अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’को पीच किन भत्किन्छ ?



काठमाडौं । गत शुक्रवार साँझ ५ः ५० मा देशको एकमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन वेको पीच उप्कियो । रन वेको पीच उप्किदा झन्डै एक घण्टा विमानस्थल पूर्णरुपमा अवरोध हुन पुग्यो ।

विमानस्थलमा जहाज ल्याण्डको क्रममा रन वेको पीच उप्किएको थियो । रन वेको पीचमा समस्या देख्न साथ एक एयरलाइन्सका पाइलटले विमानस्थल टावरलाई खबर गरिदिए ।

विमानस्थलको रन वेमा समस्या देखिन साथ विमानस्थल कार्यालय अन्तर्गतको इन्जिनियरिङ महाशाखाको एक टोली रन वे तर्फ लागे ।

टोलीले तत्काल पीच उप्किएको रन वे टालटुल गरे । रन वे टालटुल भएको खवर टावरले पायो । रन वेमा अब कुनै समस्या नभएको सूचना पाउन साथ एक घन्टादेखि आकाशमा होल्ड गरिएका जहाज अवतरण हुन थाले ।

यो त प्रतिनिधि घटना मात्रै हो । विमानस्थलको रन वेमा यस्तो घटना बारम्बार भइरहने विमानस्थल कार्यालयको एक कर्मचारीले जानकारी दिए ।

विमानस्थलको रन वेमा जाडो सिजनमा भन्दा गर्मी र वर्खा सिर्जनमा बढी समस्या आउने इन्जिनियरिङ महाशाखामा उपनिर्देशक मुरारी भण्डारीले जानकारी दिए ।

गर्मी तथा वर्खा सिजनमा घाम र पानीसँगै हुँदा रन वेको तापक्रममा उतरचढाव आउँछ । तापक्रममा उतरचढाव भएकै बेला ठूला लोडका जहाज ल्याण्ड हुँदा रन वेको पीचमा समस्या आउने गरेको विमानस्थल कार्यालयको भनाइ छ ।

इन्जिनियरिङ महाशाखाले पनि वार्षिक २ करोड रुपैयाँ भन्दा बढी रकम रन वे टालटुल मै खर्च गरिरहेको छ । रन वे टालुटालु गरेर सञ्चालन गर्नु सुरक्षाको हिसाबले अतिसंबेदनशिल हो ।

टालटुल गरेर सञ्चालनमा ल्याइएको रनवेमा जुनसुकै समयमा जहाज ल्यान्ड गर्दा दुर्घटना हुन सक्छ । हामीले अति संवेदनशील अवस्थामा विमानस्थल सञ्चालन गरिरहेका छौं ।

तर, दुई वर्ष अगाडिदेखि सुरु भएको रन वे को पीच परिर्वतन गर्ने योजना भने अलपत्र छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले रन वेको पीच परिर्वतमा भैरहवा विमानस्थल सञ्चालनको ढिलाई कारण बनाइरहेको छ । त्यसमा पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पनि रन वे को अवस्था नबुझि २१ घण्टा विमानस्थल सञ्चालनमा ल्याएको एक कर्मचारीको आरोप छ ।

रन वे मर्मतका लागि दैनिक ५ घण्टाभन्दा बढी काम गर्दा त बारम्बार समस्या आउँथ्यो । तर, अहिले रन वे मर्मतको सयम ३ घण्टा पनि नहुँदा झन समस्या बढेको स्रोत बताउँछ ।

टालटुल गरेको ठाउँमा जहाज ल्यान्ड गर्दा त्यसको सन्तुलन बिग्रन सक्छ । रन वे टालेर मात्रै राम्रो हुन अवस्था पनि छैन । रनवेको स्ट्रक्चर नै ड्यामेज भइसकेको छ । रनवेकै कारण जहाज दुर्घटना भएको अवस्थामा नेपालको नकारात्मक प्रचार हुने विमानस्थल कार्यालयको भनाइ छ ।

सन् १९८० मा निर्माण भएको रन वे अहिलेसम्म विस्तार तथा मर्मत हुन सकेको छैन । रनवे सुधार (रिह्याबिलिटेसन) प्रक्रिया सुरु भएको झन्डै दुई वर्ष भइसकेको छ ।

तर, रन वे सुधारका लागि प्राविधिक रूपमा छनोट भएका कम्पनीबीच प्रतिस्पर्धा हुन सकेको छैन । भैरहवा विमानस्थल सञ्चालनमा आएसँगै रन वे मर्मतको काम अगाडि बढाउने तयारी गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक गौतम बताउँछन् ।

एउटा मात्रै रन वे भएको अवःथामा विकल्प विमानस्थल नहुँदा काममा ढिलाइ भएको उनको भनाइ छ ।

प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घन्टा सञ्चालन गर्न रन वे मर्मतका लागि समेत साढे ८ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

त्रिभुवन विमानस्थल २१ घण्टा सञ्चालनका लागि रन वे तत्काल सुधार गर्नुपर्ने ठहर गर्दै रकम विनियोजन भए पनि त्यसको कुनै उपलब्धी भएको छैनन् ।


पुष्प दुलाल