धितोपत्र बोर्डको १० कित्ते नीतिः ठूला लगानीकर्ताले आवेदन गर्नै छोडे




काठमाडौं । गत वर्षको जेठदेखि धितोपत्र बोर्डले सार्वजनिक सेयर निष्कासनमा न्यूनतम १० कित्ता सेयर अनिवार्य दिनुपर्ने नीति ल्यायो ।

बोर्डले १० कित्ताको नीति ल्याएपछि नाम चलेका एक जना लगानीकर्ताले आइपिओ र एफपिओमा लगानी गर्न नै छाडे ।

‘न्यूनतम १० कित्ताको लागि कसले लगानी गर्छ ? मैले आइपिओ नै भर्न छोडेँ,’ ती लगानीकर्ताले क्लिकमाण्डूसँग भने ।

धितोपत्र बोर्डले पुँजी बजार बुलिस ट्रेण्ड भएको बेला ल्याएको १० कित्ता नीतिको असर सेयर बजार बियरिसमा जान थालेपछि आइपिओ र एफपिओ बिक्रीमा देखिन थालेको छ ।

बोर्डले सबैलाई सेयर दिने नीति अन्तर्गत ल्याएको नीतिको असर उल्टो देखिन थालेको छ । बोर्डले संस्थागत लगानीकर्ताले आइपिओ र एफपिओ भर्न नपाउने गरि ल्याएको नीति एनएमबिको एफपिओपछि नीति परिवर्तन गरेको थियो ।

सिदार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिना बोर्डको १० कित्ताको नीतिले ठूलो रकमको आवेदन आइपिओमा पर्न छाडेको बताउँछन् ।

‘सानो आकारको आइपिओ बिक्रीमा समस्या नहोला, भोलि ठूलो रकमको पनि आइपिओ बिक्रीमा थप समस्या पर्ने छ,’ तिमिल्सिनाले क्लिकमाण्डूसँग भने ।

बोर्डले जारी गरेको निष्कासन तथा बाँडफाँड निर्देशिकामा न्यूनतम १० कित्ता सेयर अनिवार्य दिनुपर्ने व्यवस्था गरिएको छ । सैद्धान्तिक आधारले यो नीति ठिक पनि हो । सेयरमा सबैको पहुँच बढाउनको लागि लिएको नीतिले भने सेयर नै बिक्री नहुँने अवस्था सिर्जना भएको छ ।

‘१० करोड रुपैयाँ लगानी गर्दा पनि १० कित्तामात्र सेयर पाउने नीति भएपछि ठूला र संस्थागत लगानीकर्ताको सहभागिता आइपिओमा कम भएको हो,’ सिदार्थ क्यापिटलका सिइओ तिमिल्सिनाले भने ।

बोर्डले भने सेयरको दायरा विस्तार र सेयरको पहुँच बढाउनको लागि सो नीति लिएको बताएको छ । बोर्डले यो वर्ष सार्वजनिक गरेको आफ्नो नीति तथा कार्यक्रममा एक घर एक डिम्याट खाता संचालन गर्ने बताएको छ । यसले सेयर बजारलाई अझै दायरा फराकिलो बनाउने नीति धितोपत्र बोर्डको देखिन्छ ।

सेयर विश्लेषक प्रकाश तिवारी धितोपत्र बोर्डको १० कित्ता सेयर सबैलाई दिने नीति सैद्धान्तिक रुपमा ठिक भएपनि व्यवहारिक रुपमा राम्रो नभएको बताउँछन् ।

‘सानो रकमको आइपिओ निष्कासन भएपछि सेयर धेरैतिर छरिएको हुन्छ, एकमुस्ट ५ प्रतिशत सेयर पाएका सामुहिक लगानी कोषले सेयर मुल्य बढाउने मौका पाउँछन्,’ तिवारीले क्लिकमाण्डूसँग भने ।

उनले १० कित्ताको नीतिले एउटै लगानीकर्ताले धेरैजनाको नाममा सेयर भर्ने नीतिलाई थप प्रोत्साहन गरेको बताए ।

सिदार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत तिमिल्सिना तत्काल सेयर बाँडफाँडको १० कित्ताको नीति परिवर्तन आवश्यक भएको बताउँछन् ।

नीति परिवर्तन नभएमा सेयर बजारमा लगानी गर्ने ठूला लगानीकर्ता थप निरुत्साहित हुने बुझाई उनको छ ।


क्लिकमान्डु