बाढी पहिरोबाट जनजीवन प्रभावित, जाजरकोट र धादिङमा गरी ५ को मृत्यु



काठमाण्डौ । केही दिनदेखिको अबिरल वर्षाका कारण देशभर धनजनको क्षति भएको समाचार प्राप्त भएका छन् । बाढी र पहिरोका कारण पछिल्लो पटक जाजरकोटमा ४ र धादिङमा १ गरी ५ जनाको मृत्यु भएको खबर प्राप्त भएको छ ।

यता, पर्वत जिल्ला भएर बग्ने कालीगण्डकी नदीमा पानीको बहाव बढेका कारण स्थानीय वासिन्दालाई सचेत हुन आग्रह गरिएको छ । अविरल वर्षापछि खसेको पहिरोले मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड अवरुद्ध बनेको छ भने पहिरोका कारण रोकिएको नारायणगढ–मुग्लिन सडक खण्ड भने सञ्चालनमा आएको छ ।

देशभर बाढी र पहिरोका कारण भएको धनजनको क्षति सम्बन्धी पछिल्लो खबर निम्नानुसार छ :

पहिरोले घर पुरिदा चारको मृत्यु

जाजरकोट । भेरी नगरपालिका–३ ठाँटीबजार नजिक पहिरो जाँदा तीर्थ बोहरा र गोपाल सुनारको घर पहिरोले पुरिएको छ ।

तीर्थ बोहराको घरमा डेरा गरी बस्ने लालबहादुर लोहारको जीवित उद्धार गरी जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने लोहारकी श्रीमती, छोरी र दुई छोरासमेतको मृत्यु भएको छ । मृतकहरुको सनाखत हुन सकेको छैन् ।

गोपाल सुनारको घरसमेत पुरिएकाले उद्धार कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो । अहिले घटनास्थलमा सेना, प्रहरी, सशस्त्र प्रहरीको सक्रियतामा उद्धारकार्य जारी रहेको छ ।

पहिरोले एक बालकको मृत्यु
धादिङ । पहिरो आएर घरलाई थिच्दा नीलकण्ठ नगरपालिका–१० भारमालेमा शनिबार राति एक बालकको मृत्यु भएको छ ।

घरमाथिको पहिरोले घर पुरिएर १३ वर्षीय सुजन पुलामीको घरले चेपिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । घटनापछि गाउँवासीले पहिरो पन्छाएपनि शव निकाल्न नसकेको बताइएको छ ।

अबिरल वर्षाका कारण पहिरो आउने क्रम नरोकिएपछि घटनास्थलमा प्रहरी आज बिहान पुगेको छ ।

कालीगण्डकीमा पानीको बहाव बढ्यो : सचेत हुन आग्रह
पर्वत । केही दिनदेखि लगातार परेको वर्षाका कारण पर्वत जिल्ला भएर बग्ने कालीगण्डकी नदीमा पानीको बहाव बढेको छ ।

कालीगण्डकीको मुहान मुस्ताङको तल्लो भागदेखि म्याग्दी तथा पर्वतको उत्तरी क्षेत्रमा लगातार वर्षा भएकाले पानीको सतह ह्वात्तै बढेको हो । त्यसले गर्दा नदी आसपास क्षेत्रका बासिन्दा चिन्तित भएका छन् ।

पानीको सतह बढेपछि जिल्ला प्रशासन कार्यालय पर्वतले तटीय, नदी आसपास क्षेत्रमा दाउरा तथा बालुवा संकलन गर्न जानेलाई सचेत रहन आग्रह गरेको छ ।

पानीको बहाव बढेसँगै मुस्ताङ, म्याग्दी र पर्वतको तटीय क्षेत्र उच्च जोखिममा पर्ने गर्छ । धेरै जोखिममा कालीगण्डकी नदी किनार पर्वतको बारी, बेनी तथा बागलुङको सिमाना मालढुंगाको माझी बस्तीसहित मोदीवेणी, सेतीवेणी र पुर्तिघाट बजार छन् ।

पानीको सतह बढेको बेला नदीबाट काठलगायतका वस्तु निकाल्न किनारमा नजान सचेत गराइएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए ।

तटीय क्षेत्र र नदी आसपासमा देखिएका सर्वसाधारणलाई प्रहरीले सचेत गराएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए ।

मध्यपहाडी लोकमार्ग अवरुद्ध
बागलुङ । अविरल वर्षापछि खसेको पहिरोले मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड अवरुद्ध बनेको छ । काठेखोला गाउँपालिका–१ पालामा गएको पहिरोले गएरातिदेखि नै लोकमार्गमा सवारी आवातजावत ठप्प छ । पश्चिम बुर्तिबाङ, खरबाङ, गलकोटलगायतका ठाउँबाट छोटो तथा लामो दूरीमा चल्ने सवारी साधन बीचमै रोकिएका छन् ।

बिहानैदेखि पहिरो हटाउने काम शुरु भएको प्रहरीले जनाएको छ । दिउँसोसम्म सडक सञ्चालन हुने अक्षेते प्रहरी चौकीका हवल्दार किशोर भण्डारीले जानकारी दिए । ‘डोजर लगाएर काम भइरहेको छ, प्रहरी टोली पनि खटिएको छ,’ उनले भने, ‘ठूलो पहिरो गएका कारण समय बढी लाग्ने देखिन्छ ।’

नारायणगढ–मुग्लिन अवरुद्ध सडक खुल्यो
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ ।

गएराति १०ः२५ बजेबाट अवरुद्ध सडक पहिरो पन्छाएपछि आज बिहान ९ः१५ बजेदेखि सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाएसँगै रोकिएका सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

सो ठाउँमा केही दिनयता ढुंगा खस्ने समस्या आएको छ । सोही ठाउँमा शनिबार पहिरो खसेर चार घण्टा सडक अवरुद्ध भएको थियो । बिगत तीन दिनदेखि परेको वर्षाका कारण ठाउँठाउँमा पहिरो खसेपछि यात्रुले दुःख पाएका छन् । रासस


क्लिकमान्डु