चीन अमेरिका ट्रेड वार : कसलाई कति घाटा ?



काठमाण्डौ । विश्वका ठूला अर्थव्यवस्था भएका दुई देश व्यापारिक युद्धमा लागेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामाग्रीमा कर बृद्धी गर्ने बताएका छन् । अमेरिकी कदमको जवाफ स्वरुप चीनले पनि अमेरिकी सामानमा कर लगाउने घोषणा गरिसकेको छ ।

गएको एक महिनादेखि यी दुई देशबिच करको विषयमा छलफल चलिरहेको छ । तर अझै निष्कर्षमा पुगेका छैनन् । अमेरिकी श्रोतका अनुसार चिनियाँ सामाग्रीमा लगाईएको करले अमेरिकाको व्यापार घाटा कम हुनेछ ।

अमेरिकामा असर
चीनमा आफ्ना सामाग्री उत्पादन गर्ने अमेरिकी कम्पनीहरु यसको मारमा पर्ने बताईएको छ । अमेरिकाले चीनबाट आउने सामानमा कर लगाएपछि चीनमा आफ्नो उत्पादन गर्ने कम्पनीले सामानको मूल्य बढाउने र कामदारपनि कटौति गर्ने बताईएको छ ।

उदाहरणको लागि अमेरिकाले चीनबाट आयात हुने स्टील र एल्मुनियममा भारी कर लगाएपछि अमेरिकन स्टिल र एल्युमिनियम कम्पनीले आफ्ना कामदारको संख्यामा कटौति गरेका छन् ।

यसैगरी चीनबाट आउने हरेक सामानको मूल्य बढ्ने छ । हालै गरिएको एक अध्ययन अनुसार चीनको सस्तो समान कै कारण निम्न आय भएका अमेरिकीले वार्षिक २ सय ५० देखि ३ सय डलर बचत गर्ने गर्छन् ।

चिनियाँ सामाग्रीमा उच्च कर लगाउने भएपछि अमेरिकामा बेरोजगारी र महंगी एकैसाथ बढ्ने छ । जसको प्रत्यक्ष असर अमेरिकी अर्थ व्यवस्थामा पर्नेछ ।
यसका अलवा चीनले पनि अमेरिकी सामानमा उच्च कर लगाएपछि अमेरिकी निर्यातपनि कमजोर हुनेछ । उदाहरणका लागि अमेरिकाबाट निर्यात हुने सोयाविनमा यसको ठूलो असर पर्नेछ ।

अमेरिकी कृषि व्यवस्थामा सोयाविन मेरुदण्डको रुपमा परिचित छ । अमेरिकाले उत्पादन गरेको सोयाविनको ६० प्रतिशत हिस्सा चीनले आयात गर्ने गर्छ । चीनले पनि अमेरिकी सामानमा कर लगाउने भएपछि अमेरिकी किसानलाई यसको मार पर्नेछ ।

त्यस्तै, आईफोन निर्माता कम्पनी एप्पलले पनि यसको मार खेप्ने छ । सूचना प्रविधि कम्पनी इन्टेलपनि यो ट्रेड वारको शिकार बन्नेछ । सन् २०१५ देखि २०१६ को अवधिमा चीनमा १३ करोड आईफोन विक्री भएका थिए भने अमेरिकामा यही अवधिमा ११ करोड आईफोन विक्री भएका थिए । यस बाहेक आईफोन पनि चीनमा निर्माण गर्ने गरिन्छ ।

अमेरिकी हवाईजहाज उत्पादक बोईङमा पनि ट्रेड वारको असर पर्ने छ । बोइङको ठूलो बजार चीन पनि हो । आगामी १५ देखि २० वर्षको अवधिमा चीनबाट १.१ खर्ब डलर बराबरको बोइङको माग चीनमा हुने कम्पनीले प्रक्षेपण गरेको थियो । यी ठूला कम्पनी बाहेक अमेरिकी जनता र साना कम्पनी पनि यो ट्रेड वारको शिकार बन्ने छन् । ट्रेड वार लामो समय चलेमा अमेरिकामा बेरोजगारको संख्या उच्च हुनेछ ।

चीनमा पर्ने असर
चीनको कूल निर्यातको १८ प्रतिशत अमेरिकाबाट निर्यात हुने गर्छ । त्यस्तै चीनको जिडिपीमा निर्यातयोग्य वस्तुको योगदान २० प्रतिशत रहेको छ । चीनले अमेरिकी बजारको विकल्प नपाउँदासम्म ठूलो नोक्सान व्यहोर्नु पर्नेछ ।

 

त्यसो त चीन आफैमा एक ठूलो बजार हो । यस बाहेक चिनियाँ उत्पादन सस्तो हुने भएकाले उसले सहजै अन्यत्र बजार पाउने अनुमानपनि गरिएको छ । यो व्यापार युद्धबाट हुने घाटाबाट जोगिनको लागि चीनले भारत सहित अन्य केही देशमा निर्यात धेरै गर्ने विषयमा छलफल गरिरहेको छ ।

यस बाहेक चीनसंग अन्य देशबाट समान आयात गर्ने विकल्पपनि छ । फ्रान्सको विमान निर्माता कम्पनी एयरबसले चीनसंग जहाज विक्रीको लागि सम्झौता गर्ने तयारी पनि थालेको छ । यसका अलावा चीन आफैंपनि जहाज उत्पादनमा लागेको छ भने चीनमा रहेका अमेरिकी कम्पनीको कपी उत्पादनमा पनि सक्रिय देखिन्छ ।

चीनले निर्यातको मामिलामा मात्रै नोक्सान व्यहोर्नु पर्नेछ । अर्को वैकल्पिक बजार नभेटिउञ्जेलसम्म । यता, अमेरिकाले आयात तथा निर्यात दुवैमा ठूलो नोक्सानीको सामना गर्नेछ ।


क्लिकमान्डु