थाइल्याण्डमा मेट्रोरेल बनाउँदै गरेका इन्जिनियर प्रधान भन्छन्ः मेट्रोरेल बनाउन ७ बर्ष त लाग्छ




नेपालमा रेलमार्ग निर्माण भौगोलिक हिसाबले त्यत्ति सहज भने छैन । तर असम्भव पनि होइन । तराई क्षेत्रमा जति सजिलै रेलमार्ग बनाउन सकिन्छ, त्यत्तिकै सजिलो हिमाली तथा पहाडी भूगोलमा भने हुँदैन । यो समस्या नेपालको मात्रै होइन, संसार भर नै अवस्था त्यस्तै हुन्छ ।

मेरो अनुभवले पनि के भन्छ भने नेपालमा पछिल्लो दिनमा जुन रुपमा रेलमार्ग निर्माणको विषयमा चर्चा भएको छ, त्यो सकारात्मक नै छ । तर हामीले प्रविधि, लगानीलाई कुन हदसम्म कसरी परिचालन गर्न सक्छौं भन्ने विषय महत्वपूर्ण छ ।

हिमाली तथा पहाडी क्षेत्रको तुलनामा तराइ तथा समथर स्थानमा रेलमार्ग निर्माणका लागि धेरै नै सहज हुन्छ । तीन गुणा भन्दा कम खर्चमा समथर भूभागमा रेलमार्ग निर्माण हुन्छ भने हिमाली तथा पहाडी क्षेत्रमा भने भुगोलका आधारमा खर्चको निर्धारण हुन्छ ।

पछिल्लो दिनमा चीन र भारत दुवै देशबाट रेलमार्ग र रेल सञ्जाल निर्माणको विषयमा छलफल भएका छन् । केही स्थानमा काम समेत भएका छन् । तर महत्वपूर्ण विषय हामीले अंगाल्ने प्रविधि कस्तो हुन्छ भन्ने नै हो ।

म आफै सहभागी भएको टोलीले अहिले थाइल्याण्डमा मेट्रो रेल निर्माण गरिरहेको छ । शहरी क्षेत्रमा रेलमार्ग बनाउने विषय असाध्यै गाह्रो विषय पनि हो । शहरी क्षेत्रमा मानिसहरुको सघन आवत जावत हुन्छ । धेरै विषयमा ख्याल गर्नु पर्छ । सुरक्षाका विविध उपायहरु पनि अवलम्बन गर्नुपर्दछ । यो काम भनेको टीम वर्क हो । यसमा सामान्य गल्ती भयो भने पनि ठूलो क्षति हुन जान्छ ।

थाइल्याण्डमा पछिल्लो समयमा रेलमार्ग जुन गतिमा विस्तार भइरहेको छ, त्यसको अनुभवबाट नेपालले फाइदा पनि लिन सक्छ । हामी प्राविधिकहरुले पनि सहयोग गर्न सक्छौं ।

सामान्यतः नियमित रुपमा काम भयो भने काठमाडौँ उपत्यकाको मेट्रो बनाउन कम्तिमा पनि ७ वर्ष जति समय लाग्छ । सरकारले नागढुंगादेखि धुलीखेलसम्म मेट्रो बनाउने योजना अगाडि सारेको छ ।

रेलमार्ग निर्माण प्राविधिक रुपमा असाध्यै ध्यान पुर्याउनुपर्ने र ख्याल गर्नुपर्ने यातायात सञ्जाल हो । हचुवाको भरमा निर्णय गरिनु हुँदैन । सम्वद्ध सबै निकायले उत्तिकै समन्वयका साथ काम गर्नुपर्छ । खरिद प्रक्रियालाई पनि सहज र प्रभावकारी बनाउनु पर्छ । जमिनमाथि कुदने रेल भन्दा जमिनमुनी निर्माण गरिने रेलमार्ग खर्चको हिसाबले पनि असाध्यै खर्चिलो हुन्छ ।

प्रविधिको हिसाबले रेलमार्ग जहाँ पनि जस्तो सुकै रुपमा पनि बनाउन सकिन्छ । हाम्रो आर्थिक अवस्था, हामीले अवलम्बन गर्ने प्रविधि, प्राविधिक जनशक्ति नै महत्वपूर्ण विषय हो । रेलमार्ग निर्माण गर्ने भनेर मात्रै पनि भएन, हामीले त्यसमा ध्यान पनि उत्तिकै केन्द्रीत गर्नुपर्दछ ।

रेलमार्ग निर्माणमा पनि विश्वभर नै टनेल बोरिङ मेशिन (टिबिएम) को प्रयोग गरिएको छ । हामीले पनि त्यस्ता प्रविधिको अवलम्बन गरेका छौं । मोनोरेल निर्माणको लागत सबैभन्दा कम पर्छ, मेट्रोको तुलनामा । संसार भर विभिन्न खालका प्रविधिको प्रयोग भएका छन् । त्यसलाई पनि हामीले हाम्रो सापेक्षातामा उपयोग गर्नु पर्दछ ।

यातायातको सुगमताका लागि रेलमार्ग निर्माणलाई विशेष जोड दिइदै आएको छ । पछिल्लो दिनमा चीनमा विस्तार भएको रेल सञ्जाल बाँकी विश्वका लागि समेत अनुकरणीय रहेको छ ।

लागतका कुरा गर्दा सुरुङ बनाउनुपर्यो भने जमिनमा भन्दा ६ गुणा बढी खर्च लाग्छ । नेपालको भौगोलिक बनावट पनि कमजोर रहेको छ । २०७२ सालको भूकम्प पनि हामीले देखेका छौं । तर कमजोर भूबनोटमा पनि रेलमार्ग निर्माण भएका छन् । गर्न सकिन्छ । तर प्रमुख विषय इच्छाशक्ति नै हो ।
(थाइल्याण्डमा कार्यरत इन्जिनियर विरेन्द्रमान प्रधानले रेल विभागले आइतबार आयोजना गरेको अन्तरक्रियामा व्यक्त गरेको विचारको सम्पादित अंश)


क्लिकमान्डु