ड्रोन किन्दै हुनुहुन्छ ? यसरी लिनुहोस् उडान अनुमति



काठमाडौं । विश्वभर ड्रोनको प्रयोग बढेको छ । फिल्म र फोटो खिच्न ड्रोन उडाउन थालिएको छ ।

नेपालमा भने ड्रोन उडान अनुमतिमा सहज छैन । ड्रोन आयातमा सहज बनाउँदै उडानमा सहज बनाएर मात्रै अवैध रुपमा हुने गरेको ड्रोनको प्रयोग समेत निरुत्साहित गर्ने सकिने पर्यटन व्यवसायीहरु बताउँछन् ।

नेपालमा पछिल्लो समय पर्यटकका लागि नयाँ गन्तव्य खोजी भइरहेको छ । सुन्दर तथा महत्वपूर्ण पर्यटकीय ठाउँको तस्बिर ड्रोनमार्फत खिचेर विदेशमा प्रचार गर्न सकेको अवस्थामा पर्यटन प्रवद्र्धन गर्न सहज हुने व्यवसायीहरुको भनाइ व्यवसायीहरुको भनाइ छ ।

ड्रोन उडानमा सरकारी संवेदनशीलता, सुरक्षा शतर्कता र राष्ट्रिय धरोहरमा भने सबैले विचार गर्नुपर्ने पर्यटन व्यवसायी सुमन पान्डे बताउँछन् ।

उडानका शर्त

नेपालमा ड्रोन भित्याएर उडाउन धेरै निकायको अनुमति लिनुपर्ने हुन्छ । ड्रोन उडाउन पर्यटन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, सञ्चार मन्त्रालय, गृह मन्त्रालय, स्थानीय प्रशासनको अनुमति लिनुपर्ने हुन्छ ।

उल्लेखित निकायबाट अनुमति लिएर ड्रोन उडाउन निकै झन्झट व्यहोर्नुपर्ने पर्यटन व्यवसायी सुमन पाण्डे बताउनुहुन्छ । सरकारी निकाय पनि नेपालमा ड्रोन उडाउन प्रक्रियागत झन्झट रहेको पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने स्वीकार गर्छन् ।

२०७२ मा जारी भएको ड्रोन उडान कार्याविधिमा धार्मिक तथा सांस्कृति सम्पदा, सुरक्षा संवेदनशील स्थान र हवाई मार्गमा असर गर्न तथा व्यक्तिगत गोपिनीयतामा असर गर्नै गरी पनि उडान गर्न नपाइने उल्लेख छ ।

अनुमति लिने व्यक्ति वा संस्थाले ड्रानेको विवरण, उद्देश्य, उडान सयमको अनिर्वाय विवरण सम्बन्धि सबै निकायमा पेस गर्नैपर्ने हुन्छ । सुरक्षा निकाय तथा संवेदनशील क्षेत्रको एक किलोमिटर क्षेत्रमा पनि उडान गर्न पाइने छैन ।

स्थानीय प्रशासनको रोहवरमा मात्रै उडान गर्नपर्ने व्यवस्था छ । आईकाओले प्रतिबन्ध लगाएको अवस्थामा नेपालका समेत ड्रोन उडानमा प्रतिबन्ध लाग्नेछ । यसरी हुने अनुमतिमा लागि प्राधिकरणले अभिलेख राख्नुपर्ने व्यवस्था छ । ड्राने प्राधिरकरणले तोकेको चार किल्लाभन्दा अन्य स्थानमा पनि उडान गर्न पाइने छैन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले ड्रोनको भारवहन क्षमता प्रामाणित भएपछि दुई सय ग्राम सम्मको मात्रैले उडान गर्न पाउने व्यवस्था छ ।

उडान समय १५ मिनेट, उडान ३ सय मिटरको आसपारमा एक सय मिटर उचाइसम्ममा मात्र गर्नुपर्ने व्यवस्था सरकारी नियममा छ । यसैगरी अन्तर्राष्ट्रिय सीमाको ५ किलोमिटरसम्म पनि ड्रोन उडान नपाउने व्यवस्था गरेको छ ।

अनुमति कसरी लिने ?

सूचना तथा सञ्चार मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण स्वीकृतिपत्र तथा व्यवसायी प्रयोजनको लागि सम्बन्धित मन्त्रालयले ड्रोन उडान सिफासिर गरेको पत्रसाथ व्यक्ति वा संस्थाले लिखित निवेदन दिनुपर्ने हुन्छ ।

निवेदन दिनेले प्राधिकरण तथा गृहले जारी गरेको सम्पूर्ण मापदण्ड पालना गर्र्न सहमति हुनुपर्छ । अनुमति अनुसार काम भए नभएको अनुगमन गर्न गृहले कर्मचारी नै खटाउनेछ ।

यसरी सम्पूर्ण प्रक्रिया पूरा भएको अवस्थामा गृह मन्त्रालय, सुरक्षा समन्वय महाशाखाले उडान अनुमति दिन वा सुरक्षा निकायलाई अनुमति दिन निर्देशन दिने व्यवस्था छ ।

उडानमा अन्तरसरकारी निकाय र नीतिले नेपालमा ड्रोन क्यामेरा उडान झन्झटिलो बनेको छ । सरकारले भूकम्प लगत्तै ड्रोन उडानसम्बन्धी कार्यविधि २०७२ जारी गरेको थियो ।

गृहमन्त्रालयले ल्याएको कार्यविधि मुलुकको सुरक्षा व्यवस्थालाई मात्र ख्याल गर्दा ड्रोन उडान झन्झटिलो बनेको हो । विश्वमा ड्रोन क्यामेराको प्रयोग बढ्दै गइरहेका बेला नेपालमा उडाउन प्रशासनिक झमेला ब्यहोर्नु परिरहेको सरोकारवाला बताउँछन् ।

सञ्चार मन्त्रालले सबैभन्दा बढी स्वदेशी तथा विदेशी फिल्म सुटिङका लागि ड्रोन उडाउन अनुमति दिने गरेको छ ।

मन्त्रालयले वार्षिक २० वटा जति विदेशी फिल्म सुटिङका लागि अनुमति दिने गरेको छ । नेपाली निर्देशकले फिल्म सुटिङका लागि ड्रोन उडाउन नेपाल चलचित्र विकास बोर्डको सिफारिस लिनुपर्ने हुन्छ ।

विदेशी फिल्म सुटिङका लागि १५ हजार रुपैयाँ शुल्क लिएर अनुगमन अफिसर साथमा रहने गरी ड्रोन उडान अनुमति दिइन्छ । सबै प्रक्रिया पूरा गरेर ड्रोन उडाउन त्यति सहज छैन ।

पर्यटन मन्त्रालयका अनुसार पुरातात्विक सम्पदा, विमानस्थल, देशको सीमा तथा सरकारले निषेधित क्षेत्र घोषणा गरेको ठाउँमा ड्रोन उडाउन पाइँदैन । नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि विशेषत हवाई उडानमा असर नगर्ने गरी सम्बन्धित निकाएको अनुमति भए नभएको हेरर उद्देश्य पहिचान गरी उडान अनुमति दिने गरेको छ ।


पुष्प दुलाल