फोहोर उठेन ? महानगर भन्छ धैर्य गर्नुहोस्



काठमाण्डौ । उपत्यकामा गएको एक हप्ता यता फोहोर संकलन गरिएको छैन । फोहोर संकलन नहुँदा सडकमा फोहोरको थुप्रो लागेको छ । सडक किनारमा थुपारिएको फोहोरले वरीपरिका स्थानीयवासी र पैदलयात्रु बाहेक सवारी साधान सञ्चालनमा पनि अप्ठेरो देखिएको छ ।

वर्षायामसंगै सडक किनारामा फोहोर थुप्रिदा रोग फैलिन सक्ने खतरापनि उत्तिकै बढेको छ । घाम र पानीले कुहिएर फोहोरले चारैतर्फ दुर्गन्ध फैलाउँदा पनि फोहोर संकलन नभएकोमा काठमाडौँवासी आक्रोशित बनेका छन् ।

काठमाडौं महानगरले सन् २००७ मा तीन वर्षका लागि फोहोर व्यवस्थापन गर्ने भनेर लिएको नुवाकोट जिल्ला स्थित ओखरपौवा अहिले उपत्यकाको फोहोरले भरिएको छ । सिसडोलपनि भरिएको छ । सिसडोल र ओखरपौवा उपत्यकाका फोहोर व्यवस्थापन गर्ने प्रमुख क्षेत्र हुन् ।

धादिङ र नुवाकोट जिल्लाको सिमानामा रहेको बञ्चरे डाँडामा फोहोर व्यवस्थापन गर्ने भनिएपनि व्यवस्थापन क्षेत्र अझै निर्माण गर्न सकिएको छैन ।

महानगर एक्लैले उक्त ल्याण्डफिल साईट निर्माण गर्न नसक्ने बताउँदै आएको छ ।

नयाँ ल्याण्डफिल साईड अझै निर्माण नहुनु र भएका ल्याण्डफिल साईट भरिंदै जाँदा राजधानीका सडकमा फोहोर थुप्रिएको छ । त्यसमाथि वर्षाको मौसममा ल्याण्डफिल साईटको सडक बिग्रदा फोहोर बोकेका गाडी बाटैमा फसेका छन् । उपत्यकाबाट फोहोर बोकेर गएका गाडी ल्याण्डफिड साईटको बाटोमा फसेपछि समस्या देखिएका छ ।

वर्षायाममा उपत्यकाको फोहोर व्यवस्थापनका लागि बाटो बाधक बन्ने गरेको छ । फोहोरको चाङमाथि बनाईएको बाटोमा कालो पत्रे वा ढलान गर्न सकिदैन् । पानी परेपछि बाटो बिग्रने हुँदा फोहोर बोकेका गाडी सिसडोल र ओखरपौवामा फसेको जानकारी दिए उपत्यका फोहोर मैला व्यवस्थापन संघका सचिव मित्र घिमिरेले बताए ।

उनका अनुसार राजधानीबाट फोहोर बोकेर गएका गाडी बाटो बिग्रेका कारण अगाडि जान नसक्दा राजधानीमा फोहोर थुप्रिएको हो ।

काठमाडौं महानगरपालिकाका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिबहादुर कुँवर भने महानरगावासीलाई धैर्य गर्न आग्रह गर्दै भन्छन् “सहरबासीले, फोहोर संकलन गर्ने गाडी ढोकामा आएपछि मात्र फोहोर बाहिर निकालिदिनुभयो भने, हामीलाई ठूलो सहयोग हुने थियो । हामी ल्याण्डफिल साईटको बाटो बनाउने काम गर्दैछौ । घरको फोहोर बाटोमा ल्याएर फाल्दा सहर नै प्रदुषित देखियो ।”

कुँवरका अनुसार पानी पर्ने क्रम रोकिएकाले अब एक दुई दिनमै काठमाडौँंको सडकमा रहेको सबै फोहोर ल्याण्डफिल साईटमा पुर्याईनेछ । उपत्यकाबाट ल्याण्डफिल साइटमा दैनिक करीव ११ सय मेट्रिक टन फोहोर पुग्छ । यसमध्ये करीव ५५० मेट्रिक टन महानगरबाट उत्पादित फोहोर हो भने बाँकी अन्य नगर र जिल्लाबाट संकलन हुने हो ।

संघका सचिव घिमिरे भने महानगरलाई दोष लगाउँछन् । “तीन वर्षका लागि लिएको ओखरपौवामा फोहोर थुपारेको १३ वर्ष पुग्यो । नयाँ बनाउने भनेको ठाउँ बनाउन सकेको छैन । यो सबै समस्या महानगरको ढिला सुस्तीले भएको हो ।”
आफुहरुले पठाएका गाडी अझै ल्याण्डफिल साईटबाट नआउँदा उपत्यकामा थुप्रिएको फोहोर संकल गर्न समस्या भएको घिमिरेले बताए ।


क्लिकमान्डु