किन घटे किम्बु खेती गर्ने किसान



चितवन । भण्डारास्थित किम्बु नर्सरी व्यवस्थापन केन्द्रले यसवर्ष १३ लाख किम्बुको बिरुवा हुर्काएको छ । केन्द्रका प्रमुख पर्शुराम अधिकारीका अनुसार मंसिर र पुसमा हाँगा काटेर रोपिएका किम्बु यतिबेला रोप्नका लागि तयार भएको र असार र साउन महिनामा मात्रै रोपिने भएकाले ती बिरुवा देशका विभिन्न भागमा पठाउन थालिएको हो ।

सरकारीस्तरका धनकुटा, सुनसरीको इटहरी, काभ्रेको खोपासी, भक्तपुरको चीतापोल, धादिङको धुलेबेँसी, चितवनको भण्डारा, तनहुँको बन्दीपुर, कास्कीको मालेपाटन र स्याङजाका रेशम फार्मबाट कृषकलाई प्रति बिरुवा दुई रूपैयाँमा किम्बुका बिरुवा वितरण गरिने उनले बताए ।

केन्द्रले ६ हेक्टर जमिनमा गतवर्ष पाँच लाख बिरुवा हुर्काएको केन्द्रले यसवर्ष १३ लाख बिरुवा हुर्काएको हो । सुख्खा ठाउँमा राम्रो उत्पादन दिन सक्ने कान्भा– २ जातको किम्बु केन्द्रले हुर्काउँदै आएको छ । सिँचाइ सुविधा नभएका ठाउँमा किम्बुखेती गरिन्छ ।

पछिल्ला वर्षमा रेशमखेती गर्ने क्रम घट्दोे छ । रेशम पाल्नका लागि किम्बुखेती गरिन्छ । विसं २०४९ पछिका केही वर्ष दाताको सहयोगका कारण नेपालमा रेशम पालन बढेर गएको थियो । त्यतिबेला वार्षिक रुपमा ४५ मेट्रिकटन हाराहारी रेशम उत्पादन हुने गरे पनि क्रमशः घट्दै आएर अहिले वार्षिक २५ मेट्रिक टनको हाराहारीमा मात्रै उत्पादन हुने गरेको छ ।

चितवन र मकवानपुर जिल्लामा रेशमखेती गर्नेको संख्या ८० जनाको हाराहारी छ । केही वर्ष अघिसम्म यो संख्या दुई सयभन्दा बढी थियो । रासस


क्लिकमान्डु