भारतदेखि पेट्रोलियम पदार्थ ल्याउन ११ किलोमिटर पाइप बिछ्याइयो



काठमाडौं । भारतदेखि नेपाल पेट्रोल ल्याउन ११ किलोमिटर पाइप बिछ्याइएको छ । जम्मा ३७ किलोमिटर पेट्रोलियममध्ये ११ किलोमिटर पाइप बिछ्याइसकेको आयल निगमका प्रवक्ता विरेनद्र गोईतले जानकारी दिए ।

प्रवक्ता गोइतका अनुसार पछिल्लो समय भारतले पेट्रोलियमको पाइप बिछ्याउने काम फुल फेजमा गरिरहेको छ ।

‘मल्टिप्रोडक्ट पाइपलाइन बिछ्इँदै छ, यही फेजमा काम चल्यो भने ३० महिनाभन्दा अघि काम सकिन्छ,’ उनले भने ।

सीमावर्ती भारतीय सहर रक्सोलदेखि नेपालको बारास्थित अमलेखगञ्जसम्मका लागि पाइपलाईन विस्तार गर्न लागिएको हो ।

भारतीय सहर रक्सौलदेखि बाराको अमलेखगञ्जसम्म ३६.२६ किलो मिटर लामो पेट्रोलियम पाइपलाईन बिछ्याउने कार्य पछिल्लो समय तीब्र गतिमा निगमले जानकारी दिएको छ ।

भारतीय पक्षले कार्यान्वयनमा तत्परता देखाउँदै १२ हजार किलोमिटरभन्दा बढी पाइपलाईन अपरेट गर्ने भारतीय आयलले काम गरिरहेको हुनाले पनि पाइपलाइन बिछ्याउने काम चाँडो सम्पन्न हुन सक्ने निगमका पूर्वप्रवक्ता विराटनगर इन्धन डिपोका प्रमुख भानुभक्त खनालले बताए ।

‘भारतीय आयलले १२ हजार पाइपलाईन अपरेट गरिराखेको छ, यो काम उसको लागि चट्नी हो,’ खनालले भने ।

भारतले सडकको २५ मटिरभित्र पर्ने गरी पाइपलाईन निर्माण गर्ने काम गरिरहेको छ ।

साढे ३ सय करोड भारतीय रुपैयाँमा बन्न लागेको यो पाइपलाइनमा भारतीय पक्षले २ सय करोड रुपैयाँ लगानी गरेको छ । यस्तै नेपालले ७५ करोड रुपैयाँ आफै खर्च गर्ने सहमति भएको छ ।

मोतिहारीदेखि रक्सौल बोर्डरसम्म ३३.७ किलोमिटर रहेको छ भने रक्सौल बोर्डरदेखि अमलेखगञ्जसम्म ३६.२ किलोमिटर दूरी रहेको छ ।
सम्झौता भएको झण्डै २ वर्षपछि जेठ २४/२५ गते दिल्लीमा भएको नेपाल र भारतका उच्चका उच्च अधिकारीहरुको बैठकमार्फत यो पाइपलाइन निर्माणका लागि औपचारिक प्रक्रिया सुरु भएको थियो ।

भारतीय पक्षले द्रुतगतिमा काम अघि बढाउने तत्परता देखाएको छ । पाइपलाइनमार्फत् पेट्रोलियम आयात गर्दा आपूर्ति सहज हुनाका साथै ढुवानी लागत र अरु नोक्सानी रोकिएर वार्षिक रुपमा ५५ देखि ६० करोड रुपैयाँ जोगिने निगमको अनुमान छ ।

अहिले नेपाललाई चाहिने इन्धनको ७० प्रतिशत रक्सोल नाकाबाट वीरगञ्ज हँुदै ट्यांकरमा भित्र्याइन्छ । यसमा ढुवानी लागत बढी पर्ने र चुहावटले गर्दा नोक्सानी हुने गरेको छ ।


पुष्प दुलाल