हेल्लो सरकार, कहिले पुर्ने काठमाडौंमा सडकका खाल्डा ?



काठमाडौं । अरु बेला निदाएर बस्ने सरकार र स्थानीय निकाय मनुसनको मध्यमा भने काठमाडौं उपत्यकाको सडक मर्मत र सम्भारमा लागेको छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सडकको खाल्डा खुल्डी पुर्न सडक विभागलाई निर्देशन दिएको छ ।

तर पानी परिरहेको बेला गरिने सडक मर्मतले कस्तो परिणाम देला भन्नेमा सरकारी अधिकारी कोही पनि प्रतिक्रिया दिन मान्दैनन् ।

गत वर्ष बालाजुमा सडकको खाल्डोमा परेर एक बालिकाको ज्यान गएपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सडकमा रहेका खाल्डा खुल्डी पुर्न निर्देशन दिए । उनको निर्देशनलाई देखाउनका लागि नै भएपनि विभागले केही स्थानमा लगेर माटो थुपार्यो ।

प्रधानमन्त्रीको निर्देशन पूरा भयो भन्दै प्रतिवेदन पनि बुझाइयो । तर सडकको अवस्था जस्ताको तस्तै रह्यो । टाटलटुल गरेर सडक पुर्ने प्रवृत्तिका कारण राजधानीका सडक जोखिमयुक्त बनीरहेका छन् ।

मेलम्ची खानेपानी आयोजनाले खनेका सडक पुर्ने तर्फ कुनै पनि ध्यान दिइएको छैन । सरकारी निकाय अरु बेला चुपचाप बस्ने, कुनै पनि काम नगर्ने र प्रधानमन्त्रीको निर्देशन पर्खेर बस्ने प्रवृत्तिमा पुगेको छ ।

यही साउन १५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शेरबहादुर देउवाले जस्तै सडकका खाल्डा पुर्न पुनः निर्देशन दिए । जेठको पहिलो साता पनि उनले त्यस्तै निर्देशन दिएका दिए । विगतको निर्देशन त कार्यान्वय नै भएन बरु सडकमा नयाँ नयाँ खाल्डा बने ।

साउन १५ गते दिएको निर्देशन पनि कार्यान्वयन हुने अवस्था कम नै रहेको छ । सडक विभागका अधिकारी पानी परेपछि एकाध टिपर गिटी र रोडा लिएर सडकमा निस्कन थालेका छन् । घाम लागुन्जेल कार्यालयमा बस्ने र पानी पर्न थालेपछि सडकमा निस्कने प्रवृत्ति विभागका कर्मचारीको देखिएको छ ।

काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल विगत लामो समयदेखि हिलाम्मे छ । पानी पर्दा हिलोले सास्ती दिएको छ भने घाम लाग्दा धूलो उडेर बसीसक्नु अवस्था छैन ।

अर्को पर्यटकीय गन्तव्य बौद्धनाथ क्षेत्रको अवस्था पनि उस्तै रहेको छ । सरकारी निकायले कुनै पनि सुनुवाई नगरेको भन्दै स्थानीय बौद्ध लामाहरुले प्रतिकाल्तमक विरोध गर्दै सो क्षेत्रको सडकमा रोडा तथा गिटी ओच्याए ।

राजधानी प्रवेश गर्ने प्रमुख नाकाको रुपमा रहेको नागढुंगा-कलकी सडक खण्डको अवस्था पनि उस्तै रहेको छ । सर्वोच्च अदालको आदेशका कारण सडक मर्मत तथा कालोपत्रे गर्न नसकिएको भन्दै सडक विभागले डोजर चलाउने आट गरेको छैन ।

राजधानी आउने नागरिक कुनै ग्रामीण सडकमा हिडेको भन्दा फरक अनुभव गर्न पाउने अवस्था छैन ।

आगामी भदौ १४ र १५ गते काठमाडौंमा बिमेस्टक सम्मेलनको आयोजना गर्न लागिएको छ । सम्मेलनमा विभिन्न देशका सरकार प्रमुख आउने भएपछि जसरी पनि मुख्य सडकलाई खाल्डा–खुल्डी रहित बनाउनुपर्ने बाध्यतामा सरकार रहेको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र सम्बन्धित वडाका जनप्रतिनिधि के गर्दैछन् भन्ने आम मानिसले थाहा पाउन सकेका छैनन् ।

स्थानीय निकायले जनप्रतिनिधि पाएपछि समस्याको समाधान होला भन्ने अपेक्षा गरेका नागरिक समेत निराश भएका छन् । उनीहरुले समस्या समाधानका लागि पटक पटक आग्रह गरेपनि सुनुवाई हुन सकेको छैन ।

भौतिक पूर्वाधार मन्त्री रघुविर महासेठले खाल्डा खुल्डी पुर्ने अभियान सुरु भएको बताए । उनले कलंकी-नागढुंगा सडक खण्डमा बीचको ८ मिटर सडक मात्रै कालोपत्रे गरिने र त्यसको प्रक्रिया सुरु भएको बताए ।

यस्तै बौद्धनाथ क्षेत्रको सडक पनि बीचको ८ मिटर मात्रै कालोपत्रे गरिने भएको छ । मुख्य सडक मात्रै नभई काठमाडौ उपत्यकाको भित्री सडक समेत खाल्डा खुल्डीका कारण समस्याग्रस्त छ ।
कमजोर निर्माण सामग्री र सरकारी काम कहिले जाला घाम भन्ने प्रवृत्तिका कारण गरिएको कालोपत्रेका कारण समस्या बर्षेनी थपिदै गएको हो ।


पुष्प दुलाल