बाजेको सेकुवाः संचालक फरार, ब्राण्डमा सरकारी ताला, विचल्लीमा कामदार




काठमाडौं । बेलायतबाट एमबिए सकाएर नेपाल फर्केका सन्जिव तिमिल्सिना बाजेको सेकुवाको संचालन विभागका प्रमुख थिए ।

बाजेको सेकुवा नेपालसँगै विदेशमा फैलिरहेको थियो । हालै मात्र अमेरिकाको न्यूयोर्कमा शाखा खुलेको थियो । अन्य देशमा खुल्ने तयारी थियो ।

कम्पनीको ग्रोथ देखिरहेका तिमिल्सिना नेपालमा नै केही गर्न सकिन्छ भन्ने सोचमा थिए । तर, बाजेका सेकुवाका लगानीकर्ता चेतन भण्डारीलाई ३३ किलो सुन तस्करीको आरोप लाग्यो । उनी अहिले फरार अभियुक्त पनि हुन् ।

चेतनलाई सुन तस्करीको आरोप लागेपछि त्यहाँ कार्यरत कर्मचारी तथा कामदार सबै झस्केका थिए । केही दिन अन्यौल भएपनि रेष्टुरेन्ट आफ्नो हिसाबले चलिरहेको थियो ।

तर, सरकारले एकाएक बाजेको सेकुवाका ६ वटा शाखामा सिलबन्दी गरेपछि तिमिल्सिनासँगै बाजेको सेकुवामा काम गर्ने कामदार तथा कर्मचारीको रोजीरोटी खोसिएको छ । ६ वटा शाखामा कार्यरत करिब २ सय कामदारको भविष्य अन्यौल छ ।

बाजेको सेकुवाको फ्रेन्चचाइज लिएका शाखालाई बाजेको सेकुवाको नामबाट रेष्टुरेन्ट चलाउन रोक लगाइएको छ ।

जबकि फ्रेन्चचाइज लिने लगानीकर्ताले बाजेको सेकुवाको ब्राण्डमा नै लगानी गरेको हो ।

कम्पनीका प्रमुख लगानीकर्ता भण्डारी सुन तस्करीको आरोप लागेपछि त्यो प्रमाणित भएमा उनले कानून अनुसार सजाय पाउनुनै पर्छ । यसमा कुनै शंका होइन । तर, सरकारले संचालक सुन तस्करीमा संलग्न रहेको आरोपमा कम्पनी नै बन्द गर्ने निर्णय गर्यो, त्यसले भने धेरै नै अन्यौलको वातावरण सिर्जना गरेको छ ।

‘म आफू माथिल्लो स्तरको कर्मचारी हो, रेष्टुरेन्ट बन्द भएपछि यहाँ काम गर्ने सबै कर्मचारीलाई घरखर्च नै चलाउन मुस्किल परेको छ,’ तिमिल्सिनाले सुनाए ।

केही दिन अगाडि बाजेको सेकुवामा कार्यरत एक कर्मचारीले रेष्टुरेन्ट बन्द भएपछि बसिरहेको कोठा छोडेर सस्तोमा गएको कुरा तिमिल्सिनालाई सुनाएका थिए ।

‘रेष्टुरेन्ट चल्न दिने वा सधैको लागि बन्द गरिएको हो, त्यो स्पष्ट छैन, हामी सबै अन्यौलमा छौं,’ तिमिल्सिनाले आफ्नो समस्या सुनाए ।

बाजेको सेकुवाका संचालक भण्डारीलाई सुन तस्करीको आरोप लागेपछि सो अनुसारको कारवाही हुने अनुमान थियो । जबकि रेष्टुरेन्टमा कुनैपनि कमजोरी थिएन । उपभोक्ता स्वास्थ्यको लागि खेलबाडँ गर्ने कुनै कुरा भए रेष्टुरेन्ट बन्द हुनु जायज मान्न सकिन्छ । तर, कम्पनीका संचालकले गरेको गल्तीको सजाय ब्राण्ड र कम्पनी बन्दा भने सरकारको नियतमाथि प्रश्नचिन्ह खडा भएको बुझाई कानून व्यवसायीको छ ।

कोरियाको सामसुङ कम्पनीमा उच्च अधिकारीलाई घुष दिएको प्रमाणित भयो । तर, यसको असर सामसङ कम्पनीमा परेन । उसले आफ्नो उत्पादन बजारमा पठाइरहेको छ ।

‘व्यक्तिले अर्को कामको लागि गरेको गल्तीको सजाय त्योसँग सरोकार नराखेको कम्पनीले भोग्नु पर्दैन, सरकारले ब्राण्ड र व्यक्तिलाई नै एउटै नजरले हेर्दा समस्या भयो,’ एक कानून व्यवसायीले भने ।

बाजेको सेकुवाका संचालक भण्डारी सुन तस्करमा संलग्न भएमा उनलाई कानून बमोजिम सजाय हुन्छ । तर, बाजेको सेकुवा ब्राण्ड हो, त्यसलाई बन्द गर्न नपाइने बुझाई कानून व्यवसायीको छ । तर, सुन तस्करीसँग जोडिएको विषय भएको हुँदा व्यवसायिक संस्था र कानून व्यवसायीहरु खुलेर बोल्न चाहदैनन् ।


क्लिकमान्डु