बजेटले लाभकरको सीमा घटाएपछि जेठमा घरजग्गा कारोबार बढ्यो



काठमाडौं । बैशाख महिनाको तुलनामा जेठ महिनामा जग्गा कारोबार बापतको राजस्व संकलन ३८ करोडले बढेको छ ।

जेठ महिनामा जग्गाको कारोबार बापत २ अर्ब १७ करोड ३४ लाख रुपैयाँ बराबरको राजश्व संकलन भएको छ भने बैशाख महिनामा १ अर्ब ७९ करोड रुपैयाँ राजश्व संकलन भएको थियो ।

नेपाल सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तरगत भूमि सुधार तथा व्यवस्थापन विभागका अनुसार चालु आर्थिक वर्ष २०७४/ ०७५ को बैशाख महिनासम्ममा देशभरबाट १७ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ राजश्व उठेको थियो भने यो जेठ महिनासम्ममा १९ अर्ब ९९ करोड १८ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।

भूमि सुधार तथा व्यवस्थापन विभागका अनुसार सरकारले आउँदो आर्थिक वर्षदेखि १० लाख रुपैयाँ भन्दा बढीको जग्गा कारोबार गर्नेले पूँजीगत लाभ कर तिर्नु पर्ने भएकै कारण जग्गाको कारोबार बढेको हो ।

‘आउँदो आर्थिक वर्षदेखि १० लाख रुपैयाँभन्दा बढी रुपैयाँमा घरजग्गा कारोबार गर्नेहरुपनि पूँजीगत लाभकरको दायरामा पर्ने भएकाले आर्थिक वर्ष शुरु हुनु अघि जग्गाको कारोबारमा यस्तो चढाव देखिएको हो, अर्को आर्थिक वर्ष शुरु भएपछि सबै करको दायरामा आउने डरले जग्गा कारोबार बढी भइरहेको छ,’ भूमि सुधार तथा व्यवस्थापन विभागका प्रवक्ता रामदत्त भट्टले बताए ।

अर्थमन्त्री डा। युवराज खतिवडाले बजेट भाषण कै दिन घरजग्गा सम्बन्धी कडा नीति पेस गरेका थिए । जस अनुसार अब हरेक जग्गा कारोबार पूँजीगत लाभ कर तिर्नु पर्ने हुन्छ ।

बजेट भाषण अनुसार १० लाख रुपैयाँभन्दा माथिको जग्गा कारोबार गर्नेले जग्गाको नाफाबाट पूँजीगत तथा लाभकर तिर्नु पर्ने नीति लिइएको छ । ३० लाख रुपैयाँमा रहेको सिमालाई १० लाखमा घटाउँदा सरकारले प्राप्त गर्ने लाभकर बढ्ने छ । यस नीतिले सबै जग्गा कारोबारलाई समेट्ने भूमि सुधार तथा व्यवस्थापन विभागले जानकारी दिएको छ ।

काठमाण्डौ उपत्यकामा कति उठ्यो राजश्व ?

जेठ महिनामा काठमाडौं उपत्यकाका मालपोत कार्यालयहरुले ९ करोड ७५ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । बैशाख महिनामा उपत्यकाका मालपोत कार्यालयहरुले ९ करोड २ लाख रुपैयाँ राजस्व संकलन गरेका थिए ।

जेठ महिनामा उपत्यकाका सबै मालपोत कार्यालयमा राजश्व संकलनको दर बढेको पाइएको छ ।

यो वर्षको पहिलो महिनामा जग्गाको कित्ताकाट रोकिएपछि घरजग्गा कारोबारमा कमी आएपनि जेठ महिना लागेपछि भने घरजग्गा कारोबार बढेको देखिन्छ ।


क्लिकमान्डु