डेपुटी गभर्नर भन्छन्- बैैंकको संख्या धेरै भयो, अब ठूला बैंकलाई ‘फोर्स मर्जर’मा लैजान्छौं



काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बैंकहरुको संख्या धेरै भएकाले राष्ट्र बैंकले फोर्स मर्जरको तयारी गरिरहेको बताए ।

बुधबार मात्रै राष्ट्र बैंकले मौद्रिक नीति सार्वजानिक गरेको थियो ।

मौद्रिक नीतिमा बैंकहरुबीच हुने अस्वस्थ प्रतिस्पर्धा रोक्न र वित्तीय क्षेत्रको स्थायित्वलाई थप सुदृढीकरण गर्न आवश्यक देखिएको सन्दर्भमा वाणिज्य बैंकहरुबीचको मर्जर तथा एक्वायरलाई थप प्रोत्साहन गरिने उल्लेख छ ।

यो भनेको ‘तपाईंहरु आफैं मर्जरमा जानुहोस्, यदि मर्जरमा जानुहुन्न भने राष्ट्र बैंकले जुनसुकै दिन पनि फोर्स मर्ज गर्न सक्छ भनिएको हो,’ शिवाकोटीले क्लिकमाण्डूसँग भने, ‘अबको आवश्यकता भनेको ठूला बैंकहरुबीचको मर्जर नै हो ।’

ठूला बैंकहरुको मर्जर (बिग मर्जर) मा राष्ट्र बैंकले अध्ययन गरिरहेको उनले प्रष्ट पारे ।

‘हामी मौद्रिक नीतिमै बिग मर्जरको बारेमा व्यवस्था गर्ने तयारीमा थियौं, तर केही प्राविधिक कारणले त्यो गर्न सकेनौं । बिग मर्जरको विषयमा राष्ट्र बैंकले अध्ययन पनि थालेको छ, अध्ययन प्रतिवेदन आएपछि निर्देशनमार्फत् पनि बिग मर्जर गराउन सकिन्छ,’ उनले भने ।

अहिले देशभर २८ वटा वाणिज्य बैंक सञ्चालनमा छन् । राष्ट्र बैंकका अधिकारीहरु नेपाली अर्थतन्त्रको आकारको तुलनामा यो संख्या धेरै भएको बताउँदै आएका छन् ।

‘एभरेष्ट बैंक र लक्ष्मी बैंकबीचको मर्जरको सम्झौता गर्ने अन्तिम तयारीमा छन्, यी दुई बैंकबीचको मर्जरमा पनि राष्ट्र बैंकको ठूलो हात छ,’ शिवाकोटीले भने, ‘यही मोडालिटीमा पनि अरु बैंकहरुको मर्ज गर्न सकिन्छ ।’

संख्या कति भन्ने बारेमा डेपुटी गभर्नर शिवाकोटीले भन्न चाहेनन् । तर, विद्यमान संख्या अत्याधिक भएको उनको भनाइ थियो ।

राष्ट्र बैंकका गभर्नर संख्या नै तोकेर फोर्स मर्जर गराउने मुडमा थिए । नेपालमा वाणिज्य बैंकको संख्या १०/१२ वटा मात्रै उचित हुने गभर्नरको सोच छ ।

तर, अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले नै संख्या तोकेर फोर्स मर्जरको नीति लिइहाल्नु नहुनेतर्फ संकेत गरेका थिए । खतिवडाले फोर्स मर्जरको नीति लिनुअघि त्यसको औचित्य पुष्टि गर्न अध्ययन पनि हुनुपर्नेमा जोड दिएका थिए ।

त्यसो त खतिवडाले यस्तो प्रतिक्रिया दिनुअघि नै राष्ट्र बैंकको अनुसन्धान विभागले बैंकको संख्या धेरै भएको र कतिमा झार्न उपयुक्त हुन्छ भन्नेबारे अध्ययन थालिसकेको थियो ।

प्रारम्भिक अध्ययका आधारमा नै राष्ट्र बैंकले बिग मर्जरको कुरा उठाएको हो । अहिले गभर्नर डा. नेपालले बैंकका सञ्चालक तथा व्यवस्थापकहरुलाई बोलाएर मर्जरमा जान निर्देशन दिइरहेका छन् । यसको अर्थ बैंकहरुबीच स्वतस्फूर्त मर्ज होस् भन्ने हो, त्यसो भएन भने राष्ट्र बैंकले फलानो–फलानो बैंक मर्जर होउ भनेर जुनसुकै दिन पनि निर्देशन दिन सक्छ ।

वाणिज्य बैंकहरुको संख्या १०/१२ वटा वा १५/१६ वटामा झार्नका लागि राष्ट्र बैंकले आगामी दिनमा कदम चाल्ने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

‘यति सानो अर्थतन्त्रले २८ वटा वाणिज्य बैंक धान्न सक्दैन, यसलाई घटाएर १५/१६ वटामा झार्नै पर्छ,’ राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापा भन्छन्, ‘अबको राष्ट्र बैंकको लक्ष्य भनेको यही हो ।’

आगामी दिनमा बैंकहरुले राष्ट्र बैंकले जारी गरेका नीति नियमहरु कडाइका साथ पालना गर्नुपर्ने शिवाकोटीले बताए ।

‘अब हामी कम्प्लाइन्समा कम्प्रमाइज गर्दैनौं,’ उनले भने ।

कस्ता कस्ता बैंकलाई मर्जरमा लाने त ? भन्ने प्रश्नमा शिवाकोटीले यसबारे अहिले नै भन्न नसकिने भएकाले मौद्रिक नीतिमा आवश्यक परे भन्ने शब्द राखिएको प्रष्ट्याए ।

‘कस्ता कस्ता संस्थालाई मर्जरमा जान दबाब दिने भन्ने कुरा अध्ययनपछि मात्रै भन्न सकिन्छ,’ उनले भने, ‘यसबारे अध्ययन भइरहेको छ ।’

राष्ट्र बैंकको प्रोत्साहन र दबाबका कारण यसैवर्ष केही ठूला बैंकहरुबीच मर्ज हुने उनको भनाइ छ ।

‘एभरेष्ट बैंक र लक्ष्मी बैंकबीचको मर्जरको सम्झौता गर्ने अन्तिम तयारीमा छन्, यी दुई बैंकबीचको मर्जरमा पनि राष्ट्र बैंकको ठूलो हात छ,’ शिवाकोटीले भने, ‘यही मोडालिटीमा पनि अरु बैंकहरुको मर्ज गर्न सकिन्छ ।’


पुष्प दुलाल