादम्यता पाइंदैन । सेवाग्राहीहरुले महिनौंसम्म पनि ठोस निर्णयहरु पाउँदैनन् । यिनै र यस्तै कारणहरुले हाम्रो देशमा बैदशिक लगानीका लागि लगानीकर्ताहरुको कुनै रुची देखिँदैन । दशकौं देखि नै यस क्षेत्रमा खासै बृद्धि हामीले देख्न पाउँदैनौं ।
देशको बागडोर बर्तमानमा स्थायी एवं बहुमत प्राप्त सरकारको हातमा छ । अर्थमन्त्रीकारुपमा बिज्ञ अर्थशास्त्री एवं केन्द्रिय बैंकलाई सफल नेतृत्व प्रदान गरिसकेका गभर्नर छन् । जोसँग देश बिदेशमा विभिन्न निकायहरुमा उच्चओहोदामा रहेर बिशेषज्ञता प्रदान गरेको अनुभव छ ।
अर्थमन्त्रीले देशको अर्थतन्त्र र यससँग जोडिएका अंशहरु उद्योग र उद्यमी, व्यापार र व्यापारी, स्रोत र साधन, आयात र निर्यात, कृषि र पर्यटन, जलस्रोत र पूर्वाधार, कर र राजस्व, नाफा र नोक्सान, बैदशिक सहायता र ऋण, परिचालनकर्ता र उपभोगकर्ता, कर्मचारीतन्त्र र राजनैतिकतन्त्र आदिका बारेमा राम्रो दख्खल राख्छन् । त्यसैले अबका दिनमा यस क्षेत्रमा उल्लेख्य प्रगतिको सम्भावना देख्न सकिन्छ ।
समृद्ध नेपाल र सुखी नेपाली मूल मन्त्रलाई सफल तुल्याउनमा सबैभन्दा ठूलो भूमिका उनकै रहन्छ । धेरै नेपालीले धेरै आशा गरेका इतिहासका केही पात्रहरु मध्येमा बर्तमानमा अर्थमन्त्रीलाई पनि लिन सकिन्छ ।
सन २०१७ मा एशिया र प्रशान्त क्षेत्रका देशहरुले सवैभन्दा बढी बैदशिक लगानी भित्र्याएको देखिन्छ । कुल ६६३ अर्व डलरमध्ये यस क्षेत्रले करीव १९७ अर्व डलर आफ्नो क्षेत्रमा परिचालन गर्दै करीव ३० प्रतिशत हिस्सा ओगटेको छ । चीन र भारतसँगै भियतनाम र कजाकस्तानको सफलताबाट हामीले धेरै सिक्न सक्छौं ।
यूरोपका देशहरुमध्ये बेलायतले सबैभन्दा बढी बैदशिक लगानी परिचालन गर्न सक्षम भएको छ भने पोल्याण्ड र रोमनियाले यूरोपका अन्य ठूला देशहरुलाई माथ खुवाएको देख्दा हाम्रो पनि सम्भावनालाई नकार्न सकिँदैन । कुल ६६३ अर्व डलर मध्ये यस क्षेत्रले करीव १५४ अर्व डलर आफनो क्षेत्रमा परिचालन गर्दै करीव २८ प्रतिशत हिस्सा ओगटेको छ ।
उत्तरी अमेरिका अन्र्तगत अमेरिका र क्यानडाको आँकडालाई लिइएको छ । बिश्वमै सबैभन्दा बढी बैदशिक लगानी भित्र्याउने देशमा अमेरिका पर्दछ । सन् २०१७ मा अमेरिका एक्लैले ८७.४८ अर्व डलर बराबरको बैदशिक लगानी भित्र्याएको थियो । त्यस्तै क्यानडाले १२.७८ अर्व डलर भित्र्याएको थियो । कुल ६६३ अर्व डलरमध्ये यस क्षेत्रले करीव १००.२६ अर्व डलर आफनो क्षेत्रमा परिचालन गर्दै करीव १५ प्रतिशत हिस्सा ओगटेको छ ।
ल्याटिन अमेरिका अन्र्तगतका देशहरुले पनि यस क्षेत्रमा राम्रै प्रगति गरेको देख्न पाइन्छ । मेक्सिकोले २६.४ अर्ब डलर बैदशिक लगानी भित्र्याएको छ भने इक्वेडर, कोस्टारिका, पनामाजस्ता देशहरु पनि टप टेनभित्र परेका छन् । कुल ६६३ अर्व डलरमध्ये यस क्षेत्रले करीव ६७.२ अर्व डलर आफनो क्षेत्रमा परिचालन गर्दै करीब १० प्रतिशत हिस्सा ओगटेको छ ।
मध्यपूर्व र अफ्रिकाले पनि बैदशिक लगानीलाई आर्कषित गर्नका लागि धेरै नै मेहनत गरेको पाइन्छ । इजिप्टले यस क्षेत्रमा सबैलाई उछिनेको छ भने मोजाम्विकको टप टेनभित्रको यात्रा हाम्रा लागि चाखलाग्दो बन्नसक्छ । कुल ६६३ अर्व डलरमध्ये यस क्षेत्रले करीव ११४.६ अर्व डलर आफनो क्षेत्रमा परिचाल नगर्दै करीव १७ प्रतिशत हिस्सा ओगटेको छ ।
नेपालले बिगत १० बर्षमा बैदशिक लगानीमार्फत् भित्र्याएको तथ्यांकहरु यसप्रकार रहेका छन् । तथ्यांकहरुलाई हेर्दा हाम्रो देशको यस क्षेत्रमा कुनै किसिमको स्थायित्व र एकरुपता देखिँदैन । बिश्व र एशियाली देशहरुसँग तुलना गर्दा हाम्रो देशको अवस्था यस क्षेत्रमा निकै नाजूक र दयनीय देखिन्छ ।
कृषि, उद्योग र सेवा क्षेत्रलाई प्राथमिकतामा राख्दै हाम्रो देशमा पनि विभिन्न देशहरुबाट बैदशीक लगानी भित्रिएको पाइन्छ । विगत २ बर्षदेखि सबैभन्दा बढी वेस्ट इन्डिजबाट लगानी भित्रिएको छ भने भारत र चीन क्रमश दोस्रो र तेस्रो पंक्तिमा परेका छन् । विगतमा आन्तरिक द्धन्द तथा अस्थिर सरकारलाई सबै क्षेत्रको अधोगतिको कारक मान्निथ्यो । तर आज परिस्थितिले कोल्टे फेरेको छ । यसैले आशा गर्न सकिने ठाउँहरु प्रशस्तै छन । आवश्यकता छ त केवल दह्रो इच्छाशक्तिको ।